डुडुवा गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ। निर्वाचित भएको सात महिनापछि भएको १२औँ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए।
उनले छोरी शिक्षालाई बढावा दिन कन्या मुद्दती शिक्षा योजना ल्याएको बताए। कन्या मुद्दती शिक्षा योजनाअन्तर्गत छोरी जन्मिनेबित्तिकै खाता खोलेर पैसा जम्मा गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ। ‘छोरीको उच्च शिक्षामा टेवा पुर्याउने यसको मुख्य उद्देश्य हो,’ उनले भने।
गाउँपालिकाले संस्कृत, अवधि र उर्दू भाषाको संरक्षण र संवर्द्धन गर्न मातृभाषामा पठनपाठन गराउने नीति अघि सारेको छ। गुरु–शिक्षक–सहजकर्तामार्फत मातृभाषाको संरक्षण र विकासमा जोड दिने नीति गाउँपालिकाले अघि सारेको अध्यक्ष चौधरीले बताए।
छोरीको शिक्षामा टेवा पुर्याउन एसइई उत्तीर्ण छात्रालाई साइकल प्रदान गरी थप अध्ययनका लागि प्रोत्साहित गर्ने योजना छ,’ उनले भने।
पशुपति माध्यमिक विद्यालय नौरीगौडीमा गाउँपालिकास्तरीय क्याम्पस स्थापना गर्न नीति गाउँपालिकाले बनाएको छ । उक्त क्याम्पस स्थापनाका लागि जग्गा प्राप्तिको काम अगाडि सारेको छ।
‘डुडुवामा रहेका सबै सामुदायिक विद्यालय र बाल विकास केन्द्रमा अंग्रेजी माध्यमबाट पठनपाठन सिकाइ कार्यमा जोड दिइनेछ,’ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले भने।
गाउँपालिकाले डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर–घर स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घर–घर पशुसेवा कार्यक्रम, वडा–वडामा स्वास्थ्य प्रयोगाशाला सुविधा, टोल–टोलमा घटना दर्ता अभियान र मालपोत संकलन अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने नीति बनाएको छ।
बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पट निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा र्याफ्टिङ सञ्चालन गर्ने योजना अघि सारेको गाउँपालिकाले प्राचिन मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिद, गुरुद्वाराको संरक्षण, मर्मत सम्भार तथा पुनर्निर्माण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भएको छ।
राप्ती नदी किनारमा स्नानघर र आर्यघाटलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए। गाउँपालिका वडा नं. ६ माहुत टोलमा सात सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए।
‘डुडुवाका किसानले उत्पादन गरेको आलु र तरकारी तथा फलफूल भण्डारण गर्न कोल्ड स्टोर निर्माण गर्ने योजना छ,’ उनले भने।
डुडुवा गाउँपालिका २ मा स्थापना भएको बिउ भण्डारण तथा प्रशोधन केन्द्र सञ्चालन गर्न पनि गाउँपालिकाले बजेट विनियोजन गरेको छ। डुडुवावासीलाई सर्वसुलभ तथा गुणस्तरिय स्वास्थ्य सेवा दिन स्वास्थ्य प्रयोगशाला (प्याथालोजी) नभएका वडामा स्थापना गरि सञ्चालनमा ल्याउने भएको छ।
पालिकाले पालिकाको १, ३ र ४ वडामा स्वास्थ्य प्रयोगशाला स्थापना गर्न बजेट विनियोजन गरेको छ। ‘न्यूनतम शुल्कमा डुडुवाका सबैलाई स्वास्थ्य सेवा दिई पहुँचमा वृद्धि गर्न सवै वडामा प्याथालोजी सेवा विस्तार गर्ने योजना अघि सारिएको छ,’ उपाध्यक्ष साहिदा बानोले भनिन्।
६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक
गाउँपालिकाको १२औँ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले पेस गरेको आर्थिक वर्ष ०७९–०८० को वजेट पारित भएको छ। अध्यक्ष चौधरीले सभामा पेश गरेको एक वटा विधेयक, नीति तथा कार्यक्रम र रु. ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेका थिए।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत्, वन तथा वातावरण, विकास निर्माणलगायतका १८ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।