१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ६ बुधबार o९:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंकहरूले घटाउन थाले मार्जिन कर्जा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार o९:१९:oo

बैंक तथा वित्त कम्पनीले मार्जिन कर्जा घटाउँदा विकास बैंकहरूले बढाए, ब्रोकरबाट पाइने व्यवस्था अझै अन्योलमा

बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिने कर्जा (मार्जिन नेचर कर्जा)मा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै यस्तो कर्जामा गिरावट आएको हो । चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा बैंक वित्तीय संस्थाले सेयर धितो कर्जामा कुल ७५ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा २५ अर्ब ९९ करोड रुपैयाँले कम हो । गत आवमा एक खर्ब एक अर्ब ९५ करोड रुपैयाँको यस्तो कर्जा प्रवाह भएको थियो । गत असोजसम्ममा बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३३ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका थिए ।

केन्द्रीय बैंकले सेयर धितो कर्जामा सीमा तोक्ने तथा जोखिमभार बढाएपछि सेयर कारोबारीले लिने कर्जामा गिरावट आएको हो ।  गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट एक ग्राहक सीमा अधिकतम चार करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था गरेको थियो ।

यस्तो कर्जाको सीमाभन्दा माथि भएको ऋणीले कर्जा भुक्तान समय वा एक वर्षभित्र सीमाभित्र ल्याइसक्नुपर्ने व्यवस्थासमेत गरेको थियो । यो सीमा हटाउन माग गर्दै सेयर कारोबारीले चर्काे दबाब दिएपछि चालू आवको मौद्रिक नीतिले चार करोडको सीमालाई त हटायो । तर, सेयर धितो कर्जाको जोखिमभार बढाएर १५० प्रतिशत कायम गरेको छ । जसले गर्दा यस्तो कर्जामा आकर्षण घट्दै गइरहेको छ । 

चालू आवको कात्तिकसम्मका वाणिज्य बैंकहरूको सेयर धितो कर्जा ५९ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ । गत असोजमा बैंकहरूको यस्तो कर्जा ६० अर्ब ३४ करोड ८० लाख रुपैयाँ रहेको थियो । त्यस्तै, फाइनान्स कम्पनीहरूले कात्तिकसम्ममा यस्तो कर्जा तीन अर्ब ८४ करोड ५० लाख रुपैयाँ प्रवाह गरेका छन् । यो कर्जा रकम असोजको तुलनामा २६ करोडले कम हो । गत असोजसम्ममा फाइनान्स कम्पनीहरूको कुल मार्जिन कर्जा तीन अर्ब ८७ करोड रुपैयाँ थियो ।

विकास बैंकले बढाए मार्जिन कर्जा
कात्तिक महिनामा विकास बैंकहरूले मार्जिन कर्जा बढाएका छन् । कात्तिकसम्ममा विकास बैंकहरूले यस्तो कर्जा १२ अर्ब २० करोड ४० लाख रुपैयाँ प्रवाह गरेका छन् । यो कर्जा रकम असोजको तुलनामा नौ करोडले बढी हो । गत असारसम्म यस्तो कर्जा ११ अर्ब ७७ करोड रुपैयाँ मात्रै थियो ।    

सेयर लगानीकर्ताले पनि वाणिज्य बैंकबाट सेयर धितो कर्जा कम लिन थालेको बताएका छन् । वाणिज्य बैंकहरूबाट यस्तो कर्जा कम लिने र अन्य वित्तीय संस्थाहरूबाट लिने गरेको उनीहरूले बताएका छन् । 

पछिल्लो समय तरलताको समस्या भए पनि वाणिज्य बैंकहरूले सेयर धितो कर्जा भने दिइरहेको सेयर लगानीकर्ता छोटेलाल रौनियारले बताए । तर, प्रक्रियागत सहजताका लागि विकास बैंकबाट यस्तो कर्जा लिइरहेको हुन सक्ने उनको अनुमान छ । उनले भने, ‘बैंकले कर्जा दिइरहेको छ । तर, वाणिज्य बैंकको तुलनामा विकास बैंकमा कर्जा लिन सहज भएकाले पनि त्यतातिर बढेको अनुमान गर्न सकिन्छ ।’  

विगतमा उच्च मात्रामा मार्जिन कर्जा लिने गरेकोमा अहिले राष्ट्र बैंकको कडाइपछि कम हुँदै गएको नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । ‘सेयर मार्जिन कर्जामा ४–१२ करोडको क्याप लागेदेखि नै यसको दर घटेको थियो,’ उनले भने, ‘त्यसमा पनि तरलताको चापलगायत समस्याका कारण स–साना मात्रामा ऋण लिएर कारोबार गर्नेहरू विकास बैंकतर्फ ट्रान्सफर भएका हुन सक्छन् ।’  धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कर्जा प्रवाह गर्ने भनिए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

ad
ad
ad
ad