१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७९ पौष ५ मंगलबार १३:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बाक्सिला बजार आगलागी : पाँच घर जलेर नष्ट हुँदा पाँच करोडको क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार १३:३९:oo

खोटाङको केपिलासगढी गाउँपालिका– ४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु. पाँच करोडबराबरको क्षति भएको छ। स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँचवटा घर तथा दर्जनभन्दा बढी पसल जलेर नष्ट हुँदा रु. चार करोड ९९ लाख ३३ हजारबराबरको क्षति भएको हो।

आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरूपमा जलेर नष्ट भएको हो। उक्त आगो नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काउनुपरेको थियो। परम्परागत रूपमा एक–आपसमा जोडेर ढुंगामाटो तथा काठ प्रयोग गरेर बनाइएको जस्तापाताको छाना भएको घरमा लागेको आगो स्थानीय बासिन्दा र प्रहरीले करिब चार घन्टा लगाएर नियन्त्रणमा लिएका थिए।

आगलागीमा दीपकको तीनतले घर तथा घरमा भएकाे नगद रु. एक लाख, पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु. ५४ लाख ८५ हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ। सोही घर भाडामा लिएर पसल गर्ने रत्ना गुरुङको नगद रु. ७५ हजारसहित पसललगायत बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा रु. १३ लाख ७२ हजार क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।  

यस्तै, रमेशको तीनतले घर, घरमा भएको नगद रु. एक लाख, टेलरलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु. ७१ लाख नौ हजारबराबरको क्षति भएको छ। शुभराजको तीनतले घर भाडामा लिएर गाउँपालिका प्रमुख समीर राईले सञ्चालन गरेका कपडा, किराना तथा पुस्तक पसल, नगद रु. दुई लाखलगायतका सामग्री जलेर नष्ट हुँदा रु. एक करोड २५ लाख क्षति भएको छ।

सोही घरमा सञ्चालित इन्द्रा राईको होटेल जलेर नष्ट हुँदा रु. सात लाख ५० हजारबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। शुभराज घर भाडामा दिएर काठमाडौं बस्दै आएका छन्।

यसैगरी, अकबरको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जल्दा रु. ६३ लाख क्षति भएको जनाइएको छ। सोही घरमा सञ्चालित नेपाली कांग्रेस गाउँपालिका समितिको कार्यालय जलेर नष्ट हुँदा रु. दुई लाखबराबरको क्षति भएको कांग्रेसले जनाएको छ।

यस्तै, डिल्लीकुमारको तीनतले घर, नगद रु. ५० हजार, भाँडा तथा कपडा पसल जल्दा रु. एक करोड ४१ लाख ७७ हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ। सोही घरमा डिल्लीकुमारको छोरा पवन श्रेष्ठले सञ्चालन गर्दै आएको भाँडा पसल र नगद रु. ४० हजार जल्दा रु. २० लाख ४० हजारबराबरको क्षति भएको छ।

बाक्सिला बजारमा आगलागी हुनुको कारण अहिलेसम्म यकिन हुन नसकेको प्रहरीले जनाएको छ। आगलागीमा ठूलो मात्रामा धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति हुनबाट जोगाइएको प्रहरी प्रमुख प्रनाउ मुकारुङले जानकारी दिए।

आगलागीपीडितलाई तत्काल पुनर्स्थापना गर्दै राहत प्रदान गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको छ। घटनालगत्तै गाउँपालिकाका उपप्रमुख गुरुराज राईको अध्यक्षतामा बसेको बैठकले आगलागीपीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन संघीय सरकार, प्रदेश सरकारलगायतका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो।

आगलागीपीडित परिवार अहिले आफन्तका घरमा आश्रय लिएर बसेका छन्। आगलागीपीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका लागि विभिन्न निकायसँग पहल भइरहेको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए।

ad
ad
ad
ad