हिल्सादेखि सिमकोटसम्म चारवटा खोलामा निर्माणाधीन पक्की पुल अलपत्र, ठेकेदारले पटक–पटक म्याद थप गराउँछन्, तर समयमै बनाउँदैनन्
हुम्लाको हिल्सा–सिमकोट सडकखण्डमा चारवटा पुल निर्माण नहुँदा काठेपुलकै सहारामा गाडी गुड्ने गरेका छन् । ठेकेदारहरूको चरम लापरबाहीले पाँच वर्षसम्म हेप्काखोला, तागुखोला, याङ्गारखोला सल्लीखोलामा पुल नबन्दा काठेपुलमाथि गाडी गुड्ने गरेका हुन् ।
पुल निर्माण नभएपछि सधै काठेपुल तरेर गाडी चल्ने गरेको नाम्खा गाउँपालिका– ५ की छोइजुम लामाले बताइन् । ‘काठेपुल कतिवेला भत्किन्छ कि भन्दै डरैडरमा गाडी चल्नुपर्छ,’ लामाले भनिन्, ‘सिमकोटदेखि यारीसम्म पर्ने चार ठाउँका खोलामा पुल बनेको छैन । कहिले बन्ला र ढुक्क हुन पाइएला ।’
पाँच वर्षसम्म पुल नबन्दा विकासको आशासमेत मरिसकेको नाम्खा गाउँपालिका– ५ का नाम्ग्याल दोर्जी तामाङले बताए । ‘पहिलेदेखि पुल निर्माण हुन्छ भन्ने सुनेका थियौँ, तर आजसम्म पुल निर्माण भएको छैन,’ उनले भने ।
वीरेन्द्रकुमार यादव, प्रमुख, हिल्सा–सिमकोट सडक योजना
ठेकेदार कम्पनीलाई वेलावेला ताकेता गरिरहेको छु, उनीहरूले विभिन्न बहाना देखाएर काम अलपत्र पार्दै आएका छन् । अब बोल्नेभन्दा कलम चलाएर नै कारबाहीको प्रक्रिया अगाडि बढाउनेछु ।
सदरमुकाम सिमकोटदेखि उत्तरी नाम्खा गाउँपालिकामा गाडी चलाउँदै आएका गाडीचालकको गुनासो उस्तै छ । पक्की पुल नबनेपछि काठेपुलमा जोखिम मोल्दै गाडी गुडाउनुपरेको सिमकोट गाउँपालिका– २ का जोर बोहराले बताए । ‘सडक पनि जताततै खोल्साखोल्सी छन्, वेलावेला गाडी फस्छ,’ उनले भने ।
सिमकोट गाउँपालिका– ७ र नाम्खा गाउँपालिका– १ मा पर्ने हेप्का खोलामा पक्की पुल निर्माणका लागि एमएस जेबी धुलिखेल जेबी काठमाडौंका प्रोप्राइटर तेजबहादुर महतले जिम्मा लिएका छन् । ६ साउन ०७४ मा दुई वर्षभित्र सक्ने गरी हेप्का खोला पुल निर्माणको सम्झौता गरिएको थियो । तर, पाँच वर्ष बितिसक्दासमेत निर्माण हुन सकेको छैन । हिल्सा सिमकोट सडक योजनामा विभिन्न कारण देखाउँदै चारपटकसम्म म्याद थप गरिएको छ । हिल्सा–सिमकोट सडक योजनाको प्रगति प्रतिवेदनमा ५२ प्रतिशत काम भएको उल्लेख छ ।
६ साउन ०७४ मा सम्झौता भएको तागुखोलाको पुल निर्माण पनि अधुरै छ । स्वच्छन्द काग्री जेबीका प्रोप्राइटर छिरिङउटुप लामाले नाम्खा गाउँपालिका– ४ मा पर्ने सल्लीखोलाको पुल निर्माणको जिम्मा लिएका थिए । तर, पाँच वर्ष भइसक्दा पनि पल अलपत्र छ । चारपटक म्याद थप गरिएको हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ । हिल्सा–सिमकोट सडक योजनाको प्रगति प्रतिवेदनमा ७२ प्रतिशत काम सम्पन्न भएको उल्लेख छ ।
१० माघ ०७६ मा नाम्खा गाउँपालिका– ४ स्थित याङ्गारखोलामा पुल निर्माण गर्न धुलिखेल निशान जेबी बानेश्वर काठमाडौंका प्रोप्राइटर अकिल बुढाले ठेक्का लिएका थिए । तर, सम्झौता गरेको तीन वर्ष बितिसक्दासमेत पुल निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि दुईपटक म्याद थप भइसकेको छ । पटकपटक विभिन्न बहाना बनाउँदै ठेकेदार कम्पनीले आयोजनाको म्याद थप गर्ने गरेका छन् । कहिले हिमपात, कहिले कोरोना महामारी, कहिले सामान ढुवानीका बहाना बनाउँदै काममा ढिलाइ गरेका छन् ।
हिल्सा–सिमकोट सडक योजनाका कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले हिमपात, अत्यधिक चिसो र सामान ढुवानी नहुँदा पुल निर्माणमा ढिलाइ भएको जानकारी दिए । ‘ठेकेदार कम्पनीलाई वेलावेला ताकेता गरिरहेको छु, उनीहरूले विभिन्न बहाना देखाएर काम अलपत्र पार्दै आएका छन्,’ उनले भने, ‘बोल्नेभन्दा कलम चलाएर नै कारबाहीको प्रक्रिया अगाडि बढाउनेछु ।’