१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:११:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकार गठनको कसरत : सत्तागठबन्धन र बाहिरका दलसँग समानान्तर छलफलमा कांग्रेस 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:११:oo

सिके राउत कांग्रेससँग सहकार्य गर्न तयार, प्रचण्डसँग गठबन्धन कायम गरेर सरकार बनाउन छलफल

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको तयारीलाई तीव्र बनाएको छ । गठबन्धनभित्रका दलबाट मात्रै बहुमत नपुग्ने अवस्थाका कारण कांग्रेसले गठबन्धनलाई कायम राख्दै संसद्मा प्रतिनिधित्व गर्ने इतरका दलसँग पनि समानान्तर रूपमा छलफल थालेको छ । 

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले बिहीबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँगको भेटमा सरकारमा सहकार्यका लागि औपचारिक प्रस्ताव गरे । राउतले कांग्रेससँग संघ र प्रदेशमा सरकार गठनमा सहकार्य गर्न तयार रहेको बताएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । 

‘उहाँ (सिके राउत)ले आफू डेमोक्रेसीमा विश्वास राख्ने भएकाले कांग्रेससँग सहकार्य गरेर जान तयार रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगार, नागरिकता विधेयकलगायत आफ्ना एजेन्डाबारे कुरा राख्नुभयो । थप छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ,’ खड्काले भने, ‘हामी पार्टी र गठबन्धनभित्र छलफल गर्छौँ । उहाँहरू पनि छलफल गर्नुहुन्छ । थप छलफल गरेर टुंगोमा पुगिन्छ ।’

गठबन्धनबाहेकका दलका नेतासँग देउवाले गरेको भेट राउतसँगै नै पहिलो हो । अन्य दलसँग भने उपसभापति खड्कालगायत निकटस्थ नेताहरूमार्फत संवाद गरिरहेका छन् । जनमत पार्टीका महासचिव चन्दन सिंहले प्रधानमन्त्री देउवाले बोलाएर सहकार्यका लागि प्रस्ताव गरेको जानकारी दिए । ‘हामी प्रजातान्त्रिक पार्टीसँग सहकार्यका लागि सकारात्मक छौँ । किसान आन्दोलन, नागरिकतालगायत मधेसमा मुद्दामा तपाईंहरूको धारणा के हो जानकारी गराउनुहोस्, त्यसपछि थप छलफल गरेर सहकार्यबारे टुंगोमा पुगौँला,’ राउतको भनाइ उद्धृत गर्दै सिंहले नयाँ पत्रिकासँग भने । भेटमा राउतले मधेसका माग र मुद्दाबारे देउवाको धारणा मागेका थिए । जवाफमा देउवाले गठबन्धनसँग छलफल गर्ने जवाफ फर्काएका थिए । ‘छलफल सकारात्मक रूपमा अगाडि बढेको छ । निर्वाचनपछि पहिलोपटक हामीले छलफल गरेका हौँ । अरू पार्टीसँग पनि छलफल हुन सक्छ,’ सिंहले भने । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा अपराह्न दुई नेताबीच भेट भएको थियो । राउतलाई देउवासँग भेटको संयोजन कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले गरेका थिए । भेटमा सहभागी निधिले छलफल सकारात्मक र परिणाममूलक भएको प्रतिक्रिया दिएका छन् । गठबन्धन र कांग्रेससँग संघ र प्रदेश दुवै सरकारमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको उनको दाबी छ । ‘दुई नेताबीच सकारात्मक र परिणाममूलक वार्ता भएको छ । गठबन्धन र कांग्रेससँग संघ र प्रदेशका दुवै सरकारमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले भने । तर, कुनै लिखित सहमति भने भएको छैन । 

जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकतर्फ हालसम्म प्राप्त मतलाई आधार मान्दा चार सिट पाउने देखिन्छ । एक सय ६५ मध्ये एक सय ६२ सिटको अन्तिम नतिजा आउँदा कांग्रेसले ५५ स्थानमा जित निकालेको छ । बाँकी तीन सिटमध्ये गणना भइरहेका दुई सिटमा कांग्रेसकै अग्रता छ । हालसम्म प्राप्त मतलाई आधार मान्दा उसले समानुपातिकमा ३२ सिट पाउने सम्भावना छ ।

त्यस्तै, माओवादीले १७ सिट जितेको छ भने १४ समानुपातिक सिट पाउने सम्भावना छ । गठबन्धनबाट माओवादी उम्मेदवार रहेको एक क्षेत्रमा परिणाम आउन बाँकी छ । एकीकृत समाजवादीले १० सिट जितेको छ । समानुपातिकमा थ्रेसहोल्ड कटाउने सम्भावना न्यून छ । लोसपाले चार सिट र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । दुवै पार्टी राष्ट्रिय दल नबने निश्चित छ । यस आधारमा परिणाम आउन बाँकी तीनवटै स्थानमा गठबन्धनले जित निकाल्दा पनि एक सय ३३ सिट मात्र पुग्छ । तर, बहुमतका लागि एक सय ३८ सांसद चाहिन्छ । बहुमत नपुग्ने अवस्थामा जनमतको मत गठबन्धनका लागि सरकार गठनमा महत्वपूर्ण हुन्छ । 

प्रचण्ड, नेपाल र भट्टराईले कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीलाई भेटे

सत्तागठबन्धनले सुविधानजक बहुमतका लागि जसपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदतिर पनि नजर लगाएको छ । गठबन्धनमा तान्ने लक्ष्यसहित नै माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरिसकेका छन् । प्रचण्डले सोमबार तथा नेपाल र भट्टराईले मंगलबार भेटेका हुन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिमा भने थ्रेसहोल्ड कटाउने सम्भावना देखिँदैन ।

गठबन्धनका नेताहरूले जेलमै भेटेर तथा टेलिफोनमार्फत सरकारमा सहकार्यको प्रस्ताव गरेको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । तर, सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग भने कुनै भेटघाट नभएको उनको भनाइ छ । श्रेष्ठ काठमाडौंमै छिन् । ‘हाम्रो पहिलो प्राथमिकता सरकार होइन, हाम्रा माग मुद्दा सम्बोधन हुने अवस्थामा जान पनि सकिन्छ । तर, हामीले अहिले केही सोचेका छैनौँ,’ उनले भने, ‘गठबन्धनका नेताहरूले जेलमा गएर भेटेको जानकारी छ । यसबाहेक नेताहरूले अध्यक्ष र पार्टीका अन्य नेताहरूसँग भेटेर छलफल गरेका छैनन् ।’

त्यस्तै, दुई सिट रहेको प्रभु साह समूह र अमरेशकुमार सिंहसँग पनि गठबन्धनका नेता सम्पर्कमा छन् । यसबाहेक देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत टेलिफोन सम्पर्क गरेर सरकारमा सहकार्यका लागि प्रस्ताव गरेको उनीनिकट स्रोतले बतायो । जसपा र राष्ट्रिय स्वतन्त्र पाटीसँग भने कांग्रेसले औपचारिक सहकार्यको लागि प्रस्ताव गरेको छैन । 

प्रचण्ड र खड्काबीच भेटवार्ता

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । उपसभापति खड्काले भेटमा चुनावी समीक्षासहित गठबन्धन कायम गरेर सरकार निर्माणका लागि छलफल भएको जानकारी दिए । ‘प्रचण्डसँगको छलफलमा चुनावी समीक्षा भयो । सत्तागठबन्धनलाई निरन्तर राखेर अरू दललाई पनि जोडेर सरकार निर्माण गर्नेबारे छलफल भयो,’ खड्काले भने । 

सिके राउत कांग्रेससँग सहकार्य गर्न तयार हुनुहुन्छ : पूर्णबहादुर खड्का, उपसभापति, कांग्रेस 

कांग्रेसले गठबन्धनबाहेकका दलसँग पनि सरकार गठनबारे औपचारिक छलफल सुरु गरेको छ । सिके राउतसँगको भेटमा के भयो ? 
हामीले गठबन्धनलाई कायम राख्दै गठबन्धनबाहेकका दललाई पनि समेटेर कांग्रेस नेतृत्वमा सरकार गठनका लागि छलफल गरिरहेका छौँ । त्यसैक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच सौहार्दपूर्ण रूपमा छलफल भयो । प्रधानमन्त्री र राउतबीच एक–अर्कामा बधाई साटासाट भयो । उहाँ (सिके राउत)ले आफू डेमोक्रेसीमा विश्वास राख्ने भएकाले कांग्रेससँग सहकार्य गरेर जान तयार रहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, नागरिकता विधेयकलगायत आफ्ना एजेन्डाबारे कुरा राख्नुभयो । थप छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ । 

लिखित रूपमै कुनै सहमति भएको हो र ? 
कुनै लिखित सहमति भएको छैन । थप छलफल गरेर अगाडि बढ्नेबारे दुवै पक्ष सकारात्मक छौँ । पार्टी र गठबन्धनभित्र छलफल गरेर निष्कर्षमा पुग्छौँ । कहाँ, के, कति भन्ने छलफल सुरु भइसकेको छैन । 

राउतलाई देउवाले के प्रस्ताव गर्नुभयो ? 
सभापतिज्यूले तपाईंहरूलाई सरकारमा सहकार्यका लागि स्वागत छ, हामी गठबन्धनमा छलफल गर्छौँ, तपाईंहरू पनि छलफल गर्नुहोला, छलफलबाट टुंगोमा पुगौँला, सहकार्य गरेरै अगाडि बढौँला भनेर प्रस्ताव गर्नुभएको छ । उहाँ पनि यसमा सकारात्मक हुनुहुन्छ । 

बुधबार नै सत्तासाझेदार दल माओवादी अध्यक्ष प्रचण्डसँग पनि भेट गर्नुभयो, के छलफल भयो ? 
मैले प्रचण्डलाई पनि भेटेँ । हामीबीचको छलफलमा चुनावी समीक्षा भयो । सरकार निर्माणमा कसरी जाने भन्नेबारे कुराकानी भयो । सत्तागठबन्धनलाई निरन्तर राखेर अरू दललाई पनि समेटेर लैजाने विषयमा छलफल भयो । 

ad
ad