धेरै पहिले एउटा सानो गाउँमा एकजना पाउरोटी बनाएर बेच्ने व्यापारी (बेकर) र एउटा किसान बस्थे । यी दुईले एकअर्कालाई आ–आफ्ना उत्पादन दैनिक बेच्थे । व्यापारीले किसानलाई पाउरोटी बेच्थ्यो भने किसान पनि व्यापारीलाई आधा किलो मख्खन बेच्थ्यो । एक बिहान बेकरलाई मख्खनको तौल सही छ कि छैन भनेर हेर्ने इच्छा जाग्यो ।
उसले मख्खन तौलियो । आश्चर्य, मख्खनको तौल आधा किलोभन्दा कम थियो । उसलाई किसानले तिरेको मूल्यबराबरको मख्खन दिएको थिएन । यो अन्यायबाट रिसाएको बेकरले किसानलाई अदालतमा पुर्यायो । सुनुवाइका क्रममा न्यायाधीशले किसानलाई मख्खन कसरी तौलन्छौ भनेर सोधे । ‘श्रीमान् ! म एउटा अनपढ निमुखा किसान हुँ । मलाई सही मापनको तरिका पनि थाहा छैन हजुर । म त एउटा पुरानो तरिका अपनाउँछु, नाप्न तौलन,’ उसले भन्यो ।
‘त्यसो भए तिमी मख्खन कसरी तौलन्छौ त ?’ न्यायाधीशले सोधे । किसानले उत्तर दियो, ‘श्रीमान् ! यी बेकरले मेरो फार्मबाट मख्खन किन्न थालेको धेरै भयो । म पनि उतिबेलैदेखि उनीबाट दैनिक आधा किलो पाउरोटी किनिरहेको छु । हरेक दिन उनले मकहाँ ल्याइदिएको पाउरोटीलाई तराजुको एकातर्फ राख्छु र सोही तौलबराबरको मख्खन उनलाई दिन्छु । यसमा मेरो दोष छैन हजुर । दोष भए बेकरकै छ ।’ कर्मको फल निश्चित छ । तपाईंअरूप्रति दयालु र निष्पक्ष हुनुहुन्छ भने मात्रै अरू पनि तपाईंप्रति दयालु र निष्पक्ष हुन्छन् ।