टाइब्रेकरमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले जापानिज खेलाडीका तीन पेनाल्टी प्रहार छेके

मंगलबार, २० मंसिर, २०७९
डिजिटल संस्करण
टाइब्रेकरमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

टाइब्रेकरमा जापानविरुद्ध ३–१ को जित हासिल गरेपछि खुसी मनाउँदै क्रोएसियाका खेलाडी ।

गोलरक्षक डोमिनिक लिभाकोभिकले टाइब्रेकरमा जापानको तीन पेनाल्टी प्रहार विफल पारेपछि क्रोएसिया कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टफाइनलमा पुगेको छ । प्रतियोगिताको साबिक उपविजेता क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३–१ ले हराएको हो । अब क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ । चालू विश्वकपको नकआउट चरणमा जापान र क्रोएसियाबीचको विजेता टाइब्रेकरबाट भएको पहिलोपटक हो । 

यसअघि सबै प्रिक्वार्टरफाइनल खेलको नतिजा निर्धारित ९० मिनेटमै निस्किए । जापान र क्रोएसियाले निर्धारित ९० तथा अतिरिक्त ३० मिनेटमा १–१ को बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो । जसमा क्रोएसिया भाग्यमानी ठहरियो । जापानले कतार विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरी नकआउट चरण स्थान सुरक्षित गरेको थियो । 

जापानले आफ्नो समूहमा पूर्वविश्व च्याम्पियनद्वय स्पेन र जर्मनीमाथि सनसनीपूर्ण समान २–१ को नतिजा निकाली अन्तिम १६ को स्थान पक्का गरेको हो । विश्वकप इतिहासमा क्रोएसियाले टाइब्रेकरमा शतप्रतिशत नतिजा निकालेको छ । यसअघि सन् २०१८ को रसिया विश्वकपमा क्रोएसियाले डेनमार्क र रसियालाई टाइब्रेकरमै हराएको थियो । जापानले भने विश्वकपको नकआउट चरणमा दुवैपटक सामना गरेको टाइब्रेकर गुमाएको छ । सन् २०१० मा जापानले पाराग्वेसँगको प्रतिस्पर्धामा टाइब्रेकरमै पराजित भएको थियो । 

गोलरक्षक डोमिनिक नायक
टाइब्रेकरमा जापानका खेलाडीमा अनुभव कम देखिएको थियो । युरोपियन लिगमा आबद्ध क्रोएसियन खेलाडी आत्मविश्वासी देखिन्थे । जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार गोलरक्षक लिभाकोभिकले सहजै रोके । त्यसपछि क्रोएसियाका निकोला भ्लासिचले गोल गर्दै १–० को अग्रता दिलाए । जापानकबाट दोस्रो प्रहार गर्न आएका मितोमाको प्रहारलाई लिभाकोभिचले छेके । 

क्रोएसियाका मार्सेलो ब्रोजोभिचले गोल गरे । जापानका ताकुमा असानोले जापानका लागि एकमात्र टाइब्रेकरमा गोल गरे । क्रोएसियाका लागि मार्को लिभाजाको प्रहार पोस्टमा लागेको थियो । लिभाजको प्रहार पोलमा लाग्दा जापान खेलमा फर्कने आशावादी भयो । जापानका माया योसिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । क्रोएसियाबाट मारियो पासालिचले चौथो प्रहार गरे । उनले सहजै गोल गर्दै क्रोएसियालाई क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

निर्धारित र अतिरिक्त समयमा १–१ को बराबरी
खेलको ४३औँ मिनेटमा जापानले १–० को अग्रता लियो । जापानलाई डेजन माएदाले गोल गरे । खेलको ५५अौँ मिनेटमा क्रोएसियाले खेल १–१ को बराबरी गोल फर्कायो । इभान पेरिसिचले डिबक्सभित्र उत्कृष्ट हेडिङ गोल गर्दै क्रोएसियालाई १–१ को स्थितिमा ल्याए । डेजान लोभ्रेनको लङ पासमा हेडिङ गोल गरेका हुन् । 

See More On

सुझावित समाचार