१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ मङ्सिर २१ बुधबार ०९:०६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकपका चर्चित १० टाइब्रेकर

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर २१ बुधबार ०९:०६:००

२२औँ विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार नकआउट चरणमा जापान र क्रोएसियाबीच खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो । क्रोएसियाले क्वार्टरफाइनल स्थान पक्का गर्न जापानलाई ३–१ ले निराश पार्‍यो । मंगलबारै मोरोक्कोले पूर्वविजेता स्पेनलाई टाइब्रेकरमै ३–० ले हरायो । विश्वकपमा अहिलेसम्म ३२ खेलको नतिजा टाइब्रेकरबाट भएका छन् । जसमध्ये सनसनीपूर्ण १० वटा टाइब्रेकर यस्ता छन् :

पश्चिम जर्मनी ५–४ फ्रान्स 
१९८२ (सेमिफाइनल)

विश्वकप इतिहासमै पश्चिम जर्मनी र फ्रान्सबीच पहिलो टाइब्रेकर खेल भयो । विश्वकपको फाइनल प्रवेश गर्ने क्रममा पश्चिम जर्मनीले फ्रान्सलाई ५–४ ले हरायो । खेलमा फ्रान्सका सिक्स तथा बोसिस पेनाल्टीमा गोल गर्न असफल भए । पश्चिम जर्मनीका स्टेलिकेले पेनाल्टी मिस गरे । पश्चिम जर्मनीका लागि वेसेकले अन्तिम पेनाल्टी गोल गर्दै टोलीलाई फाइनल पुर्‍याए । 


बेल्जियम ५–४ स्पेन 
१९८६ (क्वार्टरफाइनल)

मेक्सिकोले आयोजना गरेको विश्वकपको क्वार्टरफाइनलका तीनवटा नतिजा टाइब्रेकरबाट भए । फ्रान्स र ब्राजिल, पश्चिम जर्मनी र मेक्सिकोसँगै बेल्जियम र स्पेनबीचको विजेता टाइब्रेकरबाट भएको थियो । यसमध्ये स्पेन र बेल्जियमबीचको टाइब्रेकर रोमाञ्चक रह्यो । यस खेलमा बेल्जियमले स्पेनलाई ५–४ ले हरायो । बेल्जियमका पाँचै खेलाडीले गोल गरे । स्पेनका इलोयले एक गोल गर्न नसक्दा बेल्जियम सेमिफाइनलमा पुग्यो । निर्धारित समयमा १–१ को बराबरी भएको थियो । क्वार्टरफाइनलमै फ्रान्सले ब्राजिललाई टाइब्रेकरमा ४–३ ले हराएको थियो । 


अर्जेन्टिना ३–२ युगोस्लाभिया 
१९८६ (क्वार्टरफाइनल)

अर्जेन्टिनाले क्वार्टरफाइनल चरण पार गर्न टाइब्रकेरको सहायता लियो । अर्जेन्टिनाले सेमिफाइनल प्रवेशमा युगोस्लाभियालाई टाइब्रेकरमा ३–२ को रोमाञ्चक जित निकाल्यो । निर्धारित समयमा युगोस्लाभियाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको थियो । टाइब्रेकरमा युगोस्लाभियाका स्टोज्कोभिक, मोभिक तथा हावेजिकले गोल गर्न सकेनन् । अर्जेन्टिनाका कप्तान डिएगो म्याराडोना र ट्रोगिलोले पनि असफल पेनाल्टी प्रहार गरेका थिए । 


अर्जेन्टिना ४–३ इटाली
१९९० (सेमिफाइनल)

इटालीले आयोजना गरेको विश्वकपमा अर्जेन्टिना साबिक विजेता थियो । अर्जेन्टिनाले फाइनल प्रवेशका क्रममा आयोजक इटालीलाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयमा दुवै टोलीबीच १–१ को बराबरी भएको थियो । इटालीका लागि सेरेना र डोनाडोनीले गोल गर्न सकेनन् । अघिल्लो विश्वकपमा टाइब्रेकरमा गोल गर्न नसकेका म्याराडोनाले इटालीविरुद्ध गोल गर्न सफल भए । 


पश्चिम जर्मनी ४–३ इंग्ल्यान्ड
१९९० (सेमिफाइनल)

विश्वकपअन्तर्गत सेमिफाइनल खेलको नतिजा निर्धारित समयमा आएन । सेमिफाइनलका दुवै खेल टाइब्रेकरबाटै आए । पश्चिम जर्मनीले फाइनलमा स्थान बनाउने क्रममा इंग्ल्यान्डलाई टाइब्रेकरमा ४–३ ले हरायो । इंग्ल्यान्डको सन् १९६६ पछि विश्वकप जित्ने अभियान असफल टाइब्रेकरसँगै रोकियो । पश्चिम जर्मनीविरुद्धको टाइब्रकेरमा इंग्ल्यान्डका वाडले र पिरेसले गोल गर्न सकेनन् । जर्मनीका लागि चारजना खेलाडीले नै शतप्रतिशत गोल गर्न सफल भए । प्रतियोगिताको फाइनलमा पश्चिम जर्मनीले अर्जेन्टिनालाई १–० ले हराउँदै तेस्रोपटक विश्वकप उपाधि जित्यो । 

ब्राजिल ३–२ इटाली
१९९४ (फाइनल) 

विश्वकप फुटबल इतिहासमा पहिलोपटक टाइब्रेकरबाट उपाधिको छिनोफानो भयो । फाइनलमा ब्राजिल र इटालीबीचको निर्धारित समयमा गोलरहित बराबरी भएको थियो । टाइब्रेकरमा ब्राजिलले इटालीलाई ३–२ ले स्तब्ध पार्दै चौथोपटक विश्वकप उपाधि जित्यो । इटालीका लागि बारेसी, मासारो तथा रोवर्टो ब्रागियोले असफल प्रहार गरे । ब्राजिलका लागि सान्तोषले मात्र गोल गर्न सकेनन् । विश्वकपमा इटालीका ब्राजियो उत्कृष्ट फर्ममा थिए । उनले आफ्नो एक प्रदर्शनमा इटालीलाई फाइनल पु¥याए ।


अर्जेन्टिना ४–३ इंग्ल्यान्ड
१९९८ (दोस्रो चरण)

विश्वकपको दोस्रो चरणमै उपाधि दाबेदार इंग्ल्यान्ड र अर्जेन्टिनाबीच खेल भयो । विश्वकपमा यी दुईबीचको खेल सधैँ रोमाञ्चक र विवादित बन्ने गर्छ । दोस्रो चरणमा अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल हुँदा रातो कार्ड देखाइयो । इंग्ल्यान्डका युवा खेलाडी डेभिड बेकह्यामले रातो कार्ड पाएका थिए । ९० मिनेटको खेल २–२ को बराबरी भएको थियो । अर्जेन्टिनाले टाइब्रेकरमा इंग्ल्यान्डलाई ४–३ ले स्तब्ध पार्‍यो । टाइब्रेकरमा बाटली तथा इन्सले गोल गर्न चुके । अर्जेन्टिनाका क्रेस्पोले मात्र गोल गरेनन् । 

फ्रान्स ४–३ इटाली
१९९८ (क्वार्टरफाइनल)

फ्रान्सले पहिलोपटक विश्वकप आयोजना गर्‍यो । फ्रान्सले नै फाइनलमा ब्राजिललाई ३–० ले हराउँदै पहिलोपटक विश्व च्याम्पियन ट्रफी उचाल्यो । फ्रान्सले विश्वकप जित्नेक्रममा क्वार्टरफाइनलमा इटालीविरुद्ध टाइब्रेकरमा जित निकालेको थियो । फ्रान्सले इटालीमाथि ४–३ को जित निकाल्यो । इटालीका अल्वेर्टिनी र डी बागियोले गोल गर्न सकेनन् । फ्रान्सका लिजाराजुले असफल पेनाल्टी प्रहार गरेका थिए । 

दक्षिण कोरिया ५–३ स्पेन
२००२ (क्वार्टरफाइनल)

एसियन भूमिमा पहिलोपटक विश्वकप आउँदा आयोजक दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गरेको थियो । एसियाली राष्ट्रका रूपमा दक्षिण कोरियाले पहिलोपटक सेमिफाइनल स्थान बनायो । दक्षिण कोरियाले क्वार्टरफाइनलमा विश्वकपको दाबेदार राष्ट्र स्पेनलाई पेनाल्टीमा ५–३ ले स्तब्ध पार्‍यो । दक्षिण कोरियाका पाँचै खेलाडीले गोल गर्न सफल भए । स्पेनका जाक्विनले गोल गर्न नसकेपछि दक्षिण कोरियाले सेमिफाइनल स्थान पक्का गर्‍यो । 

रसिया ४–३ स्पेन
२०१८ (दोस्रो चरण)

आयोजक रूपमा दोस्रो चरण स्थान बनाएको रसियाले स्पेनविरुद्ध प्रतिस्पर्धा गरेको थियो । दोस्रो चरणमा रसियाले स्पेनलाई ४–३ ले टाइब्रेकरमा स्तब्ध पार्‍यो । स्पेनका कोके र आस्पासले गोल गर्न सकेनन् । रसियाका चारै खेलाडीले गोल गरेका थिए । दोस्रो चरणमा क्रोएसियाले डेनमार्कलाई टाइब्रेकरमै ३–२ ले हराएको थियो । इंग्ल्यान्डले क्वार्टरफाइनल स्थान पक्का गर्न कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले पाखा लगायो ।