१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ५ सोमबार o८:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मतदानपछि देउवा, ओली, नेपाल र लामिछानेले के भने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार o८:o१:oo

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् । संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आमनेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।

‘यो आमनिर्वाचनमा नेपाली जनताले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौँंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ,’ देउवाले भने, ‘आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त भएको उल्लेख गर्दै कांग्रेसले निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ ।’

प्रधानमन्त्री देउवाले शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् । ‘निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्ववेक्षकहरूमा धन्यवाद तथा आभार व्यक्त गर्दछु,’ देउवाले भनेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा सहभागी भई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिएका छन् । निर्धारित मतदान समय सकिएपछि आइतबार साँझ सामाजिक सञ्जालमार्फत उनले मतदातालाई धन्यवाद दिएका हुन् । उनले मतदाताको मतको सधैँ कदर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘मतदातालाई हार्दिक धन्यवाद । तपाईंको मतको सधैँ कदर गर्छाैँ,’ उनले लेखेका छन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदाताको अभिमतलाई सदैव शिरमा राख्ने बताएका छन् । ‘मतदानमा सहभागी सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद । मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूका लागि समीक्षाको विषय बन्न सकोस् । हामी मतदाताको अभिमतलाई सदैव शिरमा राख्नेछौँ,’ नेपालले फेसबुकमा लेखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउने बताएका छन् । ‘देशभरको रिपोर्टिङले उत्साहित छु,’ मतदान सकिएपछि उनले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ ।’ उनले देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने बताए । ‘हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदै छौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ,’ उनले भने । देशैभरि देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको उनले बताए ।