‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्राेत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ आठौँ धादिङ महोत्सव सुरु भएको छ। बिहीबारदेखि सुरु भएको महोत्सवमा विभिन्न जातजातिले आफ्नो संस्कृति झल्किने नाच तथा झाँकी प्रदर्शन गरे।
उत्तरी क्षेत्रमा पर्ने रुवीभ्यालीका तामाङ जातिले घोडचढी नाच, दक्षिणी धादिङका चेपाङ जातिले झाँकी, नेवार समुदायले लाखे तथा टाकटुके नाच, कुमाल समुदायले कौरा नाच, पञ्चे बाजालगायत धादिङको पहिचान बोकेका संस्कृति झल्किने खालका प्रदर्शन गरिएको थियो। धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डले बत्तीमुनिको अँध्यारो धादिङलाई बत्तीनजिकैको उज्यालो जिल्ला बनाउने बताए। जिल्लामा उत्पादन वृद्धि गरी युवालाई देशमै रोजगारी दिने योजना ल्याएर जिल्लालाई विकसित बनाउने उनको भनाइ छ।
‘जिल्लामा विकासका थुप्रै काम भइरहका छन्। पृथ्वी राजमार्गलाई व्यवस्थित बनाउने काम भइरहेको छ। वैकल्पिक मार्ग धार्के–सीतापाइला एक वर्षभित्रमा पिच हुन्छ। उत्तरी धादिङलाई जोड्ने दामन–पाख्रिन मार्गको पनि काम भइरहेको छ। त्रिशूलीवारि र पारि जोड्ने पुलहरू निर्माण गरियो। धादिङको विकासले गति लिएको छ,’ उनले भने।