मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका मकवानपुर
२०७९ पौष १७ आइतबार ०६:५७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माओवादी  बागमती प्रदेश दलको नेतामा जम्कट्टेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०७९ पौष १७ आइतबार ०६:५७:००

जबर्जस्ती निर्णय लाद्न खोजेको भन्दै पौडेलको असहमति

माओवादी केन्द्रको बागमती प्रदेश संसदीय दलको नेता चयनमा विवाद देखिएको छ । काठमाडौंमा शनिबार बसेको बागमती प्रदेश दलको बैठकले शालिकराम जम्कट्टेललाई दलको नेतामा चयन गरेको छ । तर, दलको बैठकमा सहमतिको प्रयास भइरहेका वेला जबर्जस्ती ढंगबाट जम्कट्टेलको नाम प्रस्ताव गरिएको भन्दै दलको नेताका आकांक्षी एवं बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले बैठक नै बहिष्कार गरेका छन् । 

बागमती प्रदेश सांसद कुमारी मोक्तानले माओवादीको बागमती प्रदेशको दलको नेतामा जम्मकट्टेल सर्वसम्मत चयन भएको दाबी गरिन् । उनले बैठकबाट सर्वसम्मत रूपमै जम्कट्टेल दलको नेतामा चयन भएको बताइन् । ‘बैठकबाटै दलको नेतामा जम्कट्टेलको नाममा सहमति भएको हो । सर्वसम्मत नै भएको हो । कुनै पनि विवाद छैन,’ मोक्तानले भनिन् ।

बैठकमा दलको नेताको रूपमा जम्कट्टेलको नाम प्रस्ताव भएपछि प्रदेश दलको नेताका आकांक्षी पौडेल असहमति जनाउँदै बाहिरिएका थिए । उनले दलको नेता चयन सर्वसम्मतिबाट हुन नसके चुनाव गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, दलको नेता सर्वसम्मतिबाटै टुंगो लगाउने जिम्मेवारी पाएका बागमती इन्चार्ज हितमान शाक्य र नारायण दाहालले जम्कट्टेलको नाममा सहमति गर्न दबाब दिएपछि विवाद भएको एक नेताले बताए ।

माओवादी बागमतीका अध्यक्ष पौडेलले दलको नेता चयनको विषयलाई लिएर सामाजिक सञ्जालमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर पनि गेम त जितिन्छ, तर मन जितिँदैन । जबसम्म मन जितिँदैन केही पनि जितिँदैन । म हरेकपटक छिर्के लगाएर लडाइए पनि धुलो टकटक्याउँदै कुदिरहेको धावक हुँ ।’