जनता समाजवादी पार्टी नेपालले सरकारमा जाने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ। शनिबार बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।
यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ। सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरू तय गर्ने निर्णय भएको पार्टीका प्रवक्ता मनीष सुमनले जानकारी दिए।
बैठकले निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको तीन सदस्यीय समितिसमेत बनाएको छ। तर, त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता सुमनले बताए।
बैठकमा निर्वाचनको समीक्षा, सरकारमा सहभागी हुने मन्त्रीहरू र अन्य पार्टीहरूसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेन्डा तय गरिएको जसपाले जनाएको छ।