१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सन् २००६ को विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचाल्दै इटाली । इटालीले फाइनलमा फ्रान्सलाई हराउँदै चौथोपटक विश्व च्याम्पियन ट्रफी हात पारेको थियो । फाइल तस्बिर
२०७९ मङ्सिर २३ शुक्रबार ०८:३३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नकआउट चरणमा युरोपियन राष्ट्र नै बलिया

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर २३ शुक्रबार ०८:३३:००

२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू शुक्रबारदेखि सुरु हुँदै छन् । विश्वकपको नकआउट चरण इतिहास केलाउँदा युरोपियन राष्ट्र नै हावी देखिन्छन् । विश्वकपमा सबै महादेशका राष्ट्रले सहभागिता जनाउँछन् । विश्वकप ट्रफी केवल युरोप र दक्षिण अमेरिकी राष्ट्रले मात्र उचालेका छन् । यी दुई महादेशबाहेक अन्य महादेशका राष्ट्रले विश्वकप जितेका छैनन् ।

सन् २००२ को विश्वकपमा एसियाली राष्ट्र दक्षिण कोरिया पहिलोपटक सेमिफाइनलसम्म पुगेको थियो ।  युरोपले सर्वाधिक १२ पटक ट्रफी चुमेको छ । त्यहीँ नै दक्षिण अमेरिकी राष्ट्रले ९ पटक मात्र विश्वकप उपाधि जितेका छन् । युरोपियन राष्ट्रहरूमा इटाली, जर्मनी, इंग्ल्यान्ड, फ्रान्स र स्पेनले उपाधि जितेका छन् । दक्षिण अमेरिकाबाट उरुग्वे, ब्राजिल र अर्जेन्टिनाले मात्र उपाधि हात पारेका छन् । अहिलेसम्मको डेटाअनुसार आठ राष्ट्रबीच मात्र उपाधि घुमिरहेको छ । यसमा ब्राजिल सर्वाधिक पाँचपटकको विजेता हो । इटाली र जर्मनीले समान चारपटक उपाधि हात पारेका छन् । फ्रान्स, अर्जेन्टिना र उरुग्वेले दुई–दुईपटक विश्वकप ट्रफी उचालेका छन् । इंग्ल्यान्ड र स्पेन एक–एकपटक विश्व च्याम्पियन बनेका छन् । 

 पहिलो संस्करणमै सेमिफाइनल यात्रा
सन् १९३० मा उरुग्वेले विश्वकप पहिलोपटक आयोजना गरेको थियो । यस विश्वकपमा युरोपबाट चार राष्ट्रले सहभागिता जनाए । नेदरल्यान्ड्स विश्वकपको चौथो स्थानमा रह्यो । सन् १९३० देखि १९७८ सम्म प्रिक्वार्टरफाइनल खेल नै आयोजना भएन । ती संस्करणमा पहिलो चरणपछि सीधै क्वार्टरफाइनल खेल आयोजना भएको थियो । सन् १९८६ देखि विश्वकपमा प्रिक्वार्टरफाइनल खेलको अवधारणा लागू भयो । 

सन् १९३० देखि २०२२ सम्मको कतार विश्वकपसम्मका डेटाअनुसार प्रिक्वार्टरफाइनलमा समग्रमा युरोपका विभिन्न राष्ट्रले ९९ पटक प्रिक्वार्टरफाइनल खेले । जसमध्ये सन् १९८६ देखि १९९८ सम्म समान १० युरोपियन राष्ट्रले दोस्रो चरणको स्थान पक्का गरे । यसैगरी, सन् २००२ मा नौ र सन् २००६ मा १० राष्ट्रले नकआउट चरण स्थान सुरक्षित गरे । सन् २०१० र २०१४ को संस्करणमा समान ६ युरोपियन राष्ट्रले पहिलो चरण पार गरे । गत संस्करणमा युरोपका १० राष्ट्र नकआउट चरणमा पुगेका थिए ।

  एक सय पाँचपटक क्वार्टरफाइनल
विश्वकप इतिहासमा विभिन्न युरोपियन राष्ट्रले एक सय पाँचपटक क्वार्टरफाइनल खेलेका छन् । चालू विश्वकपमा पाँच युरोपियन राष्ट्रले अन्तिम आठमा प्रतिस्पर्धा गर्दै छन् । पोर्चुगल, नेदरल्यान्ड्स, फ्रान्स, क्रोएसिया र इंग्ल्यान्डले अन्तिम आठ स्थान पक्का गरेका छन् । विश्वकप इतिहासमा सन् १९३४ को संस्करणमा युरोपका सर्वाधिक आठ राष्ट्रले स्थान बनाएका थिए । फाइनलमा पनि युरोपका इटाली र चेकोस्लाभियाबीच प्रतिस्पर्धा भएको थियो । 

सन् १९७०, २००२ र २००६ को संस्करणमा समान चार युरोपियन राष्ट्र क्वार्टरफाइनलमा छनोट भए । आठपटक युरोपियन राष्ट्रले समान ६ राष्ट्रले प्रिक्वार्टरफाइनल स्थान पक्का गरेका थिए । सन् १९५८ र सन् १९९४ को संस्करणमा समान सात युरोपियन राष्ट्रले क्वार्टरफाइनल खेलेका थिए । सन् १९६६, १९७८, १९८६ र २०२२ को विश्वकपमा समान पाँच राष्ट्रले प्रिक्वार्टरफाइनल सुरक्षित गर्न सफल भए । विश्वकप इतिहासमा सन् २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको संस्करणको क्वार्टरफाइनल खेलमा युरोपका केवल तीन राष्ट्र मात्र पुगेका थिए । 

 सन् १९३० देखि २०१८ सम्म सेमिफाइनल 
विश्वकपमा युरोपका राष्ट्र किन शक्तिशाली छन् भन्ने डेटाले स्पष्ट पार्छ । सन् १९३० देखि रसिया विश्वकपसम्म कुनै न कुनै युरोपियन राष्ट्र सेमिफाइनलमा पुगेको रेकर्ड छ । युरोपियन राष्ट्रविना सेमिफाइनल भएको रेकर्ड छैन । कतार विश्वकपको क्वार्टरफाइनल खेल भएको छैन । सन् १९३४, १९६६, १९८२, २००६ र २०१८ को संस्करणको सेमिफाइनलमा चारवटै टोली युरोपका थिए । यी चार संस्करणका फाइनल युरोपियनबीच नै भयो ।

समग्रमा २१औँ संस्करणसम्म विभिन्नपटक गरी २१ युरोपियन राष्ट्रले सेमिफाइनल खेलेका छन् । सन् १९५०, १९६२, १९७०, १९७८, २००२ र २०१४ को संस्करणमा समान दुई युरोपियन राष्ट्र सेमिफाइनलमा पुगे । सन् १९३८, १९५४, १९५८ र १९७४ का विश्वकपमा युरोपका समान तीन राष्ट्रले सेमिफाइनल स्थान बनाए । सन् १९८६ देखि १९९८ को विश्वकपमा समान तीन राष्ट्र अन्तिम चारमा पुगे । 

 नौ संस्करणको फाइनल युरोपियनबीच
अहिलेसम्म १९ संस्करणको विजेता चुनिएका छन् । २२औँ संस्करण चलिरहेको छ । सन् १९३० देखि २०१८ सम्मको विश्वकप यात्रामा नौ पटकको फाइनल दुई युरोपियनबीच भएको थियो । सन् १९३४, १९३८, १९५४, १९६६, १९७४, १९८२, २००६, २०१० र २०१८ को संस्करणको उपाधि छिनोफानो दुई युरोपियनबीच नै भयो । 

यसैगरी, विश्वकपको १० वटा संस्करणको फाइनलमा एक युरोपियन राष्ट्र मात्र पुग्यो । सन् १९५८, १९६२ र १९७० विश्वकपमा कम्तीमा युरोपका एक राष्ट्रले फाइनल खेल्यो । यसैगरी,सन् १९८६ देखि २००२ को लगातार विश्वकपमा एक युरोपियन राष्ट्रले फाइनलमा दक्षिण अमेरिकी टोलीको चुनौती सामना गरेको थियो । तीनपटक एक्लो युरोपियन राष्ट्र फाइनलमा पुग्दा उपाधिसमेत जित्न सफल भयो । 

 १६ पटक उपविजेता
विश्वकपमा नौपटक युरोपका राष्ट्रले उपाधि जित्न सकेनन् । जसमध्ये सन् १९३० र सन् १९५० को संस्करण युरोपियन राष्ट्रविना फाइनल भएको थियो । विश्वकपको डेटाअनुसार १६ पटक युरोप उपविजेता बन्यो । यसैगरी, १७ पटक युरोपले तेस्रो स्थान रक्षा गर्‍यो । १५ पटक युरोप चौथो स्थानमा सीमित भयो ।