सप्तरीलाई चुनावले छपक्कै छोपेको छ । राजनीतिक दलका नेता–कार्यकर्तालाई साना–ठूला जुलुस, र्याली घरदैलोमा भ्याइ नभ्याइ छ । तर, सप्तरीकै बोदे बरसाइन नगरपालिका– ७ मा रहेको फुलहरा मरिक (डोम)बस्ती सुनसान छ । मौनअवधि सुरु हुनुभन्दा एक दिनअघिसम्म पनि यहाँ चुनावको चहलपहल छैन ।
कारण, अघिल्ला निर्वाचनमा भोट माग्न आउँदा गरिएका वाचा कसैले पूरा गरेका छैनन् । डोमबस्ती अहिले पनि खानेपानीको चरम अभाव झेलिरहेको छ । अघिल्ला चुनावमा भोट माग्न आउने सबैले खानेपानीको व्यवस्था गरिदिने बाचा गर्थे । तर, जितेपछि विजेताले सहजै बाचा भुले । कहिल्यै फर्किएनन् । पराजित हुनेहरूले पनि डोमवस्तीको दुःखलाई कहिल्यै दुःख सम्झिएनन् । समाधानको पहल गर्दिएनन् ।
फुलहरा मरिक बस्ती सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा पर्छ । सडक छेउको ऐलानी जग्गामा घर बनाएकी ७० वर्षीय कन्तु मरिक भन्छिन्, ‘आजसम्म हाम्रो भोट मात्रै लगे, पानीको दुःख कसैले समाधान गर्दिएनन् । हामी गाउँको जीर्ण इनारको धमिलो पानी खान बाध्य भइरहेका छौँ । त्यसैले यसपटक भोट हाल्न जान पनि जाँगर चलेको छैन ।’
वर्षौंदेखि भोग्दै आएको समस्या समाधान गर्न उनीहरूले पटकपटक जनप्रतिनिधि गुहारिसकेका छन् । तर, सुनुवाइ भएको छैन । ‘चुनावका वेला पानी ल्याइदिने बाचा गरेकाहरू कहिल्यै फर्किएर आएनन् । हामीलाई ठगे,’ कन्तु मरिकले आक्रोशसहित पीडा पोखिन्, ‘हामीले अहिले पिउँदै आएको पानी जनावरले पनि खाँदैन होला । तर, हामीले खानु परेको छ । हामी दलितलाई कसैले मान्छे ठानेको छैन ।’
उनीहरूको बस्तीअगाडि पोखरी छ । वर्षामा पोखरीमा पानी भरिन्छ र तिनैको झुपडी डुबाउँछ । रोगव्याधीले सताउँछ । अर्की स्थानीय ठकनी मरिक भन्छिन्, ‘विकास भनेको के हो हामीले देख्न पाएका छैनौँ । न खानेपानी छ, न बाटो । न रोजगारी दिएका छन् । हामीलाई जहिल्यै भोट बैंकजस्तो ठानेका छन् ।’
अर्की महिला बेचानी मरिकले पनि सधैँ चुनावका वेला ट्युबेल दिन्छु भन्दै भोट माग्ने तर, फर्किएर कहिल्यै नआउने पीडा सुनाइन् । ‘चुनाव आएपछि नेता आउने, ट्युबेलको व्यवस्था गरिदिन्छु भनेर भोट हाल्न लगाउने अनि कहिल्यै फर्केर नआउने गरेको धेरै भयो,’ उनले भनिन्, ‘अब त त्यस्ता नेताको अनुहार हेर्न पनि मन छैन ।’
अहिले यो क्षेत्रबाट सत्तागठबन्धनले कांग्रेसका तेजुलाल चौधरीलाई उम्मेदवार बनाएको छ । जसपा र एमालेको गठबन्धनबाट जसपाका बालकिशोर यादव उम्मेदवार छन् । चौधरी ०७० र ०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी युवा तथा खेलकुद राज्यमन्त्रीसमेत भए । तर, यहाँका विपन्नको मुहार कुनै परिवर्तन भएन ।
प्रदेश सभातर्फ यो प्रतिनिधिसभा ४ को २ मा पर्छ । ०७४ मा यहाँबाट तत्कालीन संघीय समाजवादी (हाल जसपा)का अभिषेक यादव निर्वाचित भएका थिए । उनले पनि यहाँका समस्या समाधान गर्न कुनै पहल गरेनन् ।
जसपाले यसपटक पनि उनैलाई उम्मेदवार बनाएको छ । सत्तागठबन्धनबाट इनारदेव यादव उम्मेदवार छन् भने जसपाकै अनुरोध सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।