चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले थप हतोत्साहित बनाएको होटेल संघ नेपाल (हान)ले जनाएको छ । कोरोनाले थलिएको पर्यटन व्यवसायलाई जोगाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षाबाट सम्बोधन नगरेको हानको गुनासो छ ।
बैंकहरूले साँवा–ब्याज भुक्तानीका लागि ताकेता गरेको र चर्को ब्याजका कारण देशैभरका पर्यटन तथा होटेल व्यवसायी आन्दोलित हुँदा मौद्रिक समीक्षाले व्यवसायीहरूको न्यूनतम मागसमेत पूरा हुन नसकेको संघको जिकिर छ ।
‘हामीले अर्थ मन्त्रालय, राष्ट्र बैंक र सम्बन्धित सरोकारवालासँग मौद्रिक तथा अन्य नीतिमार्फत होटेल उद्योगको पुनरुत्थानमा सहयोग पुग्ने गरी नीतिगत व्यवस्था गरिदिनका लागि ताकेता गरेका थियौँ र यी प्रयत्नहरू जरी नै छन्,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।