मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर २९ बिहीबार o९:३९:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ब्लडप्रेसर नियन्त्रण गर्न सुधारौँ जीवनशैली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार o९:३९:oo

हेल्थ टिप्स

डा. रोशन झा, फिजिसियन सशस्त्र प्रहरी अस्पताल

मुटुले रगत पम्प गरेर नसाहरूमार्फत यसलाई शरीरका विभिन्न भागमा फैलाउँछ । त्यसक्रममा रगतका नसामा चाप महसुस हुने अवस्थालाई ब्लडप्रेसर भनिन्छ । रगत राम्ररी बग्न नपाएपछि चाप हुन्छ ।  प्रत्येक व्यक्तिमा प्रेसर त हुन्छ नै ।

तर, नर्मलभन्दा कम भयो भने त्यसलाई नराम्रो मानिन्छ । नर्मलभन्दा बढी भयो भने पनि नराम्रो मानिन्छ । सामान्यतः मानिसको ब्लडप्रेसरको स्तर ९०/६० एमएम एचजीभन्दा बढी र १२०/८० एमएम एचजीभन्दा कम हुनुपर्छ । ९०/६० एमएम एचजीभन्दा कम भएको अवस्थालाई लो ब्लडप्रेसर भनिन्छ ।

१२०/८० एमएम एचजीदेखि १३९/८९ एमएम एचजीसम्मको अवस्था प्रि–हाइपरटेन्सन वा उच्च रक्तचाप हुनभन्दा अघिको अवस्था हो । यसभन्दा माथि अर्थात् १४०/९० देखि माथिको अवस्था उच्च रक्तचाप हो, यो अवस्थामा औषधि सेवन गर्नुपर्छ । त्यसैले १२०/८० बाट प्रेसर लेभल बढ्नासाथ जीवनशैली सुधार्न जरुरी छ । 

कारण
ब्लडप्रेसर बढ्नुको मुख्य कारण उमेर हो । ३०–४० वर्षको उमेर कटिसकेपछि शरीरका नसाहरू साँघुरो हुँदै जान्छन् र चाप महसुस हुन्छ । तर, कुनै–कुनै व्यक्तिमा अचानक प्रेसर बढ्न पनि सक्छ । अनिद्रा, खानपान नमिल्दा, धूम्रपान, मद्यपान, रोस्ट आइटम, पिनट, पापड, अचार, सेकुवा बढी खाने व्यक्तिमा प्रेसर बढ्छ । नुनको मात्रा बढी भएको खानेकुरा धेरै खाँदा ब्लडप्रेसर बढ्छ । व्यक्तिले जीवनशैली, खानपान परिवर्तन गर्‍यो भने औषधि सेवन गर्नुपर्दैन । तर, खानपान, जीवनशैली ठीक छ भने पनि प्रेसर १४० भन्दा माथि भयो भने त्यस्तो अवस्थामा प्रेसरको औषधि खानु नै राम्रो हुन्छ । 

नियन्त्रणका उपाय
- नुन धेरै सेवन नगर्ने । 
- सधैँ स्वस्थकर तथा सन्तुलित आहार लिने । तारेको, भुटेको धेरै नखाने ।
- जाडोमा चिसोबाट जोगिने । न्यानो भएर बस्ने । 
- सामान्य व्यक्तिले प्रत्येक महिना प्रेसर जाँँच गर्ने । प्रेसर बढेको रहेछ भने चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने । प्रेसरको औषधि खाइरहेका व्यक्तिले तीन–तीन महिनामा जाँँच गर्ने । 
- तनाव नलिने । 
- नियमित व्यायाम गर्ने ।

यस्ता समस्या हुन सक्छन् : प्रेसर भनेको साइलेन्ट किलर हो । प्रेसरकै कारणले थाहै नपाई कुनै पनि वेला पक्षाघात, प्यारालाइसिस, हर्टअट्याक हुन सक्छ । मिर्गौलालाई असर गर्न सक्छ । रगतका नसाहरूमा खराबी गर्न सक्छ । त्यसैले प्रेसरलाई साइलेन्ट किलर भनिएको हो । यसले लक्षण देखा नपरी हानि गर्न पनि सक्छ । 

जाडोमा विशेष जोखिम : जाडोयाम सुरु भएसँगै ब्लडप्रेसर बढ्ने गर्छ । जाडोयाममा विशेषतः चिसोले रगतका नसाहरू खुम्चिने हुन्छ । जसका कारण प्रेसर बढ्छ । विशेषगरी मंसिर, पुस, माघ महिनामा प्रेसर बढेर पक्षाघात हुने, हर्टअट्याक हुने, प्यारालाइसिस हुने जोखिम धेरै हुन्छ । 

बुझ्नैपर्ने कुरा
ब्लड प्रेसरको औषधिको बानी परेपछि सधैँ खाइरहनुपर्छ र छुट्यो भने नराम्रो हुन्छ भन्ने भ्रम कतिपयमा छ । यस्ता भ्रमको पछि लाग्दा समस्यामा परिन्छ ।चिकित्सकले आवश्यकता हेरेर औषधि दिने गरेका हुन्छन् । प्रेसर कम हुँदै गएपछि चिकित्सकले नै औषधि बन्द गरिदिने गर्छन् । प्रेसर हाई छ भने औषधिले यसलाई नियन्त्रण गर्छ । त्यसैले चिकित्सकलाई देखाएर उपचार थाल्नुपर्छ । कुन व्यक्तिलाई कुन औषधि चलाउने भन्ने चिकित्सकले निर्धारण गर्छन् । व्यक्तिको उमेर, अन्य परीक्षण जस्तै– मिर्गौला, मुटुको अवस्था, मुटुको चाल आदि हेरेर औषधि दिने गरिन्छ । कतिपय प्रेसरको औषधिले मिर्गाैलामा गएर काम गर्छ । कतिपयले रगत बग्ने नसामा गएर काम गर्ने हुन्छ । कतिपय औषधि मुटुको चालसँग सम्बन्धित हुन्छ भने कतिपय पिसाब लाग्ने र प्रेसर कम गर्ने पनि हुन्छ । यस्ता औषधि कुनै बिहान त कुनै बेलुका मात्र सेवन गर्नुपर्ने हुन्छ ।