प्रदेश १ : कांग्रेसमा तीन नेताबीच प्रतिस्पर्धा, एमालेमा कार्की बलिया दाबेदार
प्रदेश १ सभामा ६ दलका सांसद निर्वाचित छन् । ९३ सांसद भएको प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन् । कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जनता समाजवादी पार्टीको एकजना सांसद छन् ।
सरकार गठनका लागि जसपा निर्णायक छ । सत्तागठबन्धनसँग र एमाले–राप्रपा गठबन्धनसँग समान ४६–४६ मत छ । प्रदेश १ मा जसपाले सहयोग गर्ने एमालेले अपेक्षा राखेको छ । ‘विगतकै जस्तो गठबन्धन हुन्छ होला,’ एमाले सांसद हिक्मतकुमार कार्की भन्छन्, ‘सँगै हिँडेको हुनाले जसपासँगै हुन्छौँ भन्ने बुझाइ छ ।’
प्रदेश १ का कुनै पनि पार्टीले संसदीय दलको नेता चयन गरेका छैनन् । दलहरू दलको नेता चयनको तयारीमा छन् । एमालेले आइतबार दलको नेता टुंगो लगाउने तयारी गरेको छ । प्रदेश १ मा एमालेका हिक्मत कार्की दलको नेताका सशक्त दाबेदार मानिन्छन् । पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका कार्की एमालेको स्थायी कमिटी सदस्य हुन् ।
कांग्रेसले १५ पुसभित्र संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको छ । ११ पुसमा पार्टी प्रदेश कार्यसम्पादन समितिको बैठक बसेर यसले निर्वाचनको मिति तय गर्ने पार्टी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए । उनले १५ पुससम्म निर्वाचन गर्ने बताए । कांग्रेसमा प्रदेश सभापति थापा पनि आकांक्षी हुन् । उनीबाहेक केन्द्रीय सदस्य अमृत अर्याल, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीलगायतले दलको नेतामा दाबी गरेका छन् ।
माओवादीभित्र इन्द्र आङ्बो र दुर्गाप्रसाद चापागाईं दलको नेताका आकांक्षी छन् । पार्टी पोलिटब्युरो सदस्यसमेत रहेका आङ्बो यसअघि पनि दलको नेता थिए । चापागाईं पार्टी केन्द्रीय सदस्य हुन् । ६ सिट रहेको राप्रपाले पनि हालसम्म दलको नेता टुंगो लगाएको छैन । यद्यपि, राप्रपाका भक्ति सिटौला दलको नेताका दाबेदार हुन् । उनीबाहेक राप्रपाका खासै दर्बिलो दाबेदारी कसैको छैन । एकीकृत समाजवादीमा भने हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई दलको नेताका आकांक्षी हुन् । उनी पार्टीका सिनियर नेता भएको र विगतमा पनि दलको नेता भइसकेकाले राई नै नेता हुने सम्भावना छ ।
मधेस: सबै दलमा सहमतिको प्रयास
एक सय सात सदस्यीय रहेको मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सांसद छन् । २३ सिट ल्याएर एमाले ठूलो पार्टी बनेको छ । कांग्रेस २१, जसपा १६, जनमत पार्टी १३, लोसपा नौ, माओवादी आठ, एकीकृत समाजवादीको सात सिट छ । प्रदेश सभामा ६ जना स्वतन्त्र सांसद छन् । राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले एक–एक सिट ल्याएका छन् । एक सय सात सिट रहेको मधेस प्रदेश सभामा सरकार निर्माणका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ ।
मधेस प्रदेश सभामा दलको नेता बन्न विभिन्न दलका नेताहरूले दौडधुप सुरु गरेका छन् । कांग्रेसमा दलका नेता बन्न मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव, प्रदेशका पूर्वमन्त्री रामसरोज यादव, पूर्वमन्त्री वीरेन्द्रप्रसाद सिंह, राजेन्द्रसिंह क्षेत्री आकांक्षा देखाएका छन् । कांग्रेस मधेस प्रदेश समितिले दलको नेता चयन गर्न निर्वाचन समितिसमेत गठन गरिसकेको छ । मधेस प्रदेश सभापति यादवले सर्वसम्मत रूपमा दलका नेता चयन गर्ने प्रयास भएको बताए । सर्वसम्मति नजुटे चुनावी प्रक्रियाबाट दलको नेता छनोट गरिने उनको भनाइ छ । प्रदेश सभापति यादव र पूर्वमन्त्री सिंह पार्टी सभापति देउवानिकट मानिन्छ । पूर्वमन्त्री यादव कांग्रेस नेता विमलेन्द्र निधिनिकट हुन् ।
एमालेमा दलका नेताका लागि सरोज यादव, रामचन्द्र मण्डल, शारदा थापा र हरिनारायण महतो दौडमा छन् । महतो अध्यक्ष केपी ओलीका विश्वासपात्र पनि हुन् । एमालेमा दलका नेताका मण्डलको दाबी पनि बलियो छ । उनको राजनीतिक पृष्ठभूमि माओवादी हो । तत्कालीन नेकपा विभाजन हँुदा उनी एमालेतिर लागेका थिए । उनी तत्कालीन नेकपा बन्नुअघि माओवादीका संसदीय दलका नेता चुनिएका थिए । एमालेका एक सांसदका अनुसार मधेसमा दलका नेताका लागि रघुवीर महासेठ निर्णायक मानिन्छ । उनी अहिलेसम्म कसैको पक्षमा खुलेका छैनन् ।
जनता समाजवादी पार्टीमा दलका नेताका तीनजनाको दाबेदारी देखिएको छ । वर्तमान मुख्यमन्त्री लालबाबु राउत, बाराबाट निर्वाचित सरोजकुमार यादव र मनीष सुमन दलका नेता बन्ने दौडमा छन् । मुख्यमन्त्रीमा पाँचवर्ष पूरा गरेकाले राउतले पुनः दलका नेतामा दाबी गरेका छन् । तत्कालीन राजपाबाट सभामुख बनेका यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूलाई मुख्यमन्त्रीको आश्वासन दिएको बताएका छन् । तत्कालीन राजपाबाट सांसद भएका सुमन पनि दलको नेताका सशक्त दाबेदार हुन् । दलको नेता बन्न उनले पार्टीका परिषद् अध्यक्ष अशोक राई र अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट बढाएका छन् ।
प्रदेश सभामा पहिलोपटक पुगेको जनमत पार्टीभित्र पनि दलको नेता बन्ने दौडधुप बढेको छ । सप्तरीबाट निर्वाचित सतिश सिंह, सिराहाबाट निर्वाचित त्रिभुवन साह, चन्दन सिंह, रौतहटका वसन्त कुश्वाहाको नाम दलका नेताका रूपमा चर्चा रहेको छ । जनमतले पार्टी अध्यक्ष सिके राउतलाई प्रदेशमा दलका नेता छान्ने अधिकार दिएको छ । पार्टीका एक नेताका अनुसार उपाध्यक्ष वसन्त कुश्वाहा र महासचिव चन्दन सिंहमध्ये एक दलको नेता बन्नेछन् ।
माओवादी संसदीय दलको नेतामा भरत साह नै दोहोरिने प्रबल सम्भावना छ । उनी प्रदेश सरकारमा गृह तथा सञ्चारमन्त्री हुन् । प्रदेश सभामा माओवादीको आठ सिट छ । लोकतान्त्रिक समाजवादी पार्टीमा दलको नेताका लागि दुईजनाको नाम चर्चामा छ । लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनल र सर्लाहीबाट दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित उपेन्द्र महतो दलका नेताका आकांक्षी देखिएका छन् । एकीकृत समाजवादीमा दलको नेतामा प्रमोदकुमार यादव र सर्लाहीबाट निर्वाचित बेची लुंगेलीको नाम अगाडि छ । यादव अहिले मधेस प्रदेश सरकारमा राज्यमन्त्री छन् ।
बागमती : कांग्रेसमा चुनावबाट, अन्य दलले सहमतिमै छान्ने
बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूले आ–आफ्नो दलको नेता चयन प्रक्रियालाई तीव्रता दिन थालेका छन् । बागमती प्रदेश सभा सचिवालयले सांसदहरूको शपथको मिति तोकेसँगै दलहरू संसदीय दलको नेता चयनको प्रक्रियामा व्यस्त भएका हुन् । ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूले दलको नेता छान्ने तयारी थालेका छन् । बागमती प्रदेशमा कांग्रेसले ३७, एमालेले २७, माओवादीले २१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३, एकीकृत समाजवादीले सात, नेपाल किसान मजदुर पार्टीले तीन र हाम्रो नेपाली पार्टीले दुई सिट पाएका छन् ।
कांग्रेसले दलको नेता चयनका लागि १३ पुसमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ बागमतीमा ३७ सिट जितेको कांग्रेसका प्रत्यक्षबाट २५ र १२ जना समानुपातिकबाट निर्वाचित भएका छन् । कांग्रेसको संसदीय दलको नेताका लागि बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले आकांक्षा देखाएका छन् ।
दलको नेताका आकांक्षी बानियाँ र लामा दुवैजना कांग्रेसको संस्थापन पक्षका नेताहरू हुन् । प्रदेश सभा सदस्य निर्वाचनको समयदेखि नै मुख्यमन्त्रीको दाबी गरिरहेका बानियाँ र लामा नै कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताका मुख्य प्रतिस्पर्धी हुन् । दुवैले पार्टी शीर्ष नेतृत्वबाट आफूलाई दलको नेता बनाउने आश्वासन आएको दाबी गर्दै आएका छन् । बानियाँले आफू अघिल्लो कार्यकालमा पनि दलको नेता रहिसकेको र अहिले प्रदेश सभापति रहेकाले स्वाभाविक दलको नेताको हकदार भएको दाबी गरेका छन् ।
प्रदेश सभाको दोस्रो ठूलो दल एमालेले दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने बताएको छ । दलको नेता सहमतिमै चयन गर्ने भएपछि विशेष तयारी नगरिएको, तर छिट्टै बैठक बोलाएर दलको नेता चयन गर्ने एमालेका प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । उनले दलको नेता चयनको प्रक्रिया १४ पुसभित्र टुंग्याउने बताए । एमालेमा जगन्नाथ थपलिया, केशवप्रसाद पोखरेल, अमनकुमार मास्केलगायतको नाम दलको नेताका लागि चर्चामा छ । २७ जना प्रदेश सभा सदस्य रहेको एमालेमा थपलिया नै दलको नेता बन्ने स्रोतको दाबी छ ।
माओवादीले पनि सहमतिमै दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयनका लागि अहिलेसम्म मिति नतोकेको माओवादीले अनौपचारिक छलफल भने भइरहेको जनाएको छ । माओवादी बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले दलको नेता चयनका लागि पार्टीभित्र अनौपचारिक छलफल चलिरहेको बताए । उनले सकेसम्म प्रदेश सभा सदस्यहरूको शपथअगावै सहमतिमै दलको नेता टुंग्याउने पनि बताए । बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलहरू राप्रपा, एकीकृत समाजवादी, मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले पनि दलको नेता सहमतिमै चयन गर्ने बताएका छन् । बागमतीमा १३ सदस्य रहेको राप्रपामा दलको नेताका लागि उद्धव थापा र भुवन पाठकमध्ये एकजना सहमतिमै चयन गर्ने प्रयास भइरहेको बागमती प्रदेश समिति सविच गुञ्जबहादुर न्यौपानेले बताए ।
एकीकृत समाजवादीले पनि दलको नेता सहमतिमै चयन गर्ने जनाएको छ । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य कृष्णप्रसाद शर्मा खनाल दलको नेता बन्ने भएका छन् । बागमतीमा उसका सातजना सदस्य छन् । तीनजना प्रदेश सदस्य रहेको मजदुर किसान पार्टी र दुईजना सदस्य रहेको हाम्रो नेपाली पार्टीले पनि सहमतिमै दलको नेता चयन गर्ने बताएका छन् ।
गण्डकी : कांग्रेसमा पाण्डे, थापा र जिसी दौडमा, एमालेमा अधिकारी एक्ला दाबेदार
गण्डकी प्रदेश सभा सदस्यहरूको शपथ १४ पुसमा हुँदै छ । प्रदेश सभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी ६० सांसद छन् । २७ सदस्य जितेको कांग्रेस गण्डकीमा सबैभन्दा ठूलो दलको रूपमा रहेको छ । कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ नौ सिट जितेको छ ।
एमालेको प्रत्यक्षमा १२ र समानुपातिकमा १० गरी २२ सिट छ । आठ सिट रहेको माओवादीले प्रत्यक्षतर्फ पाँच र समानुपातिकमा तीन सिट जितेको छ । प्रत्यक्षमा कुनै सिट नजितेको राप्रपाले समानुपातिकमा दुई सिट जितेको छ । मनाङको १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ निर्विरोध निर्वाचित भएका थिए । हाल उनी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
कांग्रेसले शुक्रबार प्रदेश समितिका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा चार सदस्य निर्वाचन समिति गठन गरेको छ । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माका अनुसार सकभर दलको नेता सहमतिमा छान्ने र नभए निर्वाचनमार्फत चयन गर्ने बताए । दलको नेता चयनका लागि कांग्रेसले १३ पुसमा निर्वाचन गर्ने गरी शनिबार निर्वाचन तालिका सार्वजनिक गरेको छ । कांग्रेसका २७ जनामध्ये संस्थापन पक्षमा १४ र इतर पक्षमा १३ जना छन् । पार्टीको संस्थापन पक्षबाट गोरखा २ (ख) बाट विजयी सुरेन्द्र पाण्डे र कास्की २ (ख) बाट निर्वाचित बिन्दुकुमार थापा दलको नेताका आकांक्षी छन् । उनीहरू दुवैले केन्द्रमा गएर नेताहरूसँग भेटघाटसमेत गरिसकेका छन् । संस्थापन इतर समूहबाट महेन्द्रध्वज जिसी मुख्यमन्त्रीका दाबेदार हुन् । उनी नवलपुर १(क) बाट विजयी भएका हुन् ।
माओवादीमा चुमान दलको नेता बन्ने
एमालेले १४ पुसअगावै सहमतिमै दलको नेता चयन गर्ने पार्टीका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए । एमालेको दलको नेतामा कास्की १ (क) बाट विजयी खगराज अधिकारी हुने करिब निश्चित छ । पूर्वगृहमन्त्री एवं स्वास्थ्यमन्त्रीसमेत रहेका अधिकारीले निर्वाचनको दुई दिनअघिसम्म प्रतिनिधिसभामा निर्वाचन लड्ने बताए पनि पार्टीले भावी मुख्यमन्त्रीको रूपमा अघि सार्दै प्रदेश सभाको उम्मेदवार बनाएको थियो । माओवादीको दलको नेतामा तनहुँ १ (ख) बाट निर्वाचित हरिबहादुर चुमान हुने निश्चित छ । ०७४ मा समेत सोही क्षेत्रबाट निर्वाचित भएका चुमान यसअघि पार्टीका तर्फबाट संसदीय दलका नेता थिए । उनले तीन वर्षभन्दा बढी गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएर काम गरेका थिए ।
लुम्बिनी : एमाले र कांग्रेसमा तीन–तीनजना आकांक्षी
लुम्बिनी प्रदेश सभामा यसपटक प्रतिनिधित्व गर्ने दलहरूको संख्या १० पुगेको छ । प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद छन् । सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका नौ, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टीका तीन, जसपा तीन, लोसपा तीन, एकीकृत समाजवादी र राजमोका एक–एक तथा स्वतन्त्र तीन सांसद छन् ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले संसदीय दलको नेता चयन गर्न आन्तरिक तयारी थालेका छन् । एमाले सांसदहरूको शपथको सेरोफेरोमा नेता चयन गर्ने तयारीमा छ । कांग्रेसको प्रदेश समितिको बैठक ११ पुसमा बस्ने तयारी छ । माओवादीको बैठक पनि चाँडै बस्ने भएको छ ।
संसदीय दलको नेता चयनका लागि एमालेले अझै ठोस निर्णय गरेको छैन । रुपन्देहीबाट निर्वाचित एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरीले सांसदहरूको शपथग्रहणको सेरोफेरोमा दलको नेता चयन हुने बताए । दलको नेताका लागि गिरीसँगै भोजप्रसाद श्रेष्ठको नाम पनि चर्चामा छ । रुपन्देहीका भूमिश्वर ढकालले पनि दलको नेताका लागि लबिङ गरिरहेका छन् । अर्घाखाँचीका चेतनारायण आचार्य र कपिलवस्तुका विष्णु पन्थीले पनि दलको नेता बन्ने इच्छा जाहेर गरेका छन् ।
लुम्बिनीमा कांग्रेसबाट दलको नेताका लागि चारजना आकांक्षी देखिएका छन् । कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक बलिया दाबेदार हुन् । पार्टी संस्थापन पक्षका रज्जाक दलको नेताका लागि साथीहरूसँग छलफलमा जुटिरहेको बताउँछन् । पाल्पाबाट निर्वाचित वीरबहादुर रानाले दलको नेताका लागि छलफल चलिरहेको बताए । प्रदेशमा एक कार्यकाल सांसद भइसकेको अनुभव रहेको भन्दै उनले प्रदेशलाई नमुना प्रदेश बनाउने गरी काम गर्न दलको नेता बन्ने आकांक्षा राखेको बताउछन् ।
कांग्रेस प्रदेश समितिका उपसभापति राजु खनाल दलको नेताका आकांक्षी हुन् । दलको नेता चयनको प्रक्रिया ११ पुसबाट अगाडि बढ्ने उनले बताए । ‘११ पुसमा प्रदेश समितिको कार्यसम्पादन समितिको बैठक बस्छ, त्यसले निर्वाचन कमिटी निर्माण गर्छ, निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम अगाडि बढाउँछ,’ खनालले भने । दलको नेतामा दाङका डिल्ली चौधरीको पनि दाबी छ ।
रोल्पाबाट प्रदेश सभामा निर्वाचत माओवादीका स्थायी कमिटीका सदस्य जोखबहादुर महरा दलको नेताका लागि आवश्यक तयारीमा जुटेका छन् । पार्टीबाट दलको नेताका लागि आफ्नो पक्षमा सहमति जुट्नेमा उनी विश्वस्त छन् । प्रदेश कमिटीको बैठकपछि दलको नेता चयनको प्रक्रिया अगाडि बढ्ने उनले बताए । लुम्बिनी प्रदेश सभामा माओवादीबाट नौजना सांसद छन् ।
कर्णाली : कांग्रेसले दलको नेता छान्यो, माओवादी र एमाले चयन गर्दै
कर्णाली प्रदेश सरकार गठनका लागि कांग्रेस र माओवादीले मुख्यमन्त्री दाबी गर्दै आएका छन् । कर्णाली प्रदेश सभामा ४० सांसदमध्ये कांग्रेसका १४, माओवादी १३, एमाले १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक–एकजना सांसद छन् । केन्द्रमा हुने राजनीतिक गठबन्धनले प्रदेश सरकारको नेतृत्वमा फरक पर्ने भएकाले अहिले गठबन्धन क–कसले गर्लान् त्यो टुंगो नभए पनि कर्णाली सरकारको नेतृत्वमा माओवादी र कांग्रेसले दाबी गरिरहेका छन् ।
कांग्रेसले शुक्रबार संसदीय दलको नेतालाई चयन गरेको छ । वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । मुख्यमन्त्री आकांक्षी रहेका राजीवविक्रम शाह मुख्यमन्त्रीको प्रस्तावक बसेपछि शाही सर्वसम्मत चयन भएका हुन् । दुवैजना कांग्रेसभित्र संस्थापन पक्ष अर्थात् देउवानिकट हुन् ।
माओवादीबाट राजकुमार शर्मा र सुर्खेतका विन्दमान विष्टले दल नेतामा आकांक्षा देखाएका छन् । माओवादीमा को दलको नेता हुन्छ भन्ने विषयमा केन्द्रको निर्णयमा भर पर्ने माओवादीका नेताहरू बताउँछन् । एमालेमा दलका नेता बन्न दुईजनाले आकांक्षा देखाएका छन् । एमाले प्रदेश इन्चार्ज यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाहले दलका नेता बन्नका लागि आकांक्षा राखेका छन् ।
कर्णालीमा अहिलेको सत्तारूढ गठबन्धन दल कांग्रेस १४, माओवादी १३, एकीकृत समाजवादीका एक सांसद गरेर २६ जना हुनेछन् । हालको गठबन्धन भत्किएमा एमाले र माओवादीको गठबन्धन बनेमा २३ सांसद हुन्छन् । एमाले र कांग्रेसको गठबन्धन बनेमा २४ सांसद हुनेछन् ।
सुदूरपश्चिम : कांग्रेस र माओवादीमा नेता बन्न होडबाजी
सुदूरपश्चिममा माओवादीबाट मुख्यमन्त्री त्रिलोचन भट्ट आफ्नो पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै गर्दा अब कसको नेतृत्वमा सरकार बन्ला भन्ने चर्चा सुरु भएको छ । गठबन्धन कायम रहने आकलनसहित कांग्रेस र माओवादीसँगै एकीकृत समाजवादीका नेताहरू मुख्यमन्त्रीका लागि लबिइङ मा छन् । त्यसका लागि आकांक्षीहरूले संसदीय दलको नेता बन्ने तयारी गरिरहेका छन् ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसबाट बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवा, कमलबहादुर शाहलगायत चर्चामा छन् । कांग्रेसका पुराना नेता थापा र विष्ट संविधानसभा सदस्य हुन् । विष्ट पार्टीमा संस्थापन इतर हुन् । खड्का प्रदेश महामन्त्री हुन् भने देउवा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका भतिजा हुन् । थापाले पार्टी नेतृत्वको सहमतिमै मुख्यमन्त्री बन्न आफू प्रदेशमा चुनाव लडेको बताएका छन् ।
माओवादीबाट प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीमा निर्विकल्पजस्तै छन् । संसदीय दलको नेतामा उनी सर्वसम्मत हुने ठानिएको छ । तर पछिल्लो समय युवा नेता ओमविक्रम भाटले पनि दलको नेतामा दाबी गरेका छन । सामजिक सञ्जालमै उनले दलको नेतामा उम्मेदवरी दिने जनाएका छ्न । ‘मुख्यमन्त्रीमा मेरो दाबी स्वाभाविक हो,’ इन्चार्ज भट्टले भने, ‘यसमा गठबन्धनका शीर्ष नेताबीच चुनावअघि एकखालको सहमति भएको छ ।’
एकीकृत समाजवादीबाट दीर्घ सोडारी संसदीय दलको नेता र मुख्यमन्त्रीका दाबेदार छन् । उनी अहिले भौतिक पूर्वाधार विकासमन्त्री छन् । एमालेबाट राजेन्द्रसिंह रावललगायत दलको नेताका दावेदार छन् ।