पछिल्लो समय सहरका घरका कौसीमा पनि हरियाली देखिन थालेको छ । सहरी क्षेत्रमा खेतीयोग्य जमिनको अभाव भएकाले अधिकांशले विकल्पमा कौसी खेतीलाई लिएका हुन् । घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर फलफूल तथा तरकारी रोप्न सकिन्छ ।
कौसीमा विशेष गरी छोटो समयमै फल्ने फलफूल तथा तरकारी रोप्दा उपयुक्त हुन्छ । रायोको साग, गाजर, मूला, काउली, बन्दा, लौका, खुर्सानी, फर्सी, सिमी, घिरौँला, धनियाँ, मेथी, चना, पालुङ, लसुन, रोप्दा राम्रो हुन्छ ।
हेरचाह कसरी गर्ने ?
बिरुवा रोपेर मात्रै हुँदैन । यसलाई हेरचाह पनि उतिकै महत्वपूर्ण हुन्छ । कौसीमै राख्दा तापक्रम एकदमै धेरै हुन्छ । तापक्रम धेरै भयो भने बिरुवालाई पनि असर पनि गर्छ । त्यसका लागि स्ट्यान्ड बनाएर राख्नुपर्छ । स्ट्यान्डमाथि सकेसम्म टनेल पनि बनाउँदा राम्रो हुन्छ । तापक्रम ब्यालेन्सका लागि बजारमा ‘वटार प्रुफ’ प्लास्टिक पनि पाइन्छ । धेरै पानी र धेरै घाम पनि नहोस् भनेर प्लास्टिक प्रयोग गरिन्छ । गर्मी र जाडोमा यसले इन्सुलेसनका रूपमा काम गर्छ । तपाईं आफ्नो घरमा ताजा, स्वच्छ हावा प्राप्त गर्न सक्नुहुन्छ र हरियो र ताजा तरकारीको मज्जा पनि लिन सकिन्छ ।