मौन अवधि सुरु हुन अब केही घण्टा बाँकी छ, अर्थात् मतदान गर्ने दिन नजिक आइसकेको छ । तर, देशभित्रै (अ)नागरिक भएकाहरूमा चुनावको उत्साह छैन । नेपाली नागरिककै सन्तान भएर पनि नागरिकताविहीन हुनुको पीडा भोगेकाहरूलाई यसपटकको चुनावले पनि छुन सकेन ।
जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई दलका नेताले हेर्ने दृष्टिकोणका कारण कानुन नबनाउँदा धेरैजना नागरिकता पाउन वञ्चित छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिएसँगै दलका उम्मेदवारहरू घरघरमा पुगेर उनीहरूलाई जन्मका आधारमा नागरिकता पाएकालाई सन्तानको नागरिकता बनाइदिने आश्वासन बाँडिरहेका थिए । मौन अवधि सुरु हुनुअघिको साँझ पनि यो क्रम जारी नै छ । तर, यस्ता आश्वासनले अब उनीहरूलाई छुन छाडेको छ ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ अन्तर्गत गौरादह– ६ तेलियाडाँगीका २१ वर्षीय मुकेश शर्मा राजनीतिक रूपमा सचेत छन् । उनी देशको राजनीतिप्रति चासो राख्छन् । तर, पुस्तौँ बिताएको देशले अनागरिक बनाउँदा उनको मन खिन्न छ । उनकी आमाको नागरिकता वंशज छ । बुवाको जन्मसिद्ध नागरिकता भएकै कारण उनी नागरिकता पाउनबाट वञ्चित छन् ।
०७७ मा उनले एसइई बी प्लस ल्याएर पास गरे पनि नागरिकता नबनेकै कारण उनले पढाइ छाडिदिए । ‘पढाइ राम्रो थियो । पढेर केही गर्ने सोच पनि थियो । तर, नागरिकता नै नभएपछि के लाग्छ र ?’ मुकेशले नयाँ पत्रिकासँग भने, ‘नागरिकता नभएपछि पढेर पनि जागिर पाइँदैन । बरू वेलैमा सीप सिक्छु भनेर फर्निचरमा काम थालेँ ।’
यो चुनावका वेला पनि दलका उम्मेदवार उनको घर आँगनमा भोट माग्दै आएका छन् । उनका बुवा आमालाई छोराछोरीको नागरिकता बनाइदिने आश्वासन दिँदै छन् । ‘मेरी दिदी २४ वर्षकी हुनुभयो । दुईवटा भाइमध्ये एकजना नागरिकता पाउने उमेर पुगेको छ । अर्को भाइ १४ वर्षको छ । उसले पनि उमेर पुगेपछि नागरिकता नपाउने होला,’ उनले भने, ‘अहिले छोराछोरीको नागरिकता बनाइदिन्छु भन्दै बुवाआमासँग भोट माग्दै छन् । हामी राजनीतिक रूपमा बुझ्ने भए पनि कतै नागरिकता दिइहाल्छन् कि भन्ने लाग्दो रहेछ ।’
गौरादह ६ १९ वर्षीया हरिराकी करुणा सरदार कक्षा १२ मा पढ्दै छिन् । उनका बुवाआमाको नागरिकता जन्मका आधारमा भएका कारण उनको नागरिकता बन्न सकेको छैन । नागरिकता बनाउन प्रशासन जाँदा ‘अहिले खुलेको छैन’ भनेर फर्काउँछन् । विद्यालयमा उनका साथीहरू पहिलोपटक भोट खसाल्न उत्साहित छन् । उनीहरू शिक्षकलाई समेत कसरी भोट हाल्ने भनेर सोध्छन् । तर, अनागरिक भएर बस्नुपर्दा करुणालाई भने साथीका प्रश्नले पिरोल्छ ।
‘हामीलाई पनि हाम्रो जनप्रतिनिधि छान्ने मन छ । हामीले देशको राजनीतिक अवस्था बुझेका छौँ । यही देशमा चार पुस्ता बितेको छ । तर, हामीले नागरिकता पाएनौँ । चुनाव आएपछि मेरो कक्षाका साथीहरू सबै उत्साहित छन् । मलाई अहिले नागरिकता नहुनुको पीडाले सताएको छ,’ उनी भन्छिन्, ‘भोट हाल्न त पाउँदैनौँ । अब पढेर जागिर पनि पाइँदैन किन पढ्नु र ? जस्तो लाग्न थालेको छ ।’
एमालेले आफ्नो घोषणामा उल्लेख गरेको २० ग्यारेन्टीको दोस्रो नम्बरमा नागरिकताको विषय उल्लेख गरेको छ । एमालेले सरकार गठन भएको एक वर्षमा नेपाली नागरिकका सन्तानलाई एक महिनाभित्र नागरिकता दिने उल्लेख गरेको छ । तर, एमाले अध्यक्ष ओलीकै निर्वाचन क्षेत्रका नागरिकका सन्तान नागरिकताविहीन छन् ।
जन्मसिद्धको नागरिकता पाउनेलाई यो कुरामा विश्वास छैन । ‘चुनावका वेलामा हाम्रो भोट फकाउन छोराछोरीलाई नागरिकता दिन्छौँ त सधैँ भन्छन् । तर, भोट सकिएपछि गाउँमा फर्केर आउँदैनन् । कतै नेताले गरिदिए कि भनेर नागरिकता बनाउन जाँदा अहिले तिमीहरूको हुँदैन भनेर फर्काउँछन् । अहिले नेताले हाम्रो भोट फकाउन भनेका हुन् । अब त उनीहरूको कुरामा विश्वास छैन,’ गौरादह–६ तेलियाडाँगीकी जसोदादेवी शर्माले भनिन्, ‘मेरो त वंशजकै नागरिकता छ । श्रीमानको जन्मसिद्धको थियो । उहाँ बित्नुभयो । अहिले छोरा २१ वर्षको भयो । नागरिकता बनाउन पाएको छैन । जे गर्न खोज्दा पनि नागरिकता खोज्छ । नागरिकता भए त विदेश गएर भए पनि परिवार पाल्थ्यो कि !’
जसोदादेवीका २१ वर्षीय छोरा जर्मनकुमार शर्माले पटकपटक प्रयास गर्दा पनि नागरिकता पाएका छैनन् । बुवाको जन्मसिद्ध भएकै कारण उनको नागरिकता बन्न सकेको छैन । ‘अरूलाई त चुनाव लाग्यो । नेताहरू नागरिकता हुनेलाई भेट्छन् । उनीहरूलाई के–के गरिदिन्छम् भोट दिनु भन्छन्,’ जर्मनकुमार भन्छन्, ‘हामी नागरिकता नहुनेलाई त वास्तै गर्दैनन् । साह्रै मन दुख्छ ।’
गौरादह–६ का ४५ वर्षीय गोविन्द शर्माका बुवाआमा सानैमा बिते । उनका बुवाआमा पनि नेपालमै जन्मिएका थिए । उनलाई काकाले पाले । बुवाआमा नागरिकता नबन्दै बिते । अहिले गोविन्द मात्र हैन नागरिकता पाउने उमेर पुगेका तीन सन्तान नागरिकताविहीन छन् । दुई छोरा र एक छोरीमध्ये छोरीले विवाह गरिन् । छोरीका सन्तानको पनि जन्मदर्तासमेत बन्न सकेको छैन । उनकी श्रीमतीको वंशजको नागरिकता छ । अहिले दलका उम्मेदवारले गोविन्द र तीन सन्तानको नागरिकता बनाइदिने भन्दै भोट माग्न थालेका छन् ।
‘मेरी श्रीमतीलाई हामीलाई भोट दिनु हामी नागरिकता बनाइदिन्छौँ भन्दै छन् । यस्तो भनेको त कति भयो कति ! तर, अहिलेसम्म कसैले पनि नागरिकता बनाइदिएन । सधैँ भोटको वेलामा यस्तै त भन्छन्,’ गोविन्दले नयाँ पत्रिकासँग भने, ‘नागरिकता नहुँदा धेरै दुःख पाइयो । मेरो त जीवन यसै बित्न लाग्यो । छोराछोरीले पनि नागरिकता नभएर मैले जस्तै दुःख भोग्नुपर्ने भयो ।’
संविधानको धारा–११ (३) मा संविधान प्रारम्भ हुनुअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि बंशजको आधारमा नेपालको नागरिकता बन्ने उल्लेख छ ।
तर, संविधान बनेको सात वर्षसम्म संविधानअनुसार ऐन नबन्दा जन्मका आधारमा नागरिकता पाएकाका सन्तान नागरिकताविहीन छन् । संविधान निर्माणपछि भएको निर्वाचनको पाँच वर्ष बित्यो । तर, जन्मसिद्धका सन्तानको मुद्दाले संसदमा प्राथमिकता नै पाएन । ०७४ मा जन्मसिद्धका सन्तानलाई तत्काल नागरिकता उपलब्ध गराउने एजेन्डा लिएर जन्मका आधारमा नागरिकता पाएका नागरिकको घरमा पुगेका दलका उम्मेदवार फेरि त्यही नारा लिएर निर्वाचनमा होमिएका छन् ।
०७२ असोजमा संविधान जारी भएयता जन्मका आधारमा नागरिकता लिएकाका सन्तानले नागरिकता पाएका छैनन् । जसका कारण राज्यको आधारभूत सुविधाबाट पनि उनीहरू वञ्चित भएका छन् ।