१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
अनु आचार्य काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तीन वर्षपछि रसुवागढी नाकाबाट निर्यात सुरु

Read Time : > 1 मिनेट
अनु आचार्य, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४२:oo

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट नेपाली वस्तु चीनतर्फ निर्यात सुरु भएको छ । कोभिड–१९ संक्रमणअघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा करिब तीन वर्षपछि मंगलबारबाट पुनः निर्यात सुरु भएको हो ।

तीन वर्षदेखि रसुवागढी नाकाबाट नेपालतर्फ कोटा प्रणालीमा आयात मात्रै हुँदै आएकोमा अब निर्यात पनि सुरु भएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख नारायणप्रसाद भण्डारीले बताए । मंगलबार नेपाली ६ वटा कन्टेनरमा राखिएका नेपाली सामान चिनियाँ तीनवटा कन्टेनरमा चीनतर्फ गएको उनले बताए ।

 करिब ५० लाख मूल्यबराबरका बाँसका मुढा, तामाका भाँडाकुँडा चीनतर्फ निर्यात भएको उनको भनाइ छ । ‘नेपाली ६ वटा कन्टेनरमार्फत सिमानासम्म सामग्री लगिएको थियो, त्यहाँबाट चिनियाँ तीनवटा कन्टेनरमा पुनः लोड गरी नेपाली सामान चीनतर्फ लगिएको छ,’ उनले भने, चिनियाँ पक्षले हामीसँग समन्वय गरेरभन्दा पनि सीधै व्यापारीसँग सम्पर्क गरेर लैजान लागेको हो, चीनले अब नाका खुला गर्ने–नगर्ने हामीलाई कुनै पनि जानकारी गराएको छैन ।’   

त्यसैगरी, बुधबार चीनतर्फ दुई नेपाली कन्टेनरमा बाँसको मुढा र तामाका भाँडाकुँडा निर्यात गर्नका लागि भन्सार जाँचपास सकेर बसेको उनले बताए । तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निरन्तर निर्यात हुने अपेक्षा गरेको व्यवसायीहरूले बताएका छन् । 

सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले नेपालबाट हुने निर्यातअन्तर्गत खाद्य सामग्रीमा रोक लगाएको थियो । नेपाली भाषा र केही सामग्रीहरूमा अंग्रेजी भाषामा मात्र लेबलिङ गरिएको भन्दै चिनियाँ पक्षले सामग्री लैजान रोक लगाएको थियो । 
भाषाको समस्या समाधान हुने क्रममा रहेको समयमा चीनमा देखिएको कोभिड–१९ का कारण पनि निर्यात ठप्प हुन पुग्यो । ०७६ साउनदेखि रसुवागढी नाकाबाट नेपाली सामग्री चीनतर्फ निर्यात ठप्प भएको हो । नेपालबाट चीनतर्फ खाद्य वस्तुमा मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, कुचोलगायतका वस्तुहरू निर्यात हुँदै आएको थियो । 

ad
ad