थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राति १० बजेतिर भीषण आगलागी भयो । त्यही होटेलको १२औँ तलामा थिए– झापा बिर्तामोड नगरपालिका– १ का ४० वर्षीय निराकार पाण्डे । दुई महिनाअघि ७ नोभेम्बरमा थाइल्यान्ड गएका उनी त्यहाँबाट घुम्नका लागि कम्बोडिया पुगेका थिए । र, ग्रान्ड डायमन्ड सिटी होटेलमा बसेका थिए ।
आगलागी सुरु भएसँगै होटेलमा विद्युत् आपूर्ति बन्द भयो । केहीबेरपछि दमकल र एम्बुलेन्सका साइरन बज्न थाले । झ्यालबाट हेरे, आगो दन्किरहेको थियो । निभाउन प्रयास भइरहेको थियो । त्यसैले सुरुमा निराकार त्यति आत्तिएनन् । उद्धारकर्मीको प्रतीक्षामा बसे । ११ बजेसम्म पनि उद्धारको अत्तोपत्तो नभएपछि उनले ११ बजेतिर दाजु नीरजलाई फोन गरेर आगलागीको खबर सुनाए ।
काठमाडौंमा रहेका नीरज तत्कालै श्रीमती र आमालाई लिएर भाइबुहारी बस्दै आएको सुकेधारा पुगे । त्यहाँ उनका नाबालक छोरा शुभार्जन र श्रीमती शशिकला लोहनी बस्छन् । नीरजले भाइलाई भिडियो कलमार्फत सान्त्वना दिए । समय बित्दै गयो । आगो झन्झन् फैलिँदै गएपछि निराकार आत्तिए । पटक–पटक ढोका खोल्ने प्रयास गरे । तर, आगो लागेसँगै विद्युत् आपूर्ति अवरोध भएकाले बन्द भएको ढोका खोल्न सकेनन् ।
उद्धारकर्मीको प्रतीक्षा गर्नु वा झ्यालबाट हामफाल्नुबाहेक उनीसँग अर्को विकल्प थिएन । परिवारका सदस्यसँग लगातार भिडियो कुराकानी भइरहेको थियो । उनले परिवारका सदस्यलाई झ्यालबाट हामफाल्नुबाहेक विकल्प नरहेको आफ्नो बाध्यता सुनाए । तर, परिवारका सदस्यले त्यति माथिबाट हाम फाल्ने जोखिम उठाउनुभन्दा उद्धारकै प्रतीक्षामा बस्न ढाडस दिइरहे । पर्यटकीय क्षेत्र भएकाले स्वयं उनी र परिवारका सदस्यलाई उद्धारको आशा थियो ।
समय बित्दै गयो, न आगो नियन्त्रणमा आयो, न उद्धार टोली नै । झन्झन् फैलिएको आगोको लप्का १२औँ तलामा पनि फैलियो । कोठा धुवाँले भरिन थाल्यो । सास फेर्न मुस्किल हुन थालेपछि निराकारको आत्मविश्वास टुट्दै गयो । कोठामै बसिरहे जलेर खरानी हुने, झ्यालबाट हामफाले परिवारका सदस्यले कम्तीमा लास देख्न पाउने । उनले दोस्रो विकल्प रोजे । बिहान ४ बजेर २६ मिनेटमा परिवारका सदस्यसँग अन्तिमपटक कुरा गरे । र, झ्यालबाट हामफाले । जीवनको अन्तिमसम्म लडेका निराकार आफ्नो नामजस्तै आकाशमा विलीन भए ।
आगलागी सुरु भएदेखि अन्तिम निर्णय लिनुअघिसम्म उनले पटक–पटक परिवारका सदस्य र नजिकका साथीसँग आफ्नो अवस्थाबारे कुराकानी गरेका थिए । आफ्ना नाबालक छोरालाई मार्मिक ढंंगबाट जीवनको अन्तिम सन्देश सुनाउन भ्याए । शुक्रबार दिनभरि सामाजिक सञ्जालमा उनको त्यो भिडियो सन्देश चल्यो । कैयौँका आँखामा आँसु छचल्किए ।
भाइमाथि आइपरेको विपत्ति सुनेदेखि बुधबारको रातभर व्याकुलताले छटपटिएका दाजु नीरजले नयाँ पत्रिकासँग भने, ‘११ बजेतिर पहिलोपटक भाइले आफू बसेको होटेलमा आगो लागेको सुनायो । त्यसपछि लगातार सम्पर्क भइरह्यो । बिहान ४ बजेर २६ मिनेटसम्म कुरा भयो । हामीले उसलाई ढोकाबाट धुवाँ पस्न सक्छ भनेर ढोकामा कपडा खाँद्न लगायौँ । पर्यटकीय क्षेत्र भएकाले उद्धार हुने ढाडस दिइरह्यौँ । तर, अन्तिममा हामी सबै हार्यौँ ।’
उनका अनुसार निराकर दुई महिनाअघि ७ नोभेम्बरमा थाइल्यान्ड गएका थिए । त्यहाँबाट घुम्नका लागि कम्बोडिया पुगेका थिए । नीरजले भने, ‘कम्बोडियाको होटेलमा भएको आगलागीमा फसेको थाहा भएपछि राति ११ बजे म, मेरी श्रीमती र आमा उसको परिवार बसिरहेको ठाउँमा पुग्यौँ । त्यसपछि लगातार भिडियो कुराकानी भइरह्यो । हामीले उद्धार हुने आश्वासन दिँदै सुरक्षित बस्न सम्झाइरह्यौँ । तर, समय बित्दै जाँदा उसको आत्मबल टुट्दै गएको थियो । अन्तिममा जे नहोस् भनेर भगवान् पुकारा गरिरहेका थियौँ, त्यही हुन पुग्यो ।’
शुक्रबार सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भयो, जसले सारा नेपालीको ध्यान तान्यो । जीवन–मरणको संघर्षमा रहेका बाबुले आफ्ना नाबालक छोरालाई भिडियोमार्फत अन्तिम सन्देश दिँदै थिए ।
मृत्यु निकट आइसकेको आभाससहित उनी आफ्ना छोरालाई जीवनको उद्देश्य सम्झाउँदै थिए । ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु । बाबा अलवेज लभ्स यु । सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा । कसैलाई चिट गर्नुहुँदैन, फ्रड गर्नुहुँदैन ।’ दुई मिनेट लामो यो सन्देश तिनै निराकारको थियो । बाँच्ने सम्भावनाका सबै बाटा बन्द भएको महसुस भएपछि निराकारले छोरालाई सम्बोधन गर्दै त्यो भिडियो बनाएका थिए ।
त्यसअघि उनले काठमाडौं र झापामा रहेका आफन्तहरू श्रीमती, छोरा, आमा, बाबु, दाइ, भाइ, बुहारी तथा नजिकका केही साथीसँग भिडियोमै कुराकानी गरेका थिए । ‘बुधबार राति ११ बजेर १५ मिनेटमा बुबासँग कुरा गर्नुभयो । बुबाले नआत्तिन भन्दै उद्धार हुने आश्वासन दिनुभयो । मैले पनि १ बजेतिर कुरा गरेको थिएँ,’ झापामा रहेकी साइँली भाइबुहारी संगीता पाण्डेले आफूसँग भएको कुराकानी सम्झँदै नयाँ पत्रिकासँग भनिन्, ‘१२औँ तलामा छु । आगो लागिरहेको छ । ढोका खुलेको छैन । हामफालेर पनि बाँच्न सकिँदैन होला । परिवारको ख्याल गर्नु है भन्नुभयो । धुवाँले सास फेर्न पनि गाह्रो भएजस्तो आवाज आइरहेको थियो । एम्बुलेन्सको आवाज पनि आइरहेको थियो ।’
संगीताका अनुसार उनले सो होटेलमा आफूसँगै अरू चारजना साथी रहेको बताएका थिए । उनीहरूको अवस्था भने खुल्न सकेको छैन । ‘अमेरिकामा रहेका कान्छा भाइबुहारीसँग पनि धेरै कुराकानी भएको रहेछ । कान्छी बुहारी नर्स भएकाले उनले बचाउका लागि अपनाउन सकिने उपाय सम्झाएकी रहिछन्,’ संगीताले भनिन्, ‘दाइले हाम फाल्छु भन्दा भाइबुहारीले अहिले हाम नफाल्नु अन्तिम अवस्थामा मात्र हाम फाल्नु भनेका रहेछन् ।’
भिडियो सन्देशमा निराकारले नाम लिएकामध्ये साथी दिनेश सिलवाल पनि छन् । सिलवालले नयाँ पत्रिकालाई दिएको जानकारीअनुसार उनी एक महिनाअघि थाइल्यान्ड गएका थिए । दिनेश र निराकार सँगै पढेका साथी हुन् । ‘आयात–निर्यात व्यापारको अध्ययनका क्रममा थाइल्यान्ड गएको थियो । निर्माण व्यवसाय गर्ने कि भन्ने योजना पनि थियो । त्यहाँबाट केही सामग्री ल्याउन सकिन्छ कि भनेर बुझ्न गएको थियो । थाइल्यान्ड गएको केही दिनमै कम्बोडिया पुगेको थियो,’ दिनेशले भने, ‘अंग्रेजी नयाँ वर्ष नेपालमै परिवारसँग मनाउनुपर्छ आइज भनेको थिएँ । केही दिनभित्र आउँछु भनेको थियो । तर, यस्तो अकल्पनीय दुर्घटना हुन पुग्यो ।’
घटनाको दिन निराकारले दिनेशसँग पनि सम्पर्क गरेका थिए । ‘मलाई पनि भिडियो कल गरेको रहेछ । म सुतिसकेकाले नउठेपछि भ्वाइस म्यासेज छाडेको रहेछ,’ उनले भने, ‘कति म्यासेज व्यक्तिगत छन् । बाँच्दिनँ होला । छोरो र श्रीमतीलाई सहयोग गर्नू भनेर म्यासेज गरेको रहेछ । पहिला कोरोनाको समयमा पनि मुम्बईमा कोरोना लागेर अस्पताल जान नपाउँदा यस्तै म्यासेज गरेको थियो ।’
उनको परिवारमा नौ वर्षीय छोरा र श्रीमती छन् । उनको परिवार काठमाडौंमै बस्दै आएको थियो । साइँला भाइ निश्चलका अनुसार केही महिनायता उनी ठेक्कापट्टाको काम गर्दै थिए । कोरोनाअघि भारतमा रहेका उनी कोरोनासँगै नेपाल फर्किएको भाइ निश्चल बताउँछन् । परिवारका अनुसार निराकारको शव पहिचान भइसकेको छ । बैंककबाट नेपाली दूतावासका कर्मचारी पुगेर शव बुझिसकेको भाइ निश्चलले बताए । उनका अनुसार शव मंगलबार नेपाल ल्याउने तयारी छ । घटनापछि उनका बुबा तथा वडाध्यक्ष अग्नि पाण्डे पनि काठमाडौं पुगेका छन् । आमा करिब २० दिनदेखि काठमाडौंमै थिइन् ।