मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष १ शुक्रबार ११:५२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

छत्रकोट सुन्तला महोत्सव हुने

Read Time : > 1 मिनेट
२०७९ पौष १ शुक्रबार ११:५२:००

अनमोल कृषक समूहको आयोजनामा ७ पुसमा छत्रकोट सुन्तला महोत्सव हुने भएको छ । महोत्सवमा सुन्तलाको प्रदर्शनी, बगैँचा अवलोकन र स्थानीय पञ्चेबाजा र लाखेनाच प्रस्तुत गरिने भएको हो ।

सुन्तला कृषकलाई उत्पादनमा थप उत्साहित बनाउँदै आन्तरिक पर्यटनमा समेत टेवा पुर्‍याउने उद्देश्य सुन्तला महोत्सवको आयोजना गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले बताए । पालिकाभित्र सुन्तला र उखुको उत्पादन निकै राम्रो र ती स्थान प्रमुख सडकबाट नजिक भएकाले कृषि पर्यटनका रचनात्मक काम अगाडि बढाइएको पाण्डेयको भनाइ छ ।

त्यसमध्येको एउटा काम सुन्तला महोत्सव रहेको बताउँदै पालिकाले महोत्सवका लागि आर्थिक सहयोगसँगै ठूलो मात्रामा सुन्तला उत्पादन गर्ने कृषकलाई सम्मान गर्ने कार्यक्रम रहेको पाण्डेयले बताए ।

अनमोल कृषक समूहका अध्यक्ष तथा अगुवा कृषक विष्णुप्रसाद पन्थका अनुसार छत्रकोट गाउँपालिका वडा नं. १, २, ३ र ४ मा सुन्तला उत्पादन बढिरहेको छ । गत वर्ष छत्रकोट गाउँपालिकाबाट दुई हजार तीन सय दुई क्विन्टल अर्थात् एक करोड ३५ लाख ७९ हजारको सुन्तला बिक्री भएको पन्थले बताए । वडा नं. ३ मा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ । पन्थका अनुसार वडा नं. ३ मा मात्रै अहिले एक करोड २७ लाख ७५ हजारको सुन्तला बिक्रीका लागि ठेक्का भइसकेको छ । 

गाउँपालिकाभरबाट एक करोड ६१ लाख ६५ हजारको सुन्तला अहिले बिक्री गरिने पन्थले बताए । पालिकाका चार वडामा १५ हजार ६ सय ६३ बोट फल्ने र हुर्कंदै गरेका १६ हजार पाँच सय ५८ सुन्तलाका बिरुवा रहेका छन् । कागती चार हजार सात सय २३ फल्ने र हुर्कंदै गरेका १२ हजार ६ सय बिरुवा रहेका छन् । छत्रकोटमा २० हजारदेखि आठ लाखसम्मका सुन्तला बिक्री गर्ने कृषक रहेका छन् । विष्णुप्रसाद पन्थले दुई लाख र डिल्लीराज पन्थले आठ लाखका सुन्तला वार्षिक रूपमा बिक्री गर्दै आएका छन् ।