मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Wednesday, 18 December, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o७९ मङ्सिर १ बिहीबार o६:२३:oo
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहज बन्दै अर्थतन्त्र

१४ महिनापछि पहिलोपटक सोधनान्तर बचतमा, लगानीयोग्य तरलता र ब्याजदरको समस्या सल्टिने संकेत

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार o६:२३:oo

देशबाट भित्रिने र बाहिरिने रकमबीचको अन्तर देखाउने सूचक शोधनान्तर स्थिति १४ महिनापछि बचतमा गएको छ । नेपाल राष्ट्र बैंकले यसलाई अर्थतन्त्रको सुविधाजनक स्थिति मानेको छ । तीन महिनामा आयात उल्लेख्य दरमा घटेको र रेमिट्यान्समा भएको वृद्धिले शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा पुगेको हो । यसको अर्थ गत असोजमा देशबाट बाहिरिएकोभन्दा १२ अर्ब ४३ करोड रुपैयाँ बढी रकम भित्रिएको हो । आर्थिक वर्ष ०७७/७८ को असार मसान्तसम्म शोधनान्तर स्थिति एक अर्ब २३ करोड बचतमा थियो । त्यसपछिका लगातारका महिनामा शोधनान्तर स्थिति ऋणात्मक बन्दै गएको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार मुख्य रूपमा रेमिट्यान्समा भएको वृद्धि र आयातमा भएको कमीले शोधनान्तर स्थिति बचतमा पुगेको हो । पछिल्लो समय सरकारले लिने विदेशी ऋणको मात्रा बढेकाले पनि शोधनान्तर स्थितिमा राहत पुगेको उनको भनाइ छ । चालू आर्थिक वर्षको तीन महिनामा दुई खर्ब ८१ अर्बको रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १६.८ प्रतिशतले बढी हो । 

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आवमा आयातमा १६.२ प्रतिशतले कमी आएको छ । गत भदौ महिनाको तुलनामा मासिक आयातमै असोजमा कटौती भएको देखिन्छ । असोजमा एक खर्ब २८ अर्ब रुपैयाँको मात्रै वस्तु आयात भएका छन् । भदौमा एक खर्ब ४२ अर्बको आयात भएको थियो । त्यस्तै, तीन महिनाको आयात चार खर्ब एक अर्ब रुपैयाँ छ । जब कि गत आवको पहिलो त्रैमासमा चार खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको थियो । 

आयातमा आएको कमीले निर्यातमा समेत असर गरेको छ । नेपालमा प्रमुख निर्यात उद्योग प्रशोधन र प्याकेजिङका आधारमा चल्ने भएकाले ती उद्योगले अधिकांश कच्चा पदार्थ आयात गर्छन् । तर, कच्चा पदार्थको आयातमा नै कमी आएपछि त्यसले निर्यातमा समेत असर परेको प्रवक्ता भट्टले बताए । उनले भने, ‘प्रमुख निर्यात उद्योगजस्तै पाम आयल उद्योगले कच्चा तेल बाहिरबाटै ल्याउने हुँदा आयात घट्दा निर्यातमा समेत असर परेको छ ।’

 वैदेशिक सहायताले सहज 
विगतको तुलनामा सरकारले वैदेशिक सहायता भित्र्याउँदा पनि त्यसले शोधनान्तर स्थिति सहज बनाएको देखिन्छ । तीन महिनामा २३ अर्ब २६ करोड रुपैयाँबराबर वैदेशिक ऋण र तीन अर्ब ६१ करोड रुपैयाँ वैदेशिक अनुदान परिचालन भएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार यसबीच ८६ अर्ब ४१ करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्राप्त भएको छ । जसमा ६ अर्ब ७१ करोड रुपैयाँ अनुदान र ७९ अर्ब ७० करोड ऋणको अंश छ । आयातमा आएको गिरावटले चालू खाता घाटालाई समेत घटाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एक खर्ब ४९ अर्ब रुपैयाँसम्म पुगेको चालू खाता घाटा अहिले ३४ अर्ब २८ करोडमा सीमित भएको छ । 

बढ्दो विदेशी मुद्राको आम्दानीसँगै विदेशी विनिमय सञ्चितिमा समेत वृद्धि भएको छ । गत असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोडबराबरको सञ्चिति थियो । यसमा २.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ । यद्यपि, अमेरिकी डलरमा भने यस्तो सञ्चितिमा कमी आएको छ । गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा असोज मसान्तमा नौ अर्ब ४८ करोड डलर पुगेको छ । 

 तरलता समस्या समाधान हुने
शोधनान्तर स्थिति बचतमा गएसँगै बैंकिङ प्रणालीमा देखिएको पुँजी अभावको समस्या समाधान हुने अर्थशास्त्रीहरूले अनुमान गरेका छन् । विदेशी मुद्राको खर्चभन्दा आम्दानी बढी हुनु भनेको अर्थतन्त्रकै लागि सुखद संकेत भएको अर्थशास्त्री केशव आचार्यले बताए । बैंकिङ प्रणालीमै विदेशी मुद्राको आम्दानी बढेको देखिनु भनेको बजारमा तरलता सहज हुने संकेत भएको उनले बताए । उनले भने, ‘विदेशी मुद्राको आम्दानी बैंकिङ प्रणालीमा आउनु तरलता सहज हुने संकेत हो । सोझो रूपले हिसाब गर्ने हो भने, एकजना पर्यटकले एयरपोर्टमा आएर एक डलर मात्रै सटही गर्‍यो भने पनि बैंकिङ प्रणालीमा १३३ रुपैयाँ जान्छ ।’

यो स्थिति तीन–चार महिनासम्म कायम रह्यो भने आयात बिस्तारै खुकुलो बनाउन सहज हुने उनको भनाइ छ । अहिले आयातमा गरिएको कडाइका कारण अनौपचारिक अर्थतन्त्र सलबलाएको छ । सरकारले कडाइ गरेका मोबाइल, मदिराजस्ता वस्तुहरू बजारमा छ्यापछ्याप्ती पाइरहेका छन् । आचार्यले भने, ‘आयातमा कडाइ भनिए पनि बजारमा प्रतिबन्धित वस्तुहरू पाइरहेकै छन् । यसले राजस्वमा प्रतिकूलता मात्रै ल्याइरहेको छ ।’

सन् २००८ को विश्व आर्थिक मन्दीको समय आर्थिक वर्ष ०६६/६७ मा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव देखापरेको थियो । त्यतिवेलामा एकवर्षे मुद्दतीको ब्याजदर अधिकतम ११.५ प्रतिशतसम्म पुगेको थियो । आर्थिक वर्ष  ०५१/५२ को तरलता अभाव हुँदा एकवर्षे मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र ०४८/४९ तिर १२ प्रतिशत पुगेको थियो । अहिले पुनः मुद्दती निक्षेपको ब्याजदर सोही तहमा पुगेको छ । यसले निक्षेप आकर्षण गर्न सकारात्मक भूमिका खेल्ने देखिन्छ । 

 तरलता सहज बन्ने संकेत
केशव आचार्य, अर्थशास्त्री

मुलुकबाट विदेशी मुद्राको खर्चभन्दा आम्दानी बढी हुनु सुखद संकेत हो । बैंकिङ प्रणालीमै विदेशी मुद्राको आम्दानी बढेको देखिनु भनेको बजारमा तरलता सहज हुने देखिन्छ । विदेशी मुद्राको आम्दानी बैंकिङ प्रणालीमा आउनु भनेको बजारमा आउनु हो । यसले तरलता सहज बनाउँछ । यो अवस्था तीन–चार महिनासम्म कायम राख्न सकियो भने आयात पनि बिस्तारै खुकुलो बनाउन सहज हुन्छ । अहिले अनौपचारिक माध्यमबाट वस्तु आयात भइरहेकै छन् । आयात खुकुलो हुनेबित्तिकै अनौपचारिक अर्थतन्त्र पनि कम हुन्छ । हुन्डीमार्फत हुने कारोबारमा समेत कमी आउँछ । जुन अर्थतन्त्रका लागि निकै सहज हुन्छ ।

 महँगीको दबाब कायमै
अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम देखिए पनि उपभोक्ता मुद्रास्फीति दर भने उच्च नै देखिएको छ । राष्ट्र बैंकका अनुसार असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत छ । अघिल्लो वर्षको असोजमा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत थियो । असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत छ ।

रेस्टुरेन्ट तथा होटेल उपसमूहको महँगीदर १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत छ । त्यस्तै, यातायात क्षेत्रको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुको ७.६८ प्रतिशत रहेको छ । 

अर्थतन्त्रको पीडाजनक स्थिति हटेर सोधनान्तर बचतमा 
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको पीडाजनक स्थिति हटेर सोधानान्तर बचतमा आएको बताएका छन् । नेपाल बैंक लिमिटेडको ८६औँ वार्षिकोत्सवमा बोल्दै गभर्नरले केन्द्रीय बैंक र सरकारको कडा नीतिका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा सन्तुलन देखिएको बताएका हुन् ।

‘हामी गत सालभरि नै धेरै दबाबपूर्ण अवस्थामा थियौँ, तरलता अभावलगायत कारणले बैंकहरूले समेत ग्राहकका आवश्यक मागसमेत पूरा गर्न सकेनन्,’ उनले भने, ‘नेपाल राष्ट्र बैंकले यो आर्थिक वर्षको तीन महिनाको वर्तमान आर्थिक स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ, त्यसले केही सकारात्मक संकेत गरेको छ, मूल्य वृद्धि औसतमा साढे ८ प्रतिशत देखिएको छ । आयात गत वर्षभन्दा केही घटेको छ, निर्यात पनि घटेकै छ । उत्साहजनक विषय के छ भने, नेपालको सोधानान्तर स्थिति बचतमा देखिएको छ ।’

उनले गत वर्षभरि नै नेपालको बाह्य क्षेत्र पीडाजनक स्थिति रहेको भए पनि यो तीन महिनामा सोधनान्तर १२ अर्बले बचतमा देखिएको बताए । १४ महिनापछि देशले सोधानान्तर स्थिति बचतमा पाएको उनले बताए । ‘हामीले आयात रोक्नेलगायतका केही अप्रिय नीतिगत निर्णय पनि लियौँ । अर्थतन्त्र नै बिग्रियो भने हामी सबैलाई कुनै न कुनै किसिमको असर पर्ने र त्यो जटिल हुने देखिएकाले हामीले अप्रिय, असजह र कडा नीति लिएका थियौँ’ उनले भने, ‘गत फेब्रुअरीदेखि केन्द्रीय बैंक र सरकारले लिएको नीतिले नै अर्थतन्त्रले सकारात्मक रूप लिएको बताएका छन् ।’