मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार १८:५५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिजुली बेचेर पाँच महिनामा नेपालले कमायो १० अर्ब ३९ करोड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार १८:५५:००

बिजुली निर्यातबाट मुलुकले रु. १० अर्ब ३८ करोड ९६ लाखबराबरको आम्दानी गरेको छ। पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो ।

देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्यात गरेको हो। यो गत कात्तिकसम्मको विवरण हो। 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। 

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ। 

सुरुमा दुई विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि गत २७ जेठदेखि दैनिक रूपमा ६ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । गत १८ र  ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत् निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय नौ मेगावाट पुगेको छ। 

खोलानालामा पानीको बहाव घट्दै गएकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।  

‘उद्योगले अहिले स्वीकृति लोडअनुसार विद्युत् नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युतकाे माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत् आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सकिने अनुमान गरिएको छ,’ उनले भने। 

आइएक्समा २४ घन्टालाई १५–१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतकाे कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युतकाे औसत दर प्रतियुनिट आठ रुपैयाँ २३ पैसा छ। 

थप २३.५ मेगावाट निर्यात अनुमति

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३ दशमलव पाँच मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको छ। 

भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत्  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो। 

प्राधिकरणले अब आठ जलविद्युत् केन्द्रबाट उत्पादित चार सय नौ  मेगावाट विद्युत् भारतीय आइएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ।  

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९ दशमलव शून्य चार मेगावाटको लिखुखोला ‘ए’, २५ मेगावाटको काबेली ‘बी’–एक, २२ मेगावाटको माइखोला, १४ दशमलव नौ मेगावाटको हेवाखोला ‘ए’ र १० मेगावाटको तल्लो मोदी–एक, ४२ मेगावाटको मिस्त्रीखोला, २४ दशमलव दुई मेगावाटको लिखुखोला ‘ए’, २३ दशमलव पाँच मेगावाटको सोलुखोला र २२ दशमलव एक मेगावाटको चिलिमेको विद्युतगृहबाट उत्पादित विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पेस गरेको थियो । त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको हो। रासस