ट्रम्पको आक्रामक भन्सार नीतिमार्फत चीनलाई रोक्न अमेरिकाले विशेष योजना बनाएको छ
डाेनाल्ड ट्रम्पको यस महिनामा ह्वाइट हाउसमा हुने पुनः प्रवेशले जो बाइडेन र सी जिनपिङको नेतृत्वमा सन् २०२४ मा कायम अमेरिकी–चीन सम्बन्धको नाजुक स्थायित्वलाई बिथोल्ने सम्भावना छ । ट्रम्पले नयाँ आर्थिक सम्झौताको उद्देश्यले चिनियाँ सामानमा नयाँ भन्सार शुल्क लागू गर्ने योजना बनाएका छन् । यद्यपि चुनावी अभियानमा भनेझैँ त्यो शुल्क ६० प्रतिशतसम्म नपुग्न सक्छ । यो दर सन् २०२५ को अन्त्यसम्म दोब्बर भएर २५ प्रतिशत पुग्ने सम्भावना छ । यसको प्रत्युत्तरमा कमजोर आर्थिक अवस्थाका बाबजुद चिनियाँ नेताबाट पहिलेको तुलनामा कडा प्रतिरोध गर्ने र थोरै मात्र सहमति जनाउने अपेक्षा गरिएको छ ।
चिनियाँ नेताले सम्झौता गर्नुलाई राष्ट्रिय अपमानका रूपमा लिइन्छ कि भन्ने डर मान्छन्, जसले चीनका जनताको क्रोधलाई थप उग्र बनाउनेछ । ‘ट्यारिफ म्यान’ (अत्यधिक भन्सार असुल्ने व्यक्ति) ट्रम्पको पुनरागमनसँगै सहकार्यको मार्ग अघि बढ्ने देखिँदैन । उनका आक्रामक भन्सार नीतिमार्फत चीनलाई रोक्न अमेरिकाले योजना बनाएको चिनियाँ आशंकालाई पुष्टि गरेको छ । प्रविधि नीति सबैभन्दा संवेदनशील विषय बनेको छ, जहाँ चीनले आफ्नो प्रविधिगत र आर्थिक प्रगतिलाई अवरुद्ध गर्ने अमेरिकी प्रयासको विरोध गर्दै आएको छ । ट्रम्प प्रशासनले थप चिनियाँ कम्पनीलाई वाणिज्य विभागको ‘एन्टिटी सूची’मा समावेश गर्दै अमेरिकी प्रविधिको पहुँचमा रोक लगाउनेछ र निर्यात नियन्त्रणलाई थप आर्थिक क्षेत्रमा विस्तार गर्नेछ ।
ट्रम्पले चिनियाँ प्रविधि कम्पनीलाई उन्नत चिप निर्यातमा प्रतिबन्ध लगाउने बाइडेनको नीति जारी राख्नेछन् । यसको प्रत्युत्तरमा चीनले विद्युतीय गाडीका ब्याट्री र इलेक्ट्रोनिक्सजस्ता अत्यावश्यक प्रविधिको उत्पादनमा प्रयोग हुने महत्वपूर्ण खनिजको निर्यात सीमित गर्न सक्नेछ, जसले अमेरिकी राष्ट्रिय सुरक्षाका लागि आवश्यक आपूर्तिमा असर गर्नेछ । यद्यपि सन् २०२५ मा ताइबानमा चिनियाँ आक्रमणको सम्भावना छैन, तर ताइबानसम्बन्धी विवादले यस वर्ष अमेरिका–चीन सम्बन्धलाई झनै बिगार्नेछ । ट्रम्पले ताइबानप्रति कम चासो देखाए पनि उनको प्रशासनका कठोर नीतिका समर्थकजस्तै विदेशमन्त्रीका लागि नामित मार्को रुबियो र नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिका–ताइबान सम्बन्धलाई बलियो बनाउने र ताइबानको सुरक्षामा स्पष्ट अमेरिकी प्रतिबद्धताको पक्षमा दबाब दिनेछन्, जुन चीनका लागि एकदमै संवेदनशील विषय हो ।
चिनियाँ नेताले आफ्नो दबाब रणनीतिले ताइबानका राष्ट्रवादी राष्ट्रपति विलियम लाईलाई नियन्त्रणमा राखेको विश्वास गरेका छन् र यो सम्भवतः सही हो । ताइबानको अर्थतन्त्र मजबुत रहेका कारण लाईले जनसमर्थन बढाउन चीनलाई उक्साउन आवश्यक ठानेका छैनन् । तर, ताइबानले वास्तविक स्वतन्त्रताका लागि ठुला कदम चालेको देखियो वा अमेरिकाले चीनका रातो रेखा पार गर्यो भने (रुबियोले ताइबानको भ्रमण गरेमा वा अमेरिकी नौसैनिक जहाजलाई ताइबानको बन्दरगाहमा रोक्नुपर्छ भनेमा) चीनले सैन्य रूपमा तनाव बढाउने निर्णय लिन सक्छ । यसमा नौसैनिक नाकाबन्दी वा ताइबानका बाहिरी द्वीप कब्जा गर्नेजस्ता कदम समावेश हुन सक्छन् । यसबाहेक यी जोखिम ताइबानको सन् २०२८ को चुनाव नजिकिँदै जाँदा झनै बढ्नेछन् र लाईको पुनः विजय रोक्न चीनले दबाब थप दिनेछ ।
चीन र अमेरिकाले सन् २०२५ मा संकट चाहँदैनन्, किनभने सी र ट्रम्प आन्तरिक नीतिमा ध्यान केन्द्रित गर्न चाहन्छन् । सीलाई आर्थिक चुनौती, सामाजिक स्थिरतासम्बन्धी चासो र विखण्डित सैन्य नेतृत्वको सामना गर्नु छ भने ट्रम्प ती कुनै पनि समस्याबाट बच्न चाहन्छन्, जसले अमेरिकी स्टक बजारलाई असर पुर्याउन सक्छ र आफ्नो नेतृत्वमा विश्वास बढाउन चाहन्छन् । एकीकृत सरकार र आफ्नो पार्टीको सुदृढ नियन्त्रणसँग ट्रम्प बाइडेनभन्दा राम्रो अवस्थामा छन्, जसले एकजुट अमेरिकी दृष्टिकोण प्रस्तुत गर्न सक्छन् । तर, अमेरिका–चीन सम्बन्धलाई बलियो बनाउने कुनै आधार छैन । सीले अमेरिकाको कृषि उत्पादन र ऊर्जा निर्यात खरिद गर्ने प्रस्ताव गर्न सक्छन् र चीनमा व्यापार गर्न चाहने अमेरिकी कम्पनीका जीवन सजिलो बनाउन सक्छन् । यसबाहेक सीले अमेरिकी बजारमा थप चिनियाँ लगानीको मार्गप्रशस्त गर्न सक्छन् र युक्रेनमा युद्धविराम हासिल गर्न सक्रिय समर्थन दिन सक्छन् । तर, यस्ता रचनात्मक कदमले मात्र ट्रम्प र उनका प्रशासनका उग्र समर्थकलाई सन्तुष्ट पार्नेछैनन् । विशेषतः उनीहरू चीनको उन्नति अमेरिकाका लागि हानिकारक मान्छन् । ट्रम्पको चीनमाथि दबाब बढाउने दृढ संकल्प र यसको डगमगाउँदै गरेको अर्थतन्त्रले चीनका नेतालाई विपरीत दिशातर्फ धकेल्नेछ ।
यसबाहेक दुई अप्रत्यासित कारकले यस वर्ष अमेरिका–चीन सम्बन्धलाई प्रभाव पार्न सक्छन्, जसमा ट्रम्प आफैँ र उनका नयाँ सल्लाहकार इलोन मस्क पर्न सक्छन् । ट्रम्पले सीसँग राम्रो व्यक्तिगत सम्बन्ध बनाउन प्रयास गर्न सक्छन् र मस्कका चीनमा थुप्रै व्यापारिक चासो भएकाले सीलाई एक उपयोगी मध्यस्थ बनाउनेछन् । तर, अमेरिका र चीनलाई अलग गर्ने शक्ति यी सम्भावनाभन्दा धेरै बलिया छन् ।
सम्बन्धका सन्दर्भमा आउने सम्भावित तनावलाई विश्वले महसुस गर्नेछ । अधिकांश देशले नयाँ शीतयुद्धमा चासो राख्दैनन् र तिनले यसलाई निकट भविष्यमा असम्भाव्य बनाउनेछन् । तर, प्रमुख अमेरिकी साझेदार र व्यापारिक सहकारी अर्थात् जापान, दक्षिण कोरिया, मेक्सिको र युरोपियन युनियन सुरक्षासम्बन्धी क्षेत्रमा पक्ष छान्न बाध्य हुन सक्छन्, तर यसका लागि यी मुलुकले अर्थतन्त्रमा ठुलो मूल्य चुकाउनुपर्नेछ । चाहे चीन होस् वा अमेरिका, दुवै सन् २०२५ मा महँगो टकराव चाहँदैनन्, तर दुवैतर्फका प्रारम्भिक संकेतले बढ्दो संघर्षलाई टार्न झनै गाह्रो हुँदै गएको छ भन्ने देखाउँछ ।
(ब्रेमर युरेसिया ग्रुप र जिजिरोका संस्थापक एवं अध्यक्ष हुन्) प्रोजेक्ट सिन्डिकेटबाट