जाडो मौसममा जुनसुकै उमेरका मानिसलाई जोर्नीको दुखाइ हुन सक्छ । चिसोयाममा जीवनशैलीमा परिवर्तन आउने हुन्छ । चोटपटक लागेर भाँचिएको वा मर्किएको ठाउँमा पनि दुख्छ । विभिन्न रोगका कारणले पनि जोर्नी दुख्छ । युरिक एसिड, बाथरोग, इन्फेक्सनको कारणले गर्दा पनि दुखाइ हुन्छ । ५० वर्षभन्दा बढी उमेरका कतिपय व्यक्तिको हड्डी खिइँदै गएको हुन्छ ।
हड्डी खिइँदै जाँदा दुखाइ बढ्ने हुन्छ । एकै ठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी, क्याल्सियमको कमी हुँदा पनि जोर्नीको दुखाइ बढ्ने हुन्छ । वृद्धवृद्धामा भने हड्डी खिएर नसा च्यापिने हुन सक्छ । जोर्नी दुखाइले गर्दा उनीहरूमा थप जटिल समस्या पनि देखिन सक्छ । कसै–कसैमा जोर्नी बिग्रने समस्या आउन सक्छ । दुखाइ बढ्दै जाने, ज्वरो आउने, टेक्न गाह्रो हुने हुन्छ ।
समस्या
- हातखुट्टा सुन्निने, दुख्ने ।
- हड्डी पूरै कटकट खाने, दुख्ने ।
- हड्डी कमजोर भएजस्तो लाग्ने ।
- पलेँटी कस्दा बढी दुख्ने ।
- भर्याङबाट ओरालो झर्दा बढी दुख्ने ।
- करेन्ट लागेको जस्तो हुने, झमझम हुने, पोल्ने ।
- खुट्टा उचाल्न गाह्रो हुने ।
- शरीरका सबै भाग दुख्ने ।
- दुखेको ठाउँमा थिच्दा वा मालिस गर्दा केही थाहा नहुने, तर भित्रभित्रै दुख्ने ।
- बालबालिकामा खुट्टा बांगिने । छातीको हड्डी सुन्निएको देखिने ।
कसरी बच्ने ?
- जाडोमा आफूलाई न्यानो बनाउने ।
- भिटामिन डी र क्याल्सियमको मात्रा बढाउने खानेकुरा खाने ।
- बिहान १५–२० मिनेट घाममा बस्ने ।
- धूम्रपान, मद्यपान नगर्ने ।
- कोक र पेप्सीजस्ता सफ्ट ड्रिंक्स, आटामा आधारित उत्पादन नखाने ।
- सकभर घरबाहिरको खाना नखाने ।
- हड्डी खिइन कम गर्ने औषधि प्रयोग गर्ने ।
- फिजियोथेरापी गर्ने ।
- न्यानो भएर नियमित व्यायाम गर्ने । योगा र स्टे«चिङ गर्ने ।
- रोगअनुसारका बिरामीले खानपानमा ध्यान दिने । आफूलाई असर गर्ने खानेकुरा नखाने ।
- युरिक एसिडका बिरामीले रातो मासु, गेडागुडीको कम प्रयोग गर्ने ।
- पर्याप्त पानी खाने ।
- हाडजोर्नीसम्बन्धी कुनै समस्या भए अस्पताल जाने, चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने ।
जोर्नी दुख्दा के खाने ?
माछामा पर्याप्त मात्रामा ओमेगा–३ फ्याटी एसिड नामक तेल हुन्छ । यसले सुन्निने समस्या कम गर्न सहयोग गर्छ । बिहानको समयमा जोर्नी कमजोर हुने र दुख्ने समस्याबाट राहत दिन्छ । दूध, अन्डा, सागपात सेवन गर्दा भिटामिन डी र क्याल्सियमको मात्रा बढाउन सहयोग पुग्छ । चेरीले पनि दुखाइबाट बचाउँछ ।
त्यस्तै, जैतुनको तेल प्रयोग गर्दा पनि दुखाइ कम हुन्छ । बेसार र अदुवाको प्रयोगले पनि दुखाइबाट बचाउँछ । ग्रिन टीले जोर्नी सुन्निनबाट बचाउँछ । ब्रोकाउलीमा सल्फरयुक्त एन्टिअक्सिडेन्ट हुन्छ । यसले पनि जोर्नी दुखाइ कम गर्छ । त्यस्तै, बन्दा र काउलीले पनि दुखाइ कम गर्न सहयोग गर्छ । च्याउ, प्याज, सिट्रस फल (अम्लीय गुण भएका मौसम, सुन्तला, कागती आदि), मेवा, किवीलगायतले पनि दुखाइ कम गर्न सहयोग गर्छन् ।