१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १६ शनिबार
  • Saturday, 28 September, 2024
२o७९ पौष १६ शनिबार १५:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश संरचनाविरोधी दलबाटै मुख्यमन्त्रीमा दाबी !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १६ शनिबार १५:१३:oo

प्रदेश संरचना खारेजीको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गरको छ। 

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकार निर्माणमा निर्णायक भूमिकामा देखिएको राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएको छ। प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएपछि राप्रपाले मुख्यमन्त्री दाबी गरेको हो।

गत ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रदेश संरचना खारेजीको मुद्दाालाई आफ्नो चुनावी एजेण्डा नै बनाएको थियो। तर अहिले राजनैतिक परिस्थिति बदलिएको भन्दै राप्रपाले बागमतीमा मुख्यमन्त्री दाबी गरेको राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बताए। 

‘संघियता खारेजीको मागमा राप्रपा विचलित भएको छैन। हामी यसमा अडिग छौँ। तर परिवर्तित राजनितिक परिस्थितिलाई सदुपयोग गर्नका लागि भने बागमती प्रदेशमा हाम्रो मुख्यमन्त्रीमा दाबी हुन्छ। हामी प्रदेश सरकारमा जाँदैगर्दा पनि प्रदेश संरचना खारेजीको कुरालाई नै मुख्य एजेण्डा बनाएर जान्छौँ,’ उनले भने।

दलका नेता थापाले पाँच वर्षभित्र संघियता खारेज गर्नु नै आफूहरुको मुख्य काम हुने पनि बताए। उनले बागमतीमा राप्रपाविना नयाँ गठबन्धनको बहुमतको सरकार बन्नै नसक्ने भएकाले पनि आफुहरु सरकारमा जानुपर्ने अवस्था आएको दाबी गरे। 

‘बागमतीमा कुनैपनि एक वा दुई दल मात्रै मिलेर सरकार बन्ने अवस्था छैन। यहाँ केन्द्रमा बनेको सत्ता समिकरणका कारण पनि राप्रपाविना बहुमतको सरकार बन्न सक्दैन। त्यसो हुँदा सरकारमा जानैपर्ने भएपछि स्वभाविक रुपमा हामीले मुख्यमन्त्रीको दाबी गरेका हौँ।’ संसदीय दलका नेता थापाले भने। 

राप्रपाले केन्द्रीय सरकारमा जाने निर्णय गरेसँगै सातमध्ये एक प्रदेशमा मुख्यमन्त्रीमा दाबी स्वभाविक रहेको हो। बागमती प्रदेश सबैभन्दा सही हुने नेता थापाको भनाइ छ। ‘सात प्रदेशमध्ये एउटा प्रदेशमा हामीले नेतृत्व गर्छौँ, यसमा कुनै शंका छैन। कुन प्रदेश लिने भन्ने विषयमा पार्टीमा पनि छलफल भइरहेको छ। यद्यपी बागमती प्रदेशमा हाम्रो पार्टीको सांसद संख्या बढी भएकोले हाम्रो दाबी बागमती प्रदेशमै हुन्छ,’ थापाले भने।

११० सदस्यीय बागमती प्रदेशमा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१ र राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्। 

बागमती प्रदेशमा कांग्रेस र माओवादी दुईवटा दलले मात्रै एकआपसमा मिलेर बहुमतको सरकार बनाउँन सक्छन्। तर केन्द्रीय समिकरणका कारण यहाँ त्यो संभावना छैन। यसैगरी कांग्रेसले राप्रपा र एकीकृत समाजवादीसँग तालमेल गरेर पनि यहाँ सरकार बनाउँन सक्छ तर यसमा पनी केन्द्रीय सत्ता समीकरण नै अड्चनको रुपमा देखिन्छ।

बागमती प्रदेशमा कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन आवश्यक छ। कांग्रेसलाई राप्रपाका १३, एकीकृत समाजवादीका ७ जना सांसदले साथ दिए केन्द्रीय समीकरणविपरी सरकार बन्न सक्छ। तर यो संभावना भने न्यून छ।

प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन्। जसको कारण केन्द्रीय सत्ता समीरणकै जस्तो यहाँ पनि बहुमतको सरकार बन्छ। यस्तो अवस्थामा यहाँ राप्रपाविना कुनैपनि दलले बहुमतको सरकार बनाउन सक्ने अवस्था छैन।

हालको अवस्थामा यस प्रदेशको सत्ताको साँचो स्पष्ट रुपमा राप्रपाको हातमा छ। जसलाई राप्रपाले बागमती प्रदेशमा मुख्यमन्त्रीसहितको सत्ता आरोहणको सिँढीको रुपमा प्रयोग गर्न सक्छ।