प्रतियोगितामा पोखराले पहिलो जित निकाल्दा लुम्बिनीले लगातार पाँचाैँ खेलसम्म अपराजित यात्रा राखेको छ
लगातार पाँच खेलमा पराजित पोखरा एभेन्जर्स नेपाल टी–२० लिगको छैटौँ खेलमा पहिलो जित निकाल्न सफल भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पोखराले फार वेस्ट युनाइटेडलाई तीन विकेटले पराजित गर्यो । लिगमा ६ खेलबाट पोखराले पहिलो दुई अंक जोडेको छ । चौथो हार व्यहोरेको फार वेस्ट युनाइटेड दुई अंक जोड्दै पुछारमा छ । फार वेस्टले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेट गुमाएर एक सय ८७ रनको बलियो योगफल बनायो । प्रत्युत्तरमा पोखराले १९.१ ओभरमा सात विकेटको क्षतिमा एक सय ८८ रन जोड्यो ।
दुई बलियो साझेदारी
पोखरको जितमा आसिफ सेखले सर्वाधिक ४५ रन बनाए । ३३ बलमा समान गरेका आसिफले दुई चौका र दुई छक्का हिर्काएका थिए । प्लेयर अफ दी म्याचमा कुशल मल्लले २२ बलमा आक्रामक ब्याटिङ गर्दै पाँच छक्काको सहयोगमा ४० रनको योगदान गरे । ओपनर सुमित महर्जनले ३८ रन र सिद्धान्त लोहनीले २३ रन जोडेका थिए । पहिलो विकेटका लागि आसिफ र सुमितले ६५ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि आसिफ र कुशलले ५२ रनको साझेदारी गरे । दुई बलियो साझेदारी भएपछि पोखरा पहिलो जित निकाल्न सफल भएको थियो । फार वेस्टका प्रकाश जैसी, करण केसी र उमर अलीले समान दुई विकेट लिए ।
उमरको आक्रामक ब्याटिङ
फार वेस्टका उमर अलीले सर्वाधिक ४२ रन बनाए । २६ बलको सामना गरेका युएईका अलीले पाँच छक्का प्रहार गरे । राष्ट्रिय टोलीका देव खनालले ३१ बलमा ३३ रन जोडे । आक्रामक ब्याटिङ गरेका रासिद खानले १५ बलमा दुई चौका र दुई छक्का मद्दतमा ३२ बनाएका थिए ।
लुम्बिनी अपराजित
लुम्बिनी अल स्टार्सले प्रतियोगितामा आफ्नो विजयी यात्रालाई पाँचौँ खेलसम्म कायम राखेको छ । शुक्रबार भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको हो । लुम्बिनीले प्रस्तुत गरेको एक सय ५१ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १५ रनमा समेटिएको थियो । काठमाडौंका अज्मतुल्लाह ओमार्जाइले सर्वाधिक ३८ रन बनाए । अफगानिस्तानी २२ वर्षीय खेलाडीले २९ बलमा तीन छक्का हिर्काएका थिए ।
चम्किए हर्मित
लुम्बिनीका भारतीय खेलाडी हर्मित सिंहले सर्वाधिक तीन विकेट लिए । भारतको यू–१९ तथा लिस्ट ‘ए’ खेलाडी हर्मितले चार ओभर बलिङ गर्दै एक मेडनसहित सात रन खर्चिएका थिए । ३० वर्षीय खेलाडी चम्किएपछि काठमाडौं ६.२ ओभरमा २२–५ को स्थितिमा थियो । हर्मित नै खेलको प्लेयर अफ दी म्याच भए । २.५ ओभरमा काठमाडौं ४–५ को नाजुक अवस्थामा थियो ।