१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Friday, 05 July, 2024
२o७९ पौष १२ मंगलबार o७:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

भेडेटारमा खाना महोत्सव हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार o७:४२:oo

अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा परिकार महोत्सव हुने भएको छ । होटेल एसोसिएसन भेडेटारले पुस १६ गतेदेखि १८ गतेसम्म तीनदिने परिकार महोत्सव आयोजना गर्न लागेको हो । पूर्वकै चर्चित पर्यटकीय स्थलमध्येको एक भेडेटारमा हरेक वर्ष नयाँ वर्षको अवसर पारेर हुँदै आएको परिकार महोत्सव दशौँ संस्करण हो । महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू प्रदर्शनीमा राखिने होटेल एसोसिएसन अफ भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन् ।

महोत्सवमा आउने आगन्तुकले स्थानीय जातीय परम्परागत खानेकुराहरूको स्वाद लिन र हेर्न बुझ्न पाउने उनले बताइन् । ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचार प्रसार महोत्सवमार्फत गराइने आयोजकको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले कोरोनापछिको आर्थिक मन्दीलाई चलायमान गराउन महोत्सवले सहयोग पुग्ने बताए । महोत्सवमा गाउँपालिकाले पनि कृषि मेलाको प्रदर्शनीसमेत गर्ने उनले जानकारी दिए ।

भेडेटार घुम्न आउने आगन्तुकलाई पाराग्लाइडिङ, माउन्टेन बाइक र टुर प्याकेजको व्यवस्था गरिएको छ । महोत्सवमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँबराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको होटेल एसोसिएसनका सहकोषाध्यक्ष रमेश श्रेष्ठले बताए । साथै, राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुतिसमेत रहनेछ । महोत्सव अवधिभर भेडेटारका होटेलमा खानामा १० प्रतिशत र बस्न १५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । 

महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाभित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजंगको वरको रूखलगायतका ठाउँमा घुमाइनेछ । त्यस्तै, मगर, लिम्बू, राई, चौधरी, धिमाल र याक्खा जातिको सांस्कृतिक झाँकीको समेत मनोरञ्जन लिन सक्ने आयोजक समितिका सचिव तुमराज लिम्बूले बताए । 

महोत्सवमा ४० भन्दा बढी स्टल रहनेछन् । महोत्सव अवधिभर हुने पार्किङ समस्यालाई समाधान गर्न भेडेटार बजार क्षेत्रका विभिन्न क्षेत्रमा अस्थायी पार्किङ क्षेत्र निर्माण गरिने बताइएको छ । महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी, सहआयोजक नेस्ट भेडेटार, भेडेटार आमा समूह र श्री पाथिभरा क्लब, सहयोगी साँगुरीगढी गाउँपालिका, प्रवद्र्धक नेपाल पर्यटन बोर्ड, बैंकिङ पार्टनर गोर्खा फाइनान्स र नबिल बैंक रहेका छन् ।

ad
ad
ad
ad