१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ असोज ६ आइतबार १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनुषामा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १८:५३:oo

धनुषामा सवारी दुर्घटनाका मुख्य कारण तीव्र गति रहेको एक तथ्यांकले देखाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिवेदनमा अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको उल्लेख छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीका अनुसार गत आर्थिक वर्ष ०८०-८१ मा जिल्लामा १५ सय सवारी दुर्घटना भएकोमा ६० प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको बताए। त्यसैगरी, १४ प्रतिशत सवारी दुर्घटना चालकको लापरबाही र बाँकी दुर्घटना विविध कारणले भएको तथ्यांकमा उल्लेख छ।

प्रतिघण्टा ३० किलोमिटरको गतिमा हिँडिरहेको सवारीसाधनसँग पैदलयात्री ठोकिँदा मृत्यु हुने सम्भावना एक प्रतिशत मात्र रहेको निरीक्षक वलीले बताए। त्यसैगरी, प्रतिघण्टा ६० किलोमिटरको गतिमा रहेको सवारीले ठक्कर दिए मृत्यु हुने सम्भावना ५० प्रतिशत र प्रतिघण्टा ७० किलोमिटरभन्दा माथिको गतिमा रहेको सवारीले ठक्कर दिए मृत्यु हुने सम्भावना ९९ प्रतिशत रहेको उनले बताए।

गत आर्थिक वर्षमा १ हजार ५ सय सवारी दुर्घटना हुँदा ७४ जनको मृत्यु भएको थियो भने चालू आर्थिक वर्षको २ महिनामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ। गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ। अर्थात् गत वर्षभन्दा चालु आवमा सवारी दुर्घटनामा मृत्यु हुने संख्यमा ६४ प्रतिशतले कमी आएको छ।

सवारी दुर्घटना न्यूनीकरण गर्न आफूहरूले ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम, विभिन्न ठाउँमा ट्राफिक नियमसम्बन्धी सांकेतिक बोर्डहरू तथा चेकजाँचमा कडाइ गरेको उनले बताए। चालू आवको २ महिनामा ५ हजार २४५ वटा सवारीलाई ट्राफिक कारबाही गरी ४० लाख ९२ हजार जरिवाना राजस्व संकलन गरेको उनको भनाइ छ। सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरी एक्लैले चाहेर मात्र नहुने भन्दै उनले सबै सरोकारवाला पक्षले सहयोग गर्नुपर्ने बताए।