सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पवन शर्मा र रुद्र पोखरेललाई आइतबार लाजिम्पाटबाट पक्राउ गरेको हो ।
उनीहरूले श्रीलंकामा जारी क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपिएल)मा बेटिङ लगाउँदै आएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालले बताए । डायमन्ड एपमार्फत उनीहरूले अनलाइन बेटिङ लगाउने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये शर्मालाई गत वर्ष पनि प्रहरीले पक्राउ गरेकोमा उनको मुद्दा टुंगिएको छैन । उनीहरुले दैनिक डेढ लाखका दरले कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको तर डिजिटल माध्यमबाट कारोबार हुने भएकाले बेटिङको वास्तविक रकम थाहा हुन नसकेको एसपी कोइराला बताउँछन् ।
कतारमा जारी विश्वकप फुटबलको नेपालमा सट्टेबाजी व्यापक भएपनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । वानएक्सबेट, बेट३६५ लगायत एपमार्फत खुलेआम बेटिङ चलिरहेको छ ।