१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Sunday, 22 September, 2024
२o७९ पौष ६ बुधबार १७:११:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसले युद्ध-समीक्षा गर्ने योजना बनाएकै दिन युक्रेनी राष्ट्रपति सुटुक्क अमेरिका    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार १७:११:oo

अमेरिकाको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

उनले वासिङ्टनमा अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनमा उनले युक्रेन युद्ध र आगामी योजनाबारे सांसदहरूलाई जानकारी गराउने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धको हालसम्मको भयावह परिणामको समीक्षा गर्न र अर्को वर्षका लागि लक्ष्य तय गर्न आफ्ना उच्च सैन्य अधिकारीहरूलाई भेट्ने योजना बनाएकै दिन युक्रेनी राष्ट्रपतिले भ्रमण गोप्य रूपमा तय गरेका हुन्। 

जेलेन्स्कीले बुधबार ट्विटरमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखेका छन्, ‘युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदै छु।’

ह्वाइटहाउसकी प्रवक्ता करिन जिन पियरेले जारी गरेको विज्ञप्तिमा पनि भ्रमणबारे उल्लेख गर्दै भनिएको छ, ‘यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ।’

गत फेब्रुअरीमा रुसी सेनाले युक्रेनको किभ र देशको अधिकांश भूभाग कब्जा गर्ने योजना बनाएपछि जेलेन्स्कीको युक्रेनबाहिरको यो पहिलो भ्रमण हो। 

राष्ट्रपति जेलेन्स्कीको वासिङ्टन भ्रमण रुस–युक्रेन युद्धको ३००औँ दिनमा भएको छ। रुसी सेनालाई पश्चिमा मुलुकद्वारा सहयोग गरिएको हतियार र समर्थनमा युक्रेनी सेनाले यस पहिले कब्जा गरिएको क्षेत्रबाट पछि हट्न बाध्य पारिरहेको छ। युक्रेनले रुससँग थप असफलताहरूबाट बच्न संघर्ष गरिरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार जेलेन्स्कीको भ्रमणमा बाइडेनले करिब दुई अर्ब अमेरिकी डलरबराबरको नयाँ हतियार प्याकेजको घोषणा गर्ने कार्यक्रम छ, जसमा प्याट्रियट एयर डिफेन्स मिसाइल पनि समावेश हुनेछ।

डिसेम्बर ११ मा बाइडेन र जेलेन्स्कीबीच भएको फोन वार्ता, एक हप्ताअघि औपचारिक निमन्त्रणा र आइतबार भ्रमणको पुष्टि भएपछि भ्रमणको योजना गोप्य रूपमा तय गरिएको थियो।

जेलेन्स्कीको यात्रालाई लिएर सुरक्षा चिन्ता कायमै रहेको भन्दै अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमलाई अनुरोध गरेपछि भ्रमणको विस्तृत विवरण मंगलबार अपराह्न सार्वजनिक भएको थियो।

ह्वाइटहाउसको वार्तामा वाइडन र जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र सहयोगीहरूले प्रदान गर्ने हतियार र प्रशिक्षण, रुसमाथि प्रतिबन्ध र अन्य दबाब र युक्रेनलाई आवश्यक पर्ने आर्थिक र मानवीय सहायताबारे छलफल गर्ने ह्वाइटहाउसका एकजना वरिष्ठ अधिकारीले बताए। 

जेलेन्स्कीले युक्रेनको डोनेट्स्क ओब्लास्टस्थित बाख्मुतको अग्रपंक्तिको जोखिमपूर्ण भ्रमणपछि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका हुन्।  बाख्मुत क्षेत्रमा रुस र युक्रेन दुवै पक्षले विगत दुई महिनादेखि लगातार गोलीबारी गरिरहेको र यसबाट दुवैतर्फ ठूलो क्षति भएको छ। 

कुनै समय अंगुर र नुनखानीका लागि चिनिने बाख्मुतको वरपर गोलाबारी बर्सिँदा सहर र यसको वरपरको ठूलो भागमा क्षति पुगेको छ।