मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Wednesday, 18 December, 2024
र्‍यान जिकग्राफ
२o७९ पौष ३ आइतबार o९:२५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अर्नाल्ट विश्वकै धनी हुँदा खुसी मनाउनुपर्ने कारण छैन 

Read Time : > 2 मिनेट
र्‍यान जिकग्राफ
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार o९:२५:oo

देश/विदेश

अर्नाल्टको उदयले अमेरिकामा पुँजीपति वर्गले अकुत धन कमाएको १८७० देखि १९०० सम्मको समय अर्थात् सुनौलो कालको पुनरावृत्तिको झल्को दिन्छ

र्‍यान जिकग्राफ  

स्लाको सेयर मूल्यमा भारी गिरावट आउँदा एलोन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति रहेनन् । फ्रान्सेली लक्जरी कम्पनी लुई भिउटन मोइट हेनेसी (एलभिएमएच)का प्रमुख कार्यकारी निर्देशक बर्नार्ड अर्नाल्टले संसारको सबैभन्दा धनी व्यक्तिको अपमानजनक उपाधि ग्रहण गरेका छन् ।

केही उदारवादी र वामपन्थीले मस्कको सेयर मूल्यमा आएको गिरावटको समाचारलाई उत्सवका रूपमा मनाएका छन् । यो उत्सव सामाजिक सञ्जालका भित्तामा जोडदार रूपमा चलिरहेको छ । एट्लान्टिक काउन्सिलका एक वरिष्ठ शोधकर्ताले ‘फ्रान्सेली कम्पनीले अमेरिकी दिशाविहीन हाई टेक (प्रविधि धनाढ्य)लाई पराजित गर्‍यो’ भन्दै ट्विइट गरेका छन् ।

मस्कको व्यवसायको सेयर मूल्यमा आएको कमीलाई लिएर छाएको उत्साहलाई केही हदसम्म तार्किक मान्न सकिन्छ । हाई टेकका जोकरजस्ता मस्कले यही अक्टोबरमा ट्विटरको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार ग्रहण गरेदेखि नै सन् ६० देखि ८० का दशका (जेन–एक्स) डोनाल्ड ट्रम्पले जस्तै व्यहोरा देखाएका छन् । मंगल ग्रहलाई उपनिवेश बनाउने लक्ष्य राखेका यी अराजक अर्बपतिले मंगल ग्रहजत्रै आकारको अहंकार बोकेका छन् । उनी व्यापारिक एवं व्यक्तिगत निर्णय बजारको स्यालहुइँयाका आधारमा गर्छन् । ठिकविपरीत अर्नाल्ट कलात्मक सिर्जना खरिद गर्छन्, पार्टी आयोजना गराउँछन् । आगलागीले तहसनहस भएको फ्रान्सको ऐतिहासिक सम्पदा नोट्रे ड्यामको पुनर्निर्माणमा सहयोग गरिरहेका छन् । नकि मस्कले झैँ इन्टरनेटमा तमासा गरिरहेका छन् । 

तर अर्नाल्टको प्रशंसा गर्न हतारो नगराैँ । जसरी ट्रम्पको प्रवृत्तिलाई देखेर उदारवादी तप्काले ‘शालीन पुरातनपन्थी’ जर्ज डब्लु बुसलाई प्रशंसा गर्ने गल्ती गरेका थिए, त्यसरी नै पुरातन युरोपका यी सम्भ्रान्तको प्रशंसा गर्नु गल्ती हुन सक्छ ।

अर्नाल्ट उत्तरी फ्रान्सको धनी परिवारमा हुर्केका थिए, तर सन् १९८१ मा फ्रान्स्वा मिटर्रान्ड पहिलो समाजवादी राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि त्रसित भएर ३२ वर्षको उमेरमा रोनाल्ड रेगनको वालस्ट्रिटवाला अमेरिकामा भागेका थिए । यो स्वनिर्वासन केवल दुई वर्ष चल्यो । उनी सन् १९८३ मा फ्रान्स फर्किए र डायर फेसन हाउसको स्वामित्व लिएको बुस्याक एम्पायर खरिद गरे ।

सन् २०१२ मा अर्नाल्टले वृद्धि भएको करको छली गर्न मुलुक छाड्ने योजना बनाएका थिए । तर, मिडियाका कारण लज्जित भई मुलुक छोड्न सकेनन् । (मिडियाले उनलाई पहिले नै व्यापारिक मामिलामा अत्यधिक निर्दयी भन्दै ‘टर्मिनेटर’ अर्थात् संहारकर्ताको संज्ञा दिएका थिए । स्मरण होस्, उनले करिब नौ हजार श्रमिकलाई कामबाट निकालेका थिए ।) र, करछली गर्न बेल्जियमको नागरिकता लिन खोज्दा उनलाई मिडियाले गद्दार नै करार गरेको थियो । 

तस्बिर : न्याथन लायनर ब्लुमबर्ग 

अहिले एलभिएमएचको स्वामित्व यिनै ७३ वर्षीय आर्नाेल्ट र उनका पाँच सन्तानमा छ । यो बहुराष्ट्रिय निगमले अत्यधिक महँगो लक्जरी फेसन तथा कस्मेटिक उत्पादन गर्छ । त्यसबाहेक क्रिस्टियन डायर, मार्क ज्याकोब्स र सेफोरामा पनि यसैको स्वामित्व छ । एलभिएमएचका स्वामित्वमा रहेका ७० कम्पनीमा ३० लाख डलर पर्ने डुंगा निर्माण गर्ने बेलायती कम्पनी र सेतो सुनले बेरिएको हजार डलरको स्याम्पियन उत्पादक पनि पर्छन् ।    

अर्नाल्टको कमाइले उचाइ लिँदै गएको छ किनभने उनले धनाढ्यले खरिद गर्ने विलासी मालसामान एवं सेवामा एकाधिकार जमाउँदै आएका छन् । एलभिएमएचले सन् २०१९ मा लक्जरी होटल बेलमोन्डलाई ३२ लाख डलरबराबर घाटा गराएको थियो । स्मरण रहोस्, बेलमोन्डले दक्षिणी पेरुको माचु पिचु सिटाडेलभित्रको एक मात्र होटलसहित ४६ वटा होटलको व्यवस्थापन गर्छ । यही एलभिएमएचले अमेरिकाको गहना कम्पनी टिफानी एन्ड कोलाई एक करोड ५८ लाख डलरमा अधिग्रहण गरेको थियो र यसलाई हालसम्मकै सबैभन्दा ठूलो लक्जरी ब्रान्ड अधिग्रहणका रूपमा लिइन्छ । 

विश्व बैंकले कोभिड महामारीको समयमा अतिशय सम्पत्ति बढेर धनाढ्यहरू इतिहासमै सबैभन्दा धनी भएको तथ्य दर्ज गरेको छ । त्यसबखत अर्नाल्ट विश्वका दश धनी व्यक्तिमध्ये एक थिए । यो अवधिमा उनका निगमको सात खरब डलरको सम्पत्ति १५ खरबबराबर बनाएका थिए । अर्थात् हरेक एक सेकेन्डमा १५ हजार डलर वा हरेक दिनमा एक अरब ३० करोड डलरबराबर सम्पत्ति आर्जेका थिए । विस्तृत रूपमा हेर्ने हो भने १० लाख डलरभन्दा बढी सम्पत्ति भएका एक प्रतिशत मानिसका हातमा विश्वका लगभग आधा जनसंख्या (४५ दशमलव आठ प्रतिशत) बराबरको सम्पत्ति छ । त्यसो भए यी अरबपति अवैध ढंगले कमाएको धनले के गर्छन् ? यिनले अन्तरिक्षमा उडान, निजी प्रहरी बल खरिद र त्रासद राजनीतिक व्यवस्थाको सिर्जना गर्नुका अलावा पुरातात्विक महत्वका वस्तु खरिद गर्छन् । अर्नाल्टले दुई करोड डलरको हिराको हार खरिद गरेका थिए । 

जे होस्, अर्नाल्टको उदयमा उत्सव मनाउनुपर्ने कुनै कारण छैन । उनी मस्कले जस्तो रबैया प्रदर्शन गर्दैनन् । न उनी ट्विटरमा मस्कले झैँ वामपन्थीलाई खेद्छन् । तर, अर्नाल्टको उदयले अमेरिकामा पुँजीपति वर्गले अकुत धन कमाएकोे सन् १८७० देखि १९०० सम्मको सुनौलो कालको परिष्कृत पुनरावृत्तिको झल्को दिन्छ । 

अर्नाल्ट स्वयं अठारौँ शताब्दीको इतिहास उद्धृत गर्न मन पराउँछन् । फोब्र्सको प्रोफाइलमा उनले आफूलाई ‘भर्साइल्सदेखि मारी एन्टोइनेट’को फ्रान्सेली विरासतसँग जोडिएको छु भन्ने लेखेका छन् । यस अवस्थामा भर्साइल्सको तानाशाहलाई ठेगान लगाउने क्रान्ति–युग जेकोबिनलाई ब्युँताउनुपर्ने हुन्छ । त्यति सकिँदैन भने कम्तीमा फ्रान्सेली पत्रिका लिबरेसनजत्तिको बन्नुपर्छ । स्मरण रहोस्, लिबरेसनले आफ्नो पहिलो पृष्ठमा अर्नाल्टलाई ‘भाँण्डमा जाऊ ए धनी मूर्ख’ शीर्षकसहित समाचार छापेको थियो । 

(जिकग्राफ एटलान्टा आधारित पत्रकार हुन्) ज्याकोबिन