१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Sunday, 07 July, 2024
२o७९ पौष १७ आइतबार १o:३३:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालन हुँदै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार १o:३३:oo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भए पनि बाह्य उडान तय भएको छैन, हेलिकोप्टर र अल्ट्राफ्लाइट पुरानो विमानस्थलबाटै 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि सञ्चालनमा आउने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार विमानस्थल उद्घाटन गर्दै छन् । 

पोखरा महानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन समारोह बिहान ११ बजेबाट सुरु हुने बताए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थलमा ५ मंसिरदेखि १२ सम्म थाइल्यान्डबाट आएको एरोथाई कम्पनीको विमानले यान्त्रिक परीक्षण, २३ मंसिरमा दुर्घटना अभ्यास, ७ पुसमा यती एयरलाइन्स र बुद्ध एयरसँगै ८ पुसमा सौर्य एयरलाइन्सको जहाज अवतरण गरिसकेका छन् ।

विमानस्थल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले जानकारी दिए । नयाँ विमानस्थलबाट आन्तरिक उडानहरू हुने भए पनि बाह्य उडानको भने तय भएको छैन । विमानस्थलमा आन्तरिक उडान र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् । नेपालकै पहिलोपटक जहाजमा यात्रु चढाउन र झार्नका लागि एरोब्रिज बनाइएको छ । हाल विमानस्थल बिहानदेखि बेलुका पाँच बजेसम्म मात्र सञ्चालन हुने र आगामी २३ फेब्रुअरीपछि दैनिक १८ घन्टा सञ्चालन हुने उनले जानकारी दिए ।

नयाँ विमानस्थल सञ्चालनसँगै हालको पुरानो विमानस्थलबाट हँुदै आएका सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुनेछन् भने साना जहाज, हेलिकोप्टर र अल्ट्राफ्लाइटको उडान पुरानो विमानस्थलबाटै हुने गौतमले जानकारी दिए । नयाँ विमानस्थलको टावरले दूरी देखाउने र दिशा देखाउने उपकरण भने पुरानै विमानस्थलबाट प्रयोग गरिने उनले बताए । विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापनसँगै अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा, इन्धन, आवश्यक कागजपत्र तयारीलगायतका काम सबै सकिएको उनले जानकारी दिए । विमानस्थल सञ्चालनका लागि विशेष अर्थात् मुख्य काम सेफ्टी, सेक्युरिटी र सुविधाका कुराको व्यवस्थापन गरिसकेको गौतमको भनाइ छ । 

बुद्ध एयरले भारतका तीन सहरमा उडान गर्ने तयारी गरेको छ । बुद्धसँगै हिमालय एयरलाइन्सले समेत अन्तर्राष्ट्रिय उडानका लागि कुरा गरिरहेको गौतमले जानकारी दिए । यसैगरी जजिरा, थाई स्माइल, कतार एयरवेज र फ्लाई दुबईले उडानका लागि क्यानसँग कुरा गरेको उनले बताए । 

लागत २१ करोड ७० लाख अमेरिकी डलर 
पर्यटकीय सहर पोखरालाई विश्वका अन्य देशसँग सीधा हवाईमार्गले जोड्ने उद्देश्यसहित चीन सरकारको सहुलियत ऋण सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर (करिब २२ अर्ब) ऋण उपलब्ध गराएको थियो । सन् २०२१ को जुलाईमा निर्माण सक्ने गरी ८ जेठ ०७१ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको छ । जाहा  बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज आउजाउ गर्न सक्ने र ती विमानको क्षमता एक सय ४० देखि एक सय ८० को हुनेछ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ ।

डाँडा कटानको काम जारी
विमानस्थल सञ्चालनका लागि मुख्य समस्याका रूपमा रहेको रिट्ठेपानी डाँडा कटानको काम जारी छ । विमानस्थलको पूर्वपट्टि रहेको डाँडा कटानको काम धमाधम भइरहेको छ । डाँडा कटान ४० मिटर गरिनेछ । विमानस्थलमा व्यावसायिक उडानका लागि डाँडाको दुईतिरबाट कटान हुने र एकातिरबाट ४० मिटर र अर्कोतिरबाट १२.५ मिटर कटान गरिने भएको हो । 

आम्दानी २५ करोड, ३३ करोड ब्याज मात्र
हाल पोखराबाट आन्तरिक उडानहरू मात्र हुँदै आएकामा नयाँ विमानस्थल सञ्चालनसँगै अन्तर्राष्ट्रिय उडानसमेत हुुनेछन् । आन्तरिक उडान मात्र गर्दै आएको हालको विमानस्थलले वार्षिक २५ करोड आम्दानी गर्दै आएको छ । आन्तरिक उडान मात्र भए नयाँ विमानस्थलले समेत सोही हाराहारीमा आम्दानी गर्ने गौतमको भनाइ छ । 

विमानस्थल सञ्चालनमा आएसँगै नयाँ विमान कम्पनीहरूले समेत उडान सुरु गर्ने, नयाँ सुविधा थप्दै जाने, अन्तर्राष्ट्रिय उडानसमेत सुरु भएपछि आम्दानी बढेर ५० करोडको हाराहारीमा हुने र पछि वार्षिक आम्दानी एक अर्ब पु¥याउने गरी क्यानले काम गर्ने गौतमको भनाइ छ ।

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब २२ अर्ब ऋण उपलब्ध गराएको थियो । सो ऋणमध्ये ७५ प्रतिशत रकमको ब्याज तिनुपर्नेछ भने २५ प्रतिशतको ब्याज तिर्नुनपर्ने निर्देशक गौतमले जानकारी दिए । तिर्नुपर्ने ७५ प्रतिशत अर्थात् १६ अर्ब ५० करोडको वार्षिक २ प्रतिशत ब्याज तिर्नुपर्ने गौतमले जानकारी दिए ।                                                                                                                                        

४७ वर्षपछि पोखरेलीको सपना पूरा   
विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडामा ०३२ सालमा ३१ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहणको ४१ वर्षपछि १ वैशाख ०७३ मा विमानस्थल शिलान्यास गरिएको थियो । शिलान्यासपछि थप करिब आठ सय रोपनी जग्गासमेत अधिग्रहण गरिएको थियो । निर्माणको काम भने शिलान्यास गरेको १५ महिना १८ दिनपछि अर्थात् १८ साउन ०७४ बाट सुरु गरिएको थियो । विमानस्थल निर्माणको काम १० जुलाई २०२१ मा सक्ने भनिए पनि कोरोनाका कारण निर्माण समय एक वर्ष थप गरिएको थियो । 

नयाँ ल्यान्डफिल्ड साइट कुँडिटारमा बन्ने   
विमानस्थल सञ्चालनका लागि अर्को समस्याका रूपमा रहेको ल्यान्डफिल्ड साइट हो । पोखरा नगर क्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा ०६१ सालमा पोखरा १८ वाच्छेबुढुवामा ल्यान्डफिल्ड साइट निर्माण गरिएको थियो । सो ल्यान्डफिल्ड साइट विमानस्थलबाट करिब दुई मिटरको दूरीमा रहेको छ । पोखरा महानगरपालिकाले सो ल्यान्डफिल्डमा फोहोर फाल्न बन्द गरी पुर्ने काम गरिरहेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले  हालको ल्यान्डफिल्ड साइटमा फोहोर फाल्न बन्द गरिएसँगै नयाँ ल्यान्डफिल्ड पोखरा ३३ कुँडिटारस्थित झाकी खेलामा बनाउने निर्णय गरेको जानकारी दिए । एक अर्बभन्दा बढीको लागतमा करिब ७० रोपनी जग्गामा ल्यान्डफिल्ड साइट बनाउने उनले जनकारी दिए । नयाँ साइटमा हालको जस्तो गरी फोहोर डम्पिङ नगरिने आचार्यले बताए । अब व्यवस्थित हिसाबले प्रशोधन केन्द्रसहित राखिने भनाइ उनको थियो, हाल विभिन्न कम्पनीसँग यसका लागि छलफल भइसकेको उनले जानकारी दिए । हाललाई अस्थायी रूपमा पोखरा ३२ लामेआहालस्थित नदीले कटान गरेको क्षेत्र उकास्ने गरी फोहोरमैला व्यवस्थापन गरिने आचार्यले जानकारी दिए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले लामो प्रतीक्षापछि विमानस्थल सञ्चालनमा आएसँगै यसले पोखरा र यस क्षेत्रको समृद्धिको ढोका खोल्ने बताए । 

ad
ad
ad
ad