![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/prachanda2022-06-23-01-28-10.jpeg)
माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका छन् । लोकतान्त्रिक वाम–गठबन्धनले सुर्खेतको गुर्भाकोट नगरपालिकामा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका हुन् ।
गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको उनको भनाइ छ । ‘यो गठबन्धन अबको १५–२० वर्षसम्म कायम रहन्छ,’ उनले भने, ‘देशमा राजनीतिक परिवर्तनअनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहनेछ ।’
उनले संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिका लागि गठबन्धनको आवश्यकता रहेको बताए । एमाले अध्यक्ष ओलीको अहंकारले कम्युनिस्ट आन्दोलनमा कलंक लागेकाले पार्टी एकता भंग भएको र देश प्रतिगमनमा गएको अध्यक्ष प्रचण्डले जिकिर गरे । ‘केपी ओलीमा अहंकारको उदय भएका कारणले गठबन्धन भएको हो,’ उनले भने, ‘अब ओलीसँग सहकार्य कहिल्यै पनि हुँदैन ।’