१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १३ मंगलबार ०६:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा विमानस्थलमा ‘ग्राउन्ड ह्यान्डलिङ’का लागि बुद्ध एयर इच्छुक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १३ मंगलबार ०६:२२:००

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्न निजी   बुद्ध एयर पनि इच्छुक देखिएको छ । पोखराबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि ग्राउन्ड ह्यान्डलिङ गर्न बुद्धले नियामक निकायमा निवेदन प्रस्ताव पेस गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम (नेवानि)ले ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरामा ग्राउन्ड ह्यान्डलिङ सेवाका लागि प्रतिस्पर्धाबाट वैकल्पिक कम्पनी भित्र्याउने तयारी गरेको छ । नेवानि व्यवस्थापनले पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ पनि आफूहरूलाई प्रदान गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र क्यानसमक्ष अनुरोध गरेको छ  । अर्को निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि भैरहवा र पोखरा विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवाको अनुमति दिन माग गर्दै आइरहेको छ ।

१ जनवरी २०२३ देखि पोखरा विमानस्थल सञ्चालन गर्ने तयारीमा छ । एरो थाईले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) सम्पन्न गरेको छ । विमानस्थल सञ्चालनका लागि अवरोध ठानिएका रिट्ठेपानी डाँडो कटान र ल्यान्डफिल साइट सार्ने काम पनि भइरहेको क्यानको भनाइ छ । पोखरा विमानस्थल उद्घाटनकै दिन अन्तर्राष्ट्रिय उडान (पोखरा–बनारस–पोखरा) गर्ने तयारी बुद्ध एयरको छ । 

एरो थाईको विशेष उपकरणजडित विमानबाट पोखरा विमानस्थलको यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडान सम्पन्न भएको छ । ५ मंसिरदेखि सुरु भएको क्यालिब्रेसन फ्लाइट ११ मंसिरमा सम्पन्न भएको हो । विमानस्थलमा जडित कम्युनिकेसन, नेभिगेसन र सर्बिलेन्स उपकरणले काम गरेको–नगरेको परीक्षणका लागि क्यालिब्रेसन फ्लाइट गरिन्छ । एरो थाईको प्राविधिक टोलीले क्यालिब्रेसन फ्लाइटको विस्तृत रिपोर्ट तीन हप्तामा क्यानलाई बुझाउनेछ ।