१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Friday, 05 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ पौष १ शुक्रबार ११:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

विराट एक्स्पो सुरु : निजी क्षेत्रको समस्या समाधान गर्न सरकारसँग राष्ट्रपति भण्डारीको आग्रह

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार ११:o२:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा निजी क्षेत्रले भोगिरहेको समस्या पहिचान गरेर समाधान गरिदिन सरकारसँग आग्रह गरेकी छिन् । उद्योग संगठन मोरङले २९ मंसिरदेखि ६ पुससम्म आयोजना गरेको औद्योगिक व्यापार मेला विराट एक्स्पोको उद्घाटन गर्दै उनले उद्योगीहरूले गरेको आग्रहलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले विराटनगर ऐतिहासिक औद्योगिक इतिहास बोकेको मात्र नभएर विराट सम्भावना भएको महानगर पनि भएकाले यसको ऐतिहासिकताको संरक्षण र औद्योगिक विकासका लागि सबैलाई सहकार्य गर्न आग्रह गरिन् । उनले भनिन्, ‘हिजो देशकै पहिलो र ठूलो औद्योगिक नगर आज आफ्नो पहिचानका लागि संघर्षरत छ, यसैले हामी सबैले विराटनगरको विकासमा सहयोग गर्न आवश्यक छ ।’ 

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विकासका लागि राज्य पहिलेजस्तो सिंगल एजेन्ट नरहेकाले अब निजी र गैरसकारी क्षेत्रसँग सरकारले व्यवस्थापक बनेर सहयोग गर्नुपर्नेमा जोड दिए । प्रदेश १ संस्कृति र प्रकृतिको प्रचुर सम्भावना भएको क्षेत्र भए पनि उद्योगधन्दाको आपेक्षाकृत विकास हुन नसक्दा विकासमा ह्रास आउन थालेको उनको भनाइ थियो ।   

उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले देशमा पहिलो उद्योग विराटनगरबाट स्थापना भएकाले त्यसको इतिहास संरक्षण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । उनले स्थानीय औद्योगिक नीति बनाउन र सेज निर्माण गराउन अनि प्रदर्शनीस्थल निर्माण गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 ‘निजी क्षेत्रले भोगेको समस्या सिंगो राष्ट्रको हो’

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सशस्त्र द्वन्द्व, नाकाबन्दी, भूकम्प, लामो लोडसेडिङ र कोभिडको मारसमेत झेलेर भर्खर उकासिन थालेको अर्थतन्त्रले अहिले सबैभन्दा गम्भीर चुनौती झेलिरहनुपरेको बताए । उनले निजी क्षेत्रले भोगिरहेका चुनौती समाधान गर्न पहल गरिदिन राष्ट्रपतिसँग आग्रह गरे ।

अध्यक्ष गोल्छाले भने, ‘अहिले हामीले भोगेको समस्या निजी क्षेत्रको मात्र होइन, समग्र देशको हो, यसैले चालू पुँजी निर्देशिका थाँती राखेर वाणिज्य बैंकहरूको ब्याजदरमा सुधार गर्न सके व्याप्त तरलता हटेर भइरहेको आर्थिक संकुचन फराकिलो बन्दै जानेछ ।’ 

अध्यक्ष गोल्छाले हाल बैंकहरूको व्यवहारले गर्दा बजारमा उत्पन्न तरलताले गर्दा सबै औद्योगिक क्षेत्रमा तीव्र रूपले संकुचन आउन थालेको बताए । उनका अनुसार उद्योग वाणिज्य संघले गरेको सर्वेक्षणअनुसाार हाल निर्माण उद्योगमा ७० प्रतिशत, विद्युतीय कारोबारमा ५५ प्रतिशत, होटेल व्यवसायमा ४० प्रतिशत र पुँजी बजारमा ३८ प्रतिशत संकुचन आइसकेको छ । तरलताले गर्दा डिजेलको खपत पनि २५ प्रतिशत घटिसकेको छ । 

 यस्तो छ विराट एक्स्पो
२९ मंसिरदेखि ६ पुससम्म विराटनगर–१४ मा रहेको डिग्री क्याम्पसको मैदानमा आयोजना भएको सातौँ विराट एक्स्पो विगतमा भन्दा फरक र भव्य भएको एक्स्पोका संयोजक भोलेश्वर दुलालले दाबी गरे । एक्स्पोमा रोबटसँग भेटघाट गर्ने, भिआरबाट पर्यटकीय क्षेत्रको अवलोकन गराउने, माउन्टेन फ्लाइटलगायतको व्यवस्था गरिएको उनले जानकारी दिए । 
एक्स्पोमा कृषि र पर्यटनको छुट्टै पेभेलियन रहेको छ । यसैगरी, प्लास्टिकको रिड्युस, रियुज र रिसाइकल थिममा फेसन पनि आयोजना गरिनेछ । प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । 

विभिन्न क्षेत्रका चार सय ७५ प्रवद्र्धकहरू सहभागी हुने भएकाले नयाँ उद्यम गर्न चाहनेहरूका लागि एक्स्पो अत्यन्तै उपयोगी हुने आयोजकले जनाएको छ । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका उद्योगी–व्यपारीहरूको समेत स्टल रहने विराट एक्स्पो तीन लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको दाबी छ ।

ad
ad
ad
ad