मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ३ शनिबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ३ शनिबार १६:२९:००

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छिन्।  

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ का अवसरमा आज सन्देश दिँदै उनले मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताएकी हुन्।  

राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिबिम्बित गर्ने बताइन्। जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उनको भनाइ छ। 

राष्ट्रपति भण्डारीले जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्व रहेको बताइन्। 

निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जाने उनको विश्वास छ । 

राष्ट्रपति भण्डारीले आमनिर्वाचनबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्ने जनाउँदै स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने बताएन्।  

राष्ट्रपतिले आमनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छिन्। भोलि मंसिर ४ गते आइतबार देशभर प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन हुँदै छ।