१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १५:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

दुई दशकमा करिब १७ सय पत्रकारको हत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:o६:oo

विगत २० वर्षमा विश्वभर करिब एक हजार ७०० पत्रकार मारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ (आरएसएफ)ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ।

सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेष गरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीहरूले बताएका छन्। आरएसएफका महासचिव क्रिस्टोफ डेलोयरले भने, ‘तथ्याङ्कका पछाडि सूचना सङ्कलन, सत्यको खोजी र पत्रकारिताप्रति आफ्नो जीवनको मूल्य चुकाएका ती व्यक्तिहरूको अनुहार रहेको छ।’

आरएसएफका अनुसार इराक र सिरिया पत्रकारका रुपमा काम गर्न सबैभन्दा खतरनाक देश भएको र पछिल्लो २० वर्षमा कुल ५७८ पत्रकार मारिएका छन्। यो विश्वभर विगत दुई दशकमा मारिएका कूल पत्रकारको एक तिहाइभन्दा बढी हो। त्यसपछि मेक्सिकोमा १२५, फिलिपिन्समा १०७, पाकिस्तानमा ९३, अफगानिस्तानमा ८१ र सोमालियामा ७८ पत्रकारको मृत्यु भएको छ।

सिरियामा भएको युद्धका कारण यो दुई दशकभित्र पनि सन् २०१२ र २०१३ मा सबैभन्दा धेरै पत्रकार मारिएका थिए। त्यसैले यो वर्षलाई पत्रकारिता क्षेत्रमा ‘सबैभन्दा अँध्यारो वर्ष’का रूपमा हेर्ने गरिएको छ। सन् २०१२ मा १४४ र त्यसको एक वर्षपछि १४२ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ।

सन् २०१९ पछि पत्रकारको हत्यामा उच्च कमी देखिएको थियो। तर, सन् २०२२ मा युक्रेनमा भएको युद्धका कारण मृत्यु हुनेको सङ्ख्या फेरि बढेको छ। सन् २०२१ मा ५१ पत्रकारको हत्या भएकोमा यस वर्ष अहिलेसम्म ५८ पत्रकारको हत्या भएको छ। गत फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेयता आठ पत्रकारको हत्या भइसकेको छ। अघिल्लो १९ वर्षमा भएको कूल १२ पत्रकारको  हत्यासँग तुलना गर्दा यो अत्यधिक सङ्ख्या र जोखिमयुक्त वर्ष हो।

विगत २० वर्षमा २५ पत्रकारको हत्या भइसकेको रुसपछि युक्रेन अहिले सञ्चारमाध्यमका लागि युरोपको सबैभन्दा जोखिमयुक्त मुलुक हो। राष्ट्रपति भ्लादिमिर पुटिनले सत्ता सम्हालेदेखि रूसमा प्रेस स्वतन्त्रतामाथि ‘व्यवस्थित र घातक’ आक्रमणहरू भएका आरएसएफको हरेक वर्षको रिपोर्टमा उल्लेख हुँदै आएको छ।

‘यसमा अन्ना पोलिट्कोभस्कायाको ७ अक्टोबर २००६ मा भएको हत्या पनि समावेश रहेको छ,’  उक्त अधिकारवादी समूहले भनेको छ। सन् २०१५ मा पेरिसबाट प्रकाशित हुने व्यङ्ग्यात्मक साप्ताहिक पत्रिका चार्ली हेब्दोमा भएको नरसंहारका कारण फ्रान्स दोस्रो सबैभन्दा खतरनाक स्थानमा परेको थियो। 

पत्रकारहरूले सशस्त्र द्वन्द्व भएका क्षेत्रहरूमा विश्वव्यापी रूपमा सबैभन्दा बढी जोखिम उठाएका छन्। आरएसएफको रिपोर्टमा भनिएको छ, ‘आधिकारिक रूपमा कुनै युद्ध नभएका देशहरू पत्रकारहरूका लागि सुरक्षित छैनन् र तीमध्ये केही हत्या भएका देशहरूको सूचीको शीर्षस्थानमा छन्।’ 

वास्तवमा, विगत दुई दशकमा ‘युद्धग्रस्त क्षेत्र’ भन्दा शान्ति क्षेत्र भनिएका स्थानमा धेरै पत्रकारहरू मारिएका बताइएको छ। अधिकांश घटनाहरूमा उनीहरू सङ्गठित अपराध र भ्रष्टाचारको अनुसन्धान गरिरहेका समयमा मारिएका देखिन्छ।

दक्षिण अमेरिकी राज्यहरूमा मेक्सिको, ब्राजिल, कोलम्बिया र होन्डुरसमा भएका पत्रकारको हत्यामध्ये आधाजसो अमेरिकामा भएको छ। आरएसएफले भनेको छ, ‘अमेरिका सञ्चारमाध्यमका लागि विश्वको सबैभन्दा जोखिमयुक्त महादेश बनेको छ।’ रासस

ad
ad