राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषय छानबिन गर्न अधिकारसम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा सहभागी हुन लागेको बताएका छन्।
सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्तारूढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रस्टीकरण दिएका हुन्। यस विषयमा सत्तारूढ सबै दलहरू सहमत भएको उनको भनाइ छ। त्यस्तै, शिक्षा र स्वास्थ्यको विधेयकमा पनि साझा प्रतिबद्धता रहेको उनले उल्लेख गरे।
सभापति लामिछानेले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीका लागि विशेष कार्यक्रम ल्याउनेलगायतका विषयमा साझा सहमति बनेको बताए।