मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष ६ बुधबार १o:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न, सबै सांसदले गरे मतदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार १o:१७:oo

सांसद माया राईले गरिन् अस्पतालबाटै मतदान 

निर्धारित समयभन्दा ४५ मिनेट ढिलाे सुरु भएको कांग्रेस संसदीय दलको निर्वाचन सकिएको छ । निर्वाचनमा कांग्रेसका नवनिर्वाचिन ८९ सांसदले मतदान गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयपरिसरमा मतदानकाे व्यवस्था गरिएकाे थियाे । 

सांसद माया राई सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकाले उनको मतदानका लागि निर्वाचन समिति सदस्य अस्पतालमा पुगेर मतदानमा सहभागी गराएका थिए । निर्वाचन समिति सदस्य प्रकाश रसाइलीका अनुसार अस्पताल भर्ना भएकी मायालाई मतदानमा सहभागी गराउन निर्वाचन समितिका तर्फबाट सूर्य भट्टराई र दुवै उम्मेदवारका प्रतिनिधि अस्पतालमा पुगेर मतदानको व्यवस्था मिलाइएकाे हाे । 

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सांसद निर्वाचित भएका थिए । यिनै नवनिर्वाचित सांसदले संसदीय दलको नेता छान्न मतदान गरेका हुन् । 

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात् आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ ।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का हुन् । यसैगरी, महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल हुन् । 

आरजु राणा र मञ्जु खाणले नियम तोडे

सांसद आरजु राणा र मञ्जु खाणले मतदानस्थलमा मोबाइल लान नपाउने सहमतिविपरीत मोबाइल लगेर नाैजनाले मतदान गरिरहेको मतपत्रको समेत फोटो आउने गरी फोटो खिचेपछि केही समय विवाद भएको थियो । 

फोटो खिचेपछि इतर समूहका सहमहामन्त्री जीवन परियारले आपत्ति जनाएका थिए । यो विषयले केही समय विवादसमेत भएको थियो । निर्वाचन सुरु हुनुअघि मोबाइल लान नपाउने सहमति भएको थियो । 

बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयपरिसरमा मतदानको व्यवस्था गरिएको थियो, तर मतदानका क्रममा सांसदलाई मोबाइल साथमा लैजान दिने वा नदिने भन्ने विषयमा विवाद हुँदा  बिहान ८:४५ बजेबाट मतदान सुरु भएको थियो ।