किसान र उपभोक्ता दुवैलाई मार, बिचौलिया मालामाल
चितवनका किसानको बारीबाट कालिमाटी पुग्दा तीन गुणा बढ्ने तरकारीको मूल्य उपभोक्ताले किन्ने खुद्रा पसलमा कालिमाटीको भन्दा तीन गुणा नै बढी
भरतपुर महानगरपालिका– २५ मा तीन बिघा जग्गामा काउली र बन्दा खेती गरेकी उर्मिला रानाभाट । परिवारको आर्थिक स्रोत तरकारी खेती भए पनि उचित मूल्य नपाउँदा मारमा परेको उनको गुनासो छ । ‘हिजो (मंगलबार)सम्म काउली १२ रुपैयाँ र बन्दा आठ रुपैयाँ केजीमा बिक्री भएकोमा अझै घटेर आज (बुधबार) क्रमशः १० र ५ रुपैयाँमा पुगेको छ । तीन महिनामा लाग्ने उत्पादन लागत मात्रै उठाउन पनि प्रतिकेजी २० रुपैयाँमा बेच्नुपर्छ, तर १० रुपैयाँ पनि नआउने भएपछि दुःखले खेती गर्नुको के अर्थ ?’ उनले भनिन्, ‘दुई दिनअघि घाटा खाएर बेच्यौँ, मूल्य झन् घटिरहेको छ । तीन बिघाको बन्दा–काउलीका लागि बिउ उत्पादनदेखि बिक्री गर्न योग्य बनाउँदासम्म ६ लाख खर्च भएको छ, तर अहिलेको मूल्यमा बेच्दा दुई लाख पनि हात नपर्ने भयो ।’ तस्बिर : सञ्जय ओझा
काठमाडौंका उपभोक्ताले बुधबार खुद्रा तरकारी पसलमा सेतो काउली केजीको ९० रुपैयाँसम्ममा खरिद गरे । चितवनबाट कालिमाटी भित्रिएर उपत्यकाका खुद्रा पसलहरूमा पुग्ने त्यही काउली मंगलबार चितवनका किसानले भने प्रतिकेजी मात्र १२ रुपैयाँमा बिक्री गरेका थिए । बुधबार कालिमाटी तरकारी बजारमा लोकल सेतो काउलीको थोक मूल्य प्रतिकेजी ३५ रुपैयाँ कायम थियो । त्यस्तै, चितवनका किसानले मंगलबार प्रतिकेजी आठ रुपैयाँमा बेचेको बन्दा बुधबार कालिमाटीमा २५ रुपैयाँमा कारोबार हुँदै खुद्रा पसलमा पुग्दा उपभोक्तालाई ५० रुपैयाँ पर्यो । यसरी एकातिर किसानले उत्पादन लागतसमेत उठ्ने मूल्य पाएका छैनन्, अर्कातिर महँगीले उपभोक्ताको ढाड सेकिएको छ ।
चार बिघामा तरकारी खेती गर्दै आएका भरतपुर महानगरपालिका– २५ शुक्रनगरका जयराम रानाभाट र उर्मिला रानाभाटको तीन बिघामा काउली र बन्दा मात्रै छ । बिक्री गर्ने अवस्थामा रहेका काउली र बन्दाको चलनचल्ती मूल्यले उनीहरू तनावमा छन् । ‘हिजोसम्म काउली १२ रुपैयाँ र बन्दा आठ रुपैयाँ केजीमा बिक्री भएकोमा अझै घटेर आज क्रमशः १० र ५ रुपैयाँमा पुगेको छ । तीन महिनामा लाग्ने उत्पादन लागत मात्रै उठाउन पनि प्रतिकेजी २० रुपैयाँमा बेच्नुपर्छ, तर १० रुपैयाँ पनि नआउने भएपछि दुःखले खेती गर्नुको के अर्थ ?’ उर्मिलाले भनिन् ।
घाटा खाएर दुई दिनअघि प्रतिकेजी काउली १२ रुपैयाँ र बन्दा आठ रुपैयाँका दरले १० कट्ठाको बेचेको उनले बताइन् । ‘दुई दिनअघि घाटा खाएर बेच्यौँ, मूल्य झन् घटिरहेको छ,’ उर्मिलाले भनिन्, ‘तीन बिघाको बन्दा–काउलीका लागि बिउ उत्पादनदेखि बिक्री गर्न योग्य बनाउँदासम्म ६ लाख खर्च भएको छ, तर अहिलेको मूल्यमा सबै बेच्दा दुई लाख पनि हात नपर्ने भयो ।’
बिक्रीका लागि तयार भएको तरकारी स्टोर गर्न सक्ने क्षमता पनि किसानसँग छैन । रानाभाटदम्पतीका अनुसार तरकारी रोप्ने वेला रासायनिक मलको अभाव थियो । कालोबजारीको मल सहकारीमा पाइनेभन्दा तेब्बर मूल्य तिरेर खरिद गरेको उनीहरूको गुनासो छ । उनीहरूको आम्दानीको स्रोत नै यही तरकारी हो ।
पश्चिम चितवनबाट काठमाडौंको दूरी करिब एक सय ७५ किलोमिटर छ । चितवनका किसानले प्रतिकिलो १२ रुपैयाँमा बेचेको काउली र आठ रुपैयाँमा बेचेको बन्दा चितवनकै भरतपुर– ५ नारायणपुरबाट काठमाडौं आएर बसेका रविन दाहालले क्रमशः ९० र ५० केजीमा खरिद गरेको बताए । दाहाल रोजगारीका सिलसिलामा काठमाडौंमा छन् ।
पूर्वी चितवनको खैरहनी नगरपालिका– १ सिमलघारीकी ७३ वर्षीया मीनकुमारी तिवारीले १० कट्ठामा लगाएको काउली मंगलबार प्रतिकेजी १२ रुपैयाँ र बन्दा आठ रुपैयाँमा बिक्री गरिन् । ज्यामिरेमा रहेको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादन सहकारीमा बुधबार पैसा उठाउन आएकी उनले दुःख बिसाइन्, ‘लागत दुई लाख भयो, आम्दानी डेढ लाख पनि भएन ।’
यतिवेला तरकारीले राम्रो मूल्यसहितको बजार पाउने समय भए पनि बिचौलियाका कारण किसान मारमा परेको युवा किसान सुमन सुवेदी बताउँछन् । भरतपुर– २५ का युवा सामूहिक खेतीका एक अभियन्तासमेत रहेका उनले आफ्नो वडामा मात्र ५० बिघाभन्दा बढीमा काउली र २० बिघाभन्दा धेरैमा काउली लगाइएको बताए । सबै किसानको समस्या एउटै रहेको उनको भनाइ छ । ‘किसानले मूल्य नपाउनुमा आर्थिक मन्दीको असर भनिन्छ । तर, हामीसँग सस्तोमा उठाएको तरकारी उपभोक्ताले पाँच गुणा महँगोमा खरिद गर्न बाध्य छन् । यस्तो किन हुन्छ ?’ उनले प्रश्न गरे ।
विगतमा ७–८ बिघामा तरकारी खेती गर्ने पूर्वी चितवनका पुरन महतोले हरेक वर्ष निम्तिने यस्तै समस्याका कारण खेती घटाउँदै लगेका छन् । यसपालि उनले तीन बिघामा मात्रै बन्दा र काउली लगाएका छन् । १० दिनपछि उनका बारीका बन्दा–काउली बेच्न तयार हुँदै छन् । ‘भाडामा लिएको तीन बिघामा लगाएको बन्दा काउली १० दिनपछि बेच्न तयार हुन्छन् । तर, अहिले मूल्य घटेको देख्दा तनाव सुरु भइसक्यो,’ उनले भने । उनले ०७५ मा बन्दा र काउली केजीको २ रुपैयाँमा पनि बिक्री नभएपछि बारीमै ट्र्याक्टर लगाएर नष्ट गरेका थिए ।
चितवन, मकवानपुर, धादिङलगायत क्षेत्रका किसानले उत्पादन गरेको अधिकांश तरकारी कालिमाटी तरकारी बजार पुग्छ । चितवनको तरकारी पोखरा, बुटवल र भैरहवामा पनि पुग्छ ।