मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १४ शनिबार
  • Saturday, 28 January, 2023
२०७९ मङ्सिर २१ बुधबार ०७:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शशांकसँग देउवाको प्रस्ताव, संसदीय दलको नेतामा सघाउनुस्

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २१ बुधबार ०७:५९:००

शेखर र गगनले भने– कांग्रेसको साख र विचार जोगाउन तथा राजनीतिलाई सही बाटोमा लैजान युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ

कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्का आकांक्षी पूर्वमहामन्त्री शशांक कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता भएको छ । बधाई आदान–प्रदानको बहानामा मंगलबार उनीहरूबीच भेट भएको हो ।

गगन थापा महामन्त्री, कांग्रेस
डा. शेखर कोइरालासँग हामी पार्टीको महाधिवेशनमा सँगै उभियौँ । विचारका कारण सँगै उभियौँ, शैलीका कारण सँगै उभियौँ, उहाँले कांग्रेसलाई नयाँ ढंगले हाँक्न सक्नुहुन्छ भन्ने कारणले उभियौँ । हाम्रो विश्वास रत्तिभर पनि डगमगाएको छैन, हामी उहाँकै नेतृत्वमा, उहाँसँगै एकै ठाउँ रहेर सभापतिसँग कुराकानी गर्छौँ, काम गर्छौँ । पार्टीभित्र पनि विधिको शासन कायम गर्न व्यापक सुधारका एजेन्डाहरू ल्याउँछौँ ।

देउवा भेट्न कोइराला प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार मंगलबार बिहान ११ बजे दुई नेताबीच भेट भएको हो । भेटमा निर्वाचनको समीक्षासँगै सरकार गठनलगायत विषयमा छलफल भएको देउवानिकट स्रोतले बतायो । भेटमा देउवाले आफूलाई संसदीय दलको नेतामा सघाउन आग्रह गरेका थिए । कोइरालाले सल्लाह गरेर निर्णय लिने जवाफ दिएका थिए । 

त्यस्तै, वरिष्ठ नेता पौडेलले नेता कोइरालालाई उनकै निवास महाराजगन्ज पुगेर भेटेका थिए । कोइराला र देउवाको भेटपछि कोइराला र पौडेलबीच भेट भएको हो । भेटमा बधाई साटासाट र समसामयिक विषयमा कुराकानी भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । 

त्यस्तै, संस्थापनइतर समूहबाट प्रधानमन्त्रीका आकांक्षी नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा विराटनगरमा एउटै मञ्चमा देखिए । नेता गुरुराज घिमिरेको विचार संग्रह ‘बाटो बिराएको राजनीति’ सार्वजनिक कार्यक्रममा सहभागी उनीहरू काठमाडौं–विराटनगर आउजाउ एउटै विमानमा गरेका थिए । कार्यक्रममा बोल्दै दुवै नेताले एक भएर अगाडि बढ्नुपर्ने बताए । कोइरालाले कांग्रेसको साख र विचार जोगाउन तथा राजनीतिलाई सही बाटोमा लान युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताए । एकढिक्का भई पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्नेमा कोइरालाको जोड थियो । ‘इतिहास रचेको कांग्रेसको साख र विचार जोगाउन तथा राजनीतिलाई सही बाटोमा लाने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने छ,’ उनको भनाइ थियो । कोइरालाले निर्वाचनमा कांग्रेसको सिट बढे पनि समानुपातिकमा मत घटेकोमा गम्भीर हुनुपर्ने बताए । यसका लागि स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने उनको भनाइ थियो । 

त्यस्तै, महामन्त्री थापाले कोइरालाकै नेतृत्वमा रहेर अघि बढ्ने बताए । निर्वाचनपछि पनि आफूहरूमा कुनै अविश्वास नरहेको उनले प्रस्ट्याएका थिए । ‘डा. शेखर कोइरालासँग हामी पार्टीको महाधिवेशनमा सँगै उभियौँ । विचारका कारण सँगै उभियौँ, शैलीका कारण सँगै उभियौँ, उहाँले कांग्रेसलाई नयाँ ढंगले हाँक्न सक्नुहुन्छ भन्ने कारणले उभियौँ,’ महामन्त्री थापाको भनाइ थियो, ‘हाम्रो विश्वास रत्तिभर पनि डगमगाएको छैन, हामी उहाँकै नेतृत्वमा, उहाँसँगै एकै ठाउँ रहेर सभापतिसँग कुराकानी गर्छौँ, काम गर्छौँ । पार्टीभित्र पनि विधिको शासन कायम गर्न व्यापक सुधारका एजेन्डाहरू ल्याउँछौँ ।’