१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

विद्युत् चुहावट हुँदा क्यासिनोमा आगलागी, एक नेपालीसहित २६ काे मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:३६:oo

कम्बोडियाको क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन्। क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ। 

थाइल्यान्डको सीमानजिकै रहेको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटेल क्यासिनोमा स्थानीय समयअनुसार बुधबार राति ११ः३० बजे आगलागी भएको थियो। 

यो अग्लो भवन रहेको क्यासिनो–होटेल परिसरमा फैलिएको आगलागीमा समयमै उद्धार गर्न नसक्दा मानिसहरू आगोबाट बच्नका लागि किनारा र झ्यालबाट हामफाल्न बाध्य भएको उद्धारकर्मीहरूले बताएका छन्। 

राष्ट्रिय विपद् व्यवस्थापन समितिका उपाध्यक्ष कुन किमले आगलागीको कारण ‘विद्युत् चुहावट’ भएर दुर्घटना भएको बताए।  

आगलागीमा परी १७ जना थाइल्यान्डवासी, एकजना मलेसियाली र एकजना नेपाली गरी २६ जनाको मृत्यु भएको किमले पुष्टि गरे। उनले भने, ‘केही मानिस जलेर, केही अक्सिजनको अभावमा र केही बाहिर निस्कने बाटोमै धुँवाले निस्सासिएर मृत्यु भएको थियो।’

होटेल–क्यासिनोको जटिल लेआउट र उद्धार उपकरणको अभावका कारण अधिकारीहरूले आगो निभाउन निकै लामो समय लागेको उनले बताए। 

आफ्नो उपनाम मात्र दिएका ४२ वर्षीय थाई क्यासिनो कामदार नेउङले दुई महिलालाई भाग्न सहयोग गरेपछि होटेलको कोठामा आफ्नो बुबाको मृत्यु भएको बताए। उनले एएफपीसँगको कुराकानीमा भनेका छन्, ‘अब म उहाँको शवको प्रतीक्षामा मात्र छु।’ 

घाइतेमध्ये धेरैको थाई अस्पताल र चिकित्सकहरूले उपचार गरेका थिए। थाई नागरिकहरूले कम्बोडियाली आपतकालीन टोलीहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गरेका थिए।

थाइल्यान्डका अधिकारीहरूले शुक्रबार ५० जनाभन्दा बढीलाई अस्पताल भर्ना गरिएको र १३ जनाको अवस्था गम्भीर रहेको बताएका छन्। कम्बोडियाली अधिकारीहरूले होटेल मालिकहरूविरुद्ध मुद्दा लगाउने विषयमा छलफल भइरहेको बताए।  

ad
ad