१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
समाचार डिजिटल संस्करण

जनता आवास : चिसो बढ्यो, अझै बनेन विपन्नको घर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:३o:oo

सिराहाको औरही गाउँपालिका– १ हरकट्टीकी १२ वर्षीया कल्पना सदा बाँसले बनाएको अस्थायी झुप्रोमा परिवारका साथमा बस्दै आएकी छिन्। एकमहिने बहिनीसहित झुप्रोमा बस्दै आएको उनको परिवारलाई शीतलहरमा त्यहीँ बसिरहन जोखिमयुक्त छ। जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण हुने भन्दै भएको फुसको घर एक वर्षअघि भत्काए पनि नयाँ घर कहिले पाइन्छ यो परिवारलाई थाहा छैन।

यो मुसहर बस्तीकै दिनाभद्री मन्दिरछेउमा झुप्रोमा बस्दै आएकी ६५ वर्षीया अरुहुलिया सदालाई पनि चिसो बढ्दै गर्दा चिन्ताले सताउन थालेको छ। नयाँ घर पाउने आसमा उनलाई फुसको पुरानो घर भत्काउन लगाइयो। ‘हामीलाई हेर्ने कोही भएनन्। जसोतसो वर्षा त कट्यो। अब चिसो बढ्न थाल्यो। ओत लाग्ने घर बनेन,’ अरुहुलियाले नयाँ पत्रिकासँग भनिन्।

उनीहरूजस्तै फुसको घर भत्काएका रामसुफल सदाय, फगुनिया सदाय, छट्टु सदायलगायत अन्य कैयौँको घर निर्माण भएको छैन। नयाँ घर बन्ने आसमा पुराना घर भत्काएका उनीहरूलाई अहिले शीतलहरले ज्यानै लिने हो कि भन्ने चिन्ता बढेको छ। जनता आवासअन्तर्गत यस बस्तीमा ३१ वटा घर निर्माणको चरणमा छन्। घर निर्माण पूरा नहुँदा गत वर्षको चिसो र झरी जेनतेन झेलेका उनीहरूलाई यस वर्षको चिसोमा कसरी जोगिने भन्ने चिन्ता थपिएको छ। तीन लाख ३२ हजार रुपैयाँ लागतमा दुईवटा पक्की कोठा र जस्तापाताको छानोसहित निर्माण सुरु गरिएको घर निर्माण पूरा नहुँदा विपन्न मुसहर परिवारलाई उल्टै सास्ती थपिएको छ।

बर्सेनि सिराहासहित तराई मधेसका जिल्लामा शीतलहरबाट कैयौँ विपन्न गरिब नागरिकको ज्यान जाने गरेको छ। यस्तोमा सरकारीस्तरबाटै सरकारी काममा ढिलाइ हुँदा गरिब परिवारले सास्ती र जोखिम मोल्नुपर्ने बाध्यता रहेको अधिकारकर्मी दीपेन्द्र यादवले बताए। घर निर्माण निर्धारित समयमै सम्पन्न गर्नुपर्ने भन्दै यादवले सरकारी कार्यालयको ढिलासुस्तीप्रति प्रदेश सरकारले चासोका साथ निगरानी गर्नुपर्ने बताए।

‘मत माग्न पुगेकाहरूले वास्ता गरेनन्’
स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका क्रममा यो मुसहर बस्तीमा विभिन्न राजनीतिक दलका उम्मेदवार पुगेका थिए। तर, विभिन्न प्रलोभन बाँडेका उनीहरूमध्ये जितेकाहरूले समेत शीतलहर सुरु हुनै लाग्दा आवास निर्माणमा कुनै चासो देखाएका छैनन्।

मंसिर ४ मा भएको निर्वाचनमा सिराहा क्षेत्र नम्बर २ मा जसपाका राजकिशोर यादव र २ (क)मा जनमत पार्टीका सञ्जययकुमार यादव निर्वाचित भएका छन्। ‘मतदातासँग मतको अपेक्षा गर्ने नेताले सामान्य जिम्मेवारी पूरा गरेको भए यो चिसोमा गरिबको घर निर्माण पूरा हुने थियो,’ स्थानीय युवा अभिनन्दन यादवले भने, ‘वर्षदिनदेखि घर बन्दै छ, तर पूरा भएको छैन।’

घर बनाउन खटिएका स्थानीय निरञ्जन पासमान सहरी विकास कार्यालयले बेवास्ता गर्दा निर्माणमा ढिलाइ भइरहेको बताउँछन्। ‘कुन गुणस्तर, कस्तो सामग्री प्रयोग भएको छ, त्यसको निगरानीसमेत भएको छैन,’ पासमानले भने।

ad
ad