सिन्धुपाल्चोक मुहान भई बग्ने इन्द्रावती र सुनकोसीको बालुवा–गिट्टी बिक्न छोडेको छ । जिल्लामा दर्ता भएका दुई दर्जनभन्दा बढी क्रसरमध्ये धेरैजसो बन्द भएका छन् । जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले दिएको जानकारीअनुसार १३ क्रसरले मात्रै पछिल्लो अवस्थाबारे सरकारी निकायलाई जानकारी गराएका छन् । लगभग ३० वटा क्रसर भए तापनि धेरैजसो बन्द भएको उनले बताए ।
०७२ अघि जम्मा सातवटा क्रसर थिए । भूकम्पले भौतिक संरचना ध्वस्त भएपछि बालुवा र गिटीको माग ह्वात्तै बढ्यो । फलस्वरूप पाँच वर्षमा दुई दर्जन क्रसर स्थापना भए । तर, बिक्न छोडेपछि भर्खर स्थापना भएका क्रसर व्यवसायी लगानी डुबाएर घर फर्केका छन् ।
विगतमा इन्द्रावती र सुनकोसी नदीबाट दैनिक दुई हजार टिपर बालुवा राजधानी पुग्थे । अहिले मुस्किलले तीन सय मात्रै पुग्छ । क्रसर व्यवसायी इन्द्र गिरीका अनुसार विगत दुई वर्षदेखि नदीजन्य पदार्थ संकलन र बिक्री–वितरण गर्ने क्रसर र ठेकेदार कम्पनी घाटामा परेका छन् । ‘मेरो क्रसरबाट दैनिक एक सय टिपर बालुवा र गिटी बिक्री हुन्थे । अहिले बढीमा १० ट्रिप मात्रै हुन्छ,’ उनले भने । राजधानीमा भौतिक संरचना निर्माणको काममा कमी आउनु, जिल्लामा विकास निर्माणको काम नहुनु, इन्धनको भाउ बढ्नु र ठुल्ठूला क्रसरमा रहेका कर्मचारीलाई पारिश्रमिक वितरण गर्न नसक्ने भएकाले क्रसर बन्द भएका हुन् । दुई वर्षअघि प्रतिटिपर बालुवाको १० हजार र गिटीको ६ हजार थियो । अहिले बालुवाको चार र गिट्टीको मूल्य दुई हजार छ । नदीजन्य पदार्थ बिक्री नहुँदा कतिपय व्यवसायीले वर्ष दिनदेखि इन्धन, एक्साभेटर र कर्मचारीलाई पैसा दिन सकेका छैनन् । मेलम्ची बाढीले बगाएर ल्याएको बालुवाको थुप्रो क्रसर व्यवसायीले उत्खनन गरेर राखेका छन् । तर, बिक्री भएको छैन ।
६ महिनादेखि मेलम्ची नआएका क्रसर व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष किरण थापा सहकर्मीलाई उद्योग जिम्मा लगाएर फर्केका छन् । बागमती प्रदेशका सांसदसमेत रहेका थापाले क्रसर व्यवसाय धराशयी भएको बताए । ‘मालवस्तु थुपारेर राखे पनि विगत दुई वर्षदेखि नदीजन्य पदार्थको माग न्यून भएकाले व्यवसाय संकटमा परेको हो,’ उनले भने ।
नदीजन्य पदार्थ उत्खनन तथा बिक्री प्रक्रियामा नदी–किनारमा स्थापना गरिएका क्रसर, बालुवा चाल्ने मेसिन, एक्साभेटर, ट्र्याक्टर र टिपरमा गरी पाँच हजार मानिस रोजगार छन् । यसका अलवा स्थानीय एक हजार माझी समुदाय पनि नदीमा बालुवा चाल्ने काम गर्छन् । बालुवा र गिट्टीको माग घटेकाले यहाँ आबद्ध मजदुरको पेसा पनि संकटमा परेको छ ।