उद्योगकै बिउ गलत परेपछि खेतमै सुक्न थाल्यो उखु
सडक र पुल नहुँदा कञ्चनपुरका उखु किसानलाई उद्योगसम्म ढुवानीमा समस्या
सर्लाहीका तीनवटै चिनी उद्योग उखु क्रसिङको तयारीमा जुटेका छन् । जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले यस सिजनको क्रसिङ तयारी पूरा गरेको जनाएको छ । बुधबार उद्योगले डोगा पूजा गरेसँगै उद्योगको क्रसिङ तयारी पूरा भएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए । स्थानीय, अगुवा उखु किसान उद्योगका कर्मचारीलगायतको उपस्थितिमा उद्योगले भव्य समारोहका बीच डोगा पूजा गरेको हो ।
पुस पहिलो हप्ताबाट क्रसिङ सुरु गर्ने तयारीसहित उद्योगले उखु संकलन सुरु गर्ने तयारी गरिरहेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । यस वर्ष उद्योगले ३५ देखि ४० लाख क्विन्टल हाराहारीमा उखु क्रसिङ गर्ने लक्ष्य लिएको उनको भनाइ छ । यसैबीच जिल्लाको गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योगले पनि सञ्चालन तयारी पूरा गरेको जनाएको छ । उद्योगले तयारी पूरा गरेर किसानबाट उखु संकलनसमेत सुरु गरेको उद्योगको उखु प्रबन्धक पवनकुमार सिंहले जानकारी दिए । उखु प्रबन्धक सिंहका अनुसार उद्योगले किसानलाई धमाधम चलानी वितरण गरिरहेको छ ।
यस्तै, धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले पनि यस सिजनको क्रसिङ गर्ने तयारी गरेको छ । बुधबार यस उद्योगले पनि डोगा पूजा गरेको हो । विगत लामो समय किसानको भुक्तानी नदिएर बन्द रहेको उद्योग नयाँ व्यवस्थापनबाट सञ्चालनको तयारी भएको हो । गत सिजनमै यस पहिलाका लगानी कर्ता राकेश अग्रवालबाट उद्योग खरिद गरेका नयाँ व्यवस्थापन समूहले सञ्चालन गर्ने तयारी गरेका थिए । तर, अन्तिम समयमा प्राविधिक समस्याले सोचेअनुसार नभएको उद्योगका उखु प्रबन्धक शशिकान्त चौधरीले जानकारी दिए ।
उखु प्रबन्धक चौधरीका अनुसार उद्योगले गत सिजनको अन्तिममा ४० हजार क्विन्टल उखु क्रसिङ गरेर बन्द गरेको थियो । आगामी पुस पहिलो हप्ताबाट सञ्चालनको तयारी गरेको उद्योगले ५ देखि १० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
‘यसभन्दा पहिलाको बिग्रिएको साख बनाउनुुपर्ने चुनौती पनि हामीमा छ,’ उनले भने, ‘गत सिजनको सबै पैसा किसानलाई दिइसकेका छौँ । पहिलाको साहुले रोकेको बाँकी भुक्तानीसमेत हामीले मिलाइदिएका छौँ । अब किसानलाई सुविधा हुने गरी उद्योग सञ्चालन हुनेछ ।’ किसानले उद्योगसँगै राज्यबाट पाउने अनुदानसमेत समयमा पाउन नसक्दा उखुखेतीबाट पलायन हुनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
उद्योगकै बिउ गलत परेपछि खेतमै सुक्न थाल्यो उखु
यस्तै, बारामा चिनी उद्योगकै सिफारिसमा लगाएको बिउ नै गलत परेपछि बाराका सयौँ किसानको उखु खेतमै सुक्न थालेको छ । कलैया उपमहानगरपालिका वडा नं. २४ श्रीपुरका वीरेन्द्र गोसाईले २ बिघा १५ कठ्ठा जमिन वार्षिक १ लाख रुपैयाँ तिर्ने गरी हुन्डा (भाडा)मा लिएर उखुबाली लगाए । उखुबाली बिक्री गर्ने वेला उखु खेतमै सुक्यो ।
प्रतिक्विन्टल ६ सय ८० रुपैयाँमा बारामा रहेको रिलायन्स सुगर मिल्ससँग ०२३८ जातको बिउ खरिद गरेर लगाएका उनको बिउ नै कमजोर प¥यो । उनले भने, ‘बिउ नै कमजोर परेका कारण मजस्तै हजारौँ किसानको उखुबाली खेतमै सुकेर नष्ट भयो । भदौको अन्तिम साताबाट सुक्न थालेको उखु अहिले पूरै सुक्न थाल्यो ।’
‘अरू विभिन्न जातका बिउ विस्थापन गर्दै चिनी मिलले जबरजस्ती ०२३८ जातको बिउ भिडायो । राम्रै होला भनेर रोपियो । तर, बर्बाद बनायो,’ अर्का उखु किसान रमेश घिमिरेले बताए । ‘मेरो ४ बिघा बाली उठाउनैनपर्ने गरी सुकेर नष्ट भयो,’ उनले भने । यसको क्षतिपूर्ति चिनीमिलले दिनुपर्छ,’ घिमिरेले भने ।
चिनीमिल सञ्चालन गर्ने समय पुग्नै लाग्दा किसानका हजारौँ बिघा उखुबाली खेतमै सुकेपछि किसान चिन्तामा परेका छन् । किसानले आइतबार सुगरमिल पर्ने स्थान कलैया उपमहानगरपालिका २४ श्रीपुरमा पिलुवा–कलैया सडकखण्ड ३ घन्टा अवरोध गर्दै क्षतिपूर्तिको समेत माग गरेका छन् ।
सडक र पुल नहुँदा कञ्चनपुरका उखु किसानलाई उद्योगसम्म ढुवानीमा समस्या
कञ्चनपुरका दुई ठूला चिनी उत्पादक उद्योगले उखु खरिद सुरु गरेको छ । चिनी उत्पादनका लागि उद्योगले अनिवार्य कच्चा पदार्थ उखु खरिद सुुरु गरे पनि सीमावर्ती र ग्रामीण भेगका स्थानीय किसानलाई खेतको उखु कसरी उद्योगसम्म पुर्याउने चिन्ताले पिरोलेको छ ।
बेलौरी नगरपालिका–१० शिवनगरको महाकाली सुगर इन्डस्ट्रिज प्रालि र पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा रहेको भागेश्वर सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले मंसिर दोस्रो सातादेखि उखु खरिद सुरु गरे पनि सडक र पुलको पहुँच नभएको किसानलाई कसरी उखु बेच्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । भएका सडक बिग्रिएका, भत्किएका र अस्तव्यस्त रहेका छन् । कतै नदीमा पुल नहुँदा उखु किसान मारमा परेका छन् । खेतमा उखु पाकिसक्यो, छिमेकी गाँउलेहरू उखु बेच्न थाले, तर पुनर्वास, बेलडाँडी र लालझाडीका केही किसान मारमा परेका छन् ।
सडक र पुल नहुँदा तीन पालिका क्षेत्रका स्थानीय उखु उत्पादक किसान मारमा परेका छन् । पुनर्वास नगरपालिका–९ सीताबस्तीका स्थानीय किसान मनु खातीले दोदा नदी झङगालो खोलामा पुल नहुँदा ढुवानी गर्न समस्या भएको बताए । ‘दोदा नदीमा पुल छैन, सडक पनि बिग्रिएका छन्,’ उनले भने, ‘हामीलाई खेतबाट उद्योगसम्म उखु ढुवानी गर्न समस्या भएको छ ।’ आफ्नो ६ बिघा जमिनमा काटेको उखु ढुवानी गर्न समस्या भएको खत्रीले दुखेसो पोखे ।
पुनर्वासका अर्का स्थानीय किसान चन्द्रबहादुर ऐरीले उखु ढुवानीका लागि खोलामा ह्युमपाइप राखे पनि बिग्रिएर समस्या भएको बताए । ‘हामीलाई खेतबाट उद्योगसम्म उखु पुर्याउन मुस्किल भएको छ,’ उनले भने, ‘सडक र पुल नहुँदा हामी किसान जहिल्यै मारमा परेका छौँ ।’