मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बनेपामा अलपत्र अवस्थामा रहेका विद्युतीय बसको प्राविधिक परीक्षण गरिँदै ।
शिवहरि घिमिरे काठमाडाैं
२०७९ पौष १२ मंगलबार ०८:४७:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

चार्जिङ स्टेसन नहुँदा साझाले ५७ करोडमा किनेका ३७ विद्युतीय बस थन्किए

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ पौष १२ मंगलबार ०८:४७:००

बससँगै किनिएका १८ वटा चार्जर पनि प्रयोगविहीन, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन सरकारी नारा मात्रै

५७ करोडमा खरिद गरिएका साझाका ३७ वटा विद्युतीय बस चार्जिङ स्टेसन नहुँदा दुई महिनादेखि थन्किएका छन् । प्रतिबस एक करोड ५५ लाखका दरले चिनियाँ कम्पनीसँग किनिएकामा २० वटा काभ्रेको बनेपा र १७ वटा भक्तपुरको राधेराधेमा पार्किङ गरिएका छन् । हाल साझा यातायात प्रालिले गत असारमा खरिद गरेका तीन विद्युतीय बस मात्रै सञ्चालन गरेको छ । 

३७ बससँगै खरिद गरिएका २० मध्ये १८ चार्जर पनि प्रयोगविहीन बनेका छन् । फिटिङका लागि आवश्यक ठाउँ उपलब्ध नहुँदा प्रयोगविहीन भएका हुन् । हाल उपत्यकाभित्र पुल्चोकमा दुई, बल्खु र कालोपुलमा एक–एक तथा बनेपामा एक गरी पाँच स्थानमा मात्रै चार्जिङ स्टेसन छ । यीमध्ये पुल्चोकमा दुईवटा मात्रै साझाका हुन् । चार स्टेसनबाट साझाले आफ्ना बस चार्ज गर्दै आएको छ । कालोपुलको चार्जिङ स्टेसन सुन्दर यातायात प्रालिको हो जुन उसले अरूलाई प्रयोग गर्न दिँदैन । सुन्दर यातायातले चार विद्युतीय सार्वजनिक बस उपत्यकामा र काठमाडौंदेखि पूर्वका लागि आठ मिनीबस चलाउँदै आएको छ । साझाका थन्किएका सबै बस नियमित सञ्चालनमा ल्याउन उपत्यकामा थप १८ चार्जिङ स्टेसन चाहिन्छ । 

आवश्यक चार्जिङ स्टेसन नहुँदा सुविधासम्पन्न बस थन्क्याएर राख्नुपरेको साझा यातायातका सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताए । उनका अनुसार सप्लायर्स कम्पनीले नै ती बस भक्तपुरको राधेराधे र काभ्रेको बनेपामा थन्क्याएको छ । चिनियाँ कम्पनी सिएचटिसिइभीले नानजिङ उत्पादन प्लान्टबाट निर्माण गरेका सबै बस कात्तिकमा चीनको कोदारी–झाङ्मु ल्यान्डपोर्ट हुँदै करिब २० दिन लगाएर काठमाडौं ल्याइएको थियो । यी बसको रुट परमिट, इन्स्योरेन्सलगायत प्रक्रिया पनि अघि बढेको छ । 

विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको योजना भए पनि त्यसका लागि आवश्यक संरचना बनाउनतर्फ भने चासो दिएको छैन । हालसम्म सरकारी तवरबाट उपत्यकामा न त विद्युतीय सार्वजनिक बस खरिद गरिएको छ, न त चार्जिङ स्टेसन नै बनेका छन् । केही ठाउँमा सरकारले चार्जिङ स्टेसन बनाउने भने पनि सो काम अघि बढेको छैन । चार्जिङ स्टेसन नै नभएकाले विद्युतीय सवारी सञ्चालन गर्न निजी क्षेत्र पनि हिचकिचाएको छ । सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति बनाए पनि त्यसलाई व्यवहारमा पालना नगर्दा विद्युतीय सरकारी सवारीसाधन योजना अलपत्र परेको तुलाधरको भनाइ छ । ‘हामीले हाम्रा लागि भन्दा पनि सरकारले सबैका लागि चार्जिङ स्टेसन बनाउन आवश्यक छ,’ उनले भने, ‘हामीसँग चार्जर छन्, तर जडान गर्न ठाउँ र संरचना छैन ।’ 

चार्जिङ स्टेसनका लागि संरचना बनाउन जग्गा उपलब्ध गराइदिन साझाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको थियो । बानेश्वरस्थित पुरानो ट्रली बस राखिएको स्टेसन तत्कालका लागि उपलब्ध गराउन माग गरेको थियो । तर, सो ठाउँ नदिँदा समस्या भएको तुलाधरको भनाइ छ । उनका अनुसार ट्रान्समिटर राख्ने, ब्याट्री फिट गर्ने, बिजुलीको तार ल्याउनेलगायत संरचना बनाउनुपर्छ । त्यस्तै, खाली स्पेस पनि बस अट्ने किसिमको चाहिन्छ । सरकारले यो काम गर्दा खर्च कम लाग्ने तुलाधर बताउँछन् । सरकारले चार्जिङ स्टेसन बनाउँदा विद्युत् र जग्गा तथा संरचना उसकै हुने भएकाले कम खर्च लाग्छ । तर, निजी तथा कम्पनीलाई स्टेसन बनाउन उपत्यकामा जग्गाको अपर्याप्तता छ । 

तीन सय विद्युतीय बस किन्ने सरकारको योजना अलपत्र
पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सवारीसाधनको प्रयोग बढाउने सरकारको लक्ष्य छ । जसअन्तर्गत विद्युतीय यातायातलाई करमा समेत सहजता दिँदै आएको छ । तर, आफैँले विद्युतीय बस खरिद गर्ने योजनालाई कागजमै सीमित गरेको छ । ९ पुस ०७५ मा तीन सय बिजुली बस खरिद गर्ने सरकारी योजना आएको थियो । आफ्नै लगानीमा बिजुली बस किन्ने निर्णय हालसम्म कार्यान्वयन भएको छैन । ०७६ साउनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई बस किन्न अनुमति दिएको थियो । तर, आफैँले ९ पुस ०७५ मा बिजुली बस खरिद गर्न बनाएकोे योजनाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १ असोज ०७६ मा पछि हटेको थियो । 

यस्ता छन् बसमा सुविधा 
बसभित्र सुरक्षाका लागि सिसिक्यामरा र डिस्प्ले बोर्ड पनि राखिएको छ । १२ मिटर लम्बाइ भएको अपांगमैत्री बसभित्र मोबाइल चार्ज गर्ने प्वाइन्टसमेत राखिएको छ ।

एउटा चार्जिङ स्टेसन बनाउन ६०–७० लाख खर्च 
एउटा चार्जिङ स्टेसन राख्नका लागि ६०–७० लाख पर्छ । एउटा स्टेसनबाट एकपटकमा दुईवटासम्म बस चार्ज गर्न सकिन्छ । एउटा गाडी फुल चार्ज हुन चार घन्टा लाग्छ । यति चार्जले १०–१२ घन्टासम्म गाडी गुड्छ । 

हरेक बसमा ४२ सिट, सबै सञ्चालनमा आए यात्रुलाई सहज
साझाले पहिलो चरणमा परीक्षणका लागि ल्याइएका तीनवटा विद्युतीय बस २३ असारदेखि गुडाइएको छ । दुई बस रत्नपार्क–ठमेल–नयाँ बसपार्क–एयरपोर्ट रुटमा चल्छन् । एउटा भने लगनखेल–रत्नपार्क–बुढानीलकण्ठ रुटमा चल्छ । ४२ सिट रहेका तीनवटा मात्रै बस सञ्चालनमा आउँदा पनि यात्रुलाई केही सहज भएको छ ।