पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गाउँघरमा पाइने गुन्द्री, चकटी विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गाउँ घरमा केहिले अझै पनि गुन्द्री बुन्छन् । अहिलेको पुस्ताका लागि परालबाट बुनिने यस्ता सामाग्रीहरु नयाँ लाग्छन् । आठौं धादिङ महोत्सवमा नीलकण्ठ नगरपालिका ४ धादिङकी कृष्णमाया श्रेष्ठ र चमेली श्रेष्ठ दुई दिदिबहिनी परालको गुन्द्री बुन्न सिकाएर सिप हस्तान्तरण र पुस्तान्तरण गरिहेका छन् ।
दुई श्रेष्ठ दिदिबहिनी महोत्सवमा परालको गुन्द्री बुन्न व्यस्त देखिन्छन् । गुन्द्री बुनेर टन्न पैसा कमाउने उनीहरुको योजना होइन । महोत्सवमा रमाइलो हेर्ने बहाना पनि छैन । तर मेलाको एउटा स्टलमा तान लगाएर गुन्द्री बुनिरहेका दिदिबहिनीले मेला अवलोकन गर्न आउनेहरुको ध्यान तानेको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ बिहीबारदेखि आठौ धादिङ महोत्सव भइरहेको छ । महोत्सवले स्थानीय उत्पादनलाई प्राथमिकता दिइरहँदा दुई दिदीबहिनीले स्टलमा परालको गुन्द्री बुन्न सिकाउँदै आएका हुन् ।
आफुले जोगाएको संस्कृति मेटिएला कि भन्ने अघिल्लो पुस्तालाई बेस्सरी डर छ । अघिल्लो पुस्ताले सिप पुस्तान्तरण गर्न नसके परालबाट बुनिने सामग्रीहरु लोप हुने देखिन्छ । कृष्णमायाँ भन्छिन्, ‘पुराना पुस्ताले त जानेका छन् । तर, अहिलेका नयाँ पुस्ताले बुन्न त परको कुरा, बुन्न प्रयोग गरिने सामाग्रीहरुको नाम समेत थाहा छैन । पुस्तान्तरण गर्न सकिएन भने संस्कृति र संस्कार जोगाउन सकिदैन । त्यसैले परालबाट बुन्ने गुन्द्री, चकटी बुन्न सिकाएका हौं । ’
अघिल्लो पुस्ताले परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्नपात सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिँदै आएको श्रेष्ठ दिदिबहिनी बताउँछन् । न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री प्रयोग भने हिजोआज घट्दै गएको छ । कृष्ण मायाँ भन्छिन्,– ‘गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन । अहिले बजारमा पाइने म्याट, कार्पेट यत्रतत्र हावी भएको छ । सस्तो र स्वस्थकर हुने हुनाले यो परस्परा र संस्कृति जोगाउनु पर्छ । महोत्सवमा स्टल राखेर सिकाउन पाइयो खुसी लागेको छ’ उनले भनिन् ।