३१ वर्षको अवधिमा प्रतिस्पर्धी फेरिए, मतदाता पनि थपिए । तर, डडेल्धुराबाट शेरबहादुर देउवाको अपराजित यात्रा जारी रह्यो । ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा भएको निर्वाचनमा विजयी भएका देउवा अहिले सातौँ जितका लागि सक्रिय छन् ।
०४८ सालमा पहिलोपटक आमनिर्वाचन लडेका देउवाले २४ हजार पाँच सय ७० मत पाउँदै फराकिलो जित निकालेका थिए । त्यसवेला उनका निकटतम प्रतिस्पर्धी थिए एमालेका गोविन्दबहादुर कलौनी । उनले ६ हजार ६ सय २८ मत पाए । ०५१ सालको मध्यावधि निर्वाचनमा भने देउवाको मत घट्यो । तर, विजयी यात्रा जारी रह्यो । ३३ हजार पाँच सय २३ मत खसेकोमा देउवाले २० हजार सात सय एक मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाल जनवादी मोर्चाका खेमराज भट्ट (मायालु)ले नौ हजार नौ सय ६६ पाए ।
०५६ को आमनिर्वाचन देउवाका लागि झन् सहज भयो । ४४ हजार दुई सय ९३ खसेको मतमा २८ हजार ६ सय ५१ मत ल्याएर देउवा विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका बागेश्वरीदत्त चटौतले सात हजार आठ सय ४० र राप्रपाका गणेशप्रसाद भट्टले चार हजार आठ सय ९३ मत पाए । ०६४ मा भएको संविधानसभाको निर्वाचन देउवाका लागि हम्मेहम्मे पर्यो । सशस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा आएको माओवादीकै सबैतिर दबदबा थियो । त्यस निर्वाचनमा कांग्रेस र एमालेका अधिकांश शीर्ष नेता पराजित भए । देउवा भने झिनो मतान्तर (१३६८)ले जित निकाल्न सफल भए ।
५१ हजार आठ सय ६८ मत खसेकोमा देउवाले २० हजार पाँच सय २९ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका खगराज भट्टले १९ हजार एक सय ६१ मत पाएका थिए । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा देउवाले फेरि मतान्तर बढाए । देउवाले २३ हजार नौ सय २० मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत नेकपा माओवादीका खगराज भट्टले १२ हजार चार सय ९३ मत पाए ।
०७४ सालमा देउवाविरुद्ध वाम–गठबन्धन भयो । तर, उनका प्रतिस्पर्धी भने पुरानै थिए । ०६४ र ०७० मा देउवासँग पराजित भइसकेका खगराजलाई वाम–गठबन्धनले देउवाविरुद्ध चुनावी मैदानमा उतार्यो । तर, देउवालाई भने अपराजित यात्रालाई निरन्तरता दिन मुस्किल भएन । देउवाले २८ हजार चार सय ४६ मत पाएर विजयी हुँदा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका खगराज भट्टले २१ हजार चार सय ९८ मत पाए ।
देउवालाई रोक्न खोज्ने ६ प्रतिस्पर्धी
डडेल्धुरामा एउटा पक्ष ०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका देउवालाई संसद् छिर्नबाट रोक्ने प्रयासमा छ । अर्को पक्ष सातौँपटक देउवालाई जिताएर इतिहास रच्न कस्सिएको छ । कांग्रेस बिपीबाट उम्मेदवारी दिएका कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालदलाई देउवाका मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । ०७४ मा ‘साझा सवाल’ नामको एक टेलिभिजन कार्यक्रममा देउवालाई खरो प्रश्न गरेबापत हप्की खाएका गुल्मीका युवा ढकाल पाँच वर्षपछि तिनै देउवाविरुद्ध मैदानमा उत्रिएका छन् । ‘कुनै चलखेल नभए जित सुनिश्चित नै छ,’ आइतबार उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
देउवाको स्वकीयसचिवका रूपमा लामो समय काम गरेका कर्णबहादुर मल्ल देउवाविरुद्ध चुनावी मैदानमा छन् । स्थानीय निर्वाचनको सम्मुखमा पार्टीबाट निष्कासित भएपछि बिपी कांग्रेसका वरिष्ठ उपसभापति भएका मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति पनि हुन् । देउवालाई संसद् छिर्नबाट रोक्ने अभियानसहित एमाले नेता विक्रमबहादुर शाहीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । लामो समय एमालेमा रहेका शाही पार्टी विभाजनपछि एकीकृत समाजवादीमा गएका थिए । तर, केही समयअगाडि फेरि पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाएर एमाले प्रवेश गरेका शाहीले अहिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ‘एमालेको उम्मेदवार भए सूर्यमा र नभए आफूलाई भोट हाल्ने लक्ष्यसहित मैले उमेदवारी दिएका थिए,’ उनले भने, ‘एमालेले उमेदवारी फिर्ता गरेपछि वामपन्थी पार्टीहरूको मत सुनिश्चित गर्न उमेदवार बनेको हुँ ।’
शाहीसँग यसअघि पनि देउवाविरुद्ध निर्वाचन लडेको अनुभव छ । ०५६ सालदेखि देउवाविरुद्ध सधैँ निर्वाचन लड्दै आएका कर्णसिंह रावल ‘मम्याल बाजे’ले यसपटक पनि उमेदवारी दिएका छन् । यस्तै, राप्रपाका गोविन्द खडायत, जसपाका श्याम सिनाल र स्वतन्त्र लालबहादुर कठायत पनि देउवाविरुद्ध उम्मेदवार छन् । जसपाका श्याम सिनाल पनि देउवालाई समर्थन गर्दै कांग्रेस प्रवेश गरिसकेका छन् ।
तीनपटकका प्रतिस्पर्धी माग्दै छन् देउवालाई भोट
०४८ सालदेखि ६ निर्वाचन जितेका देउवालाई सबैभन्दा बढी टक्कर माओवादीका खगराज भट्टले दिए । ०६४, ०७० र ०७४ सालमा देउवाविरुद्ध चुनाव लगेका तिनै भट्ट अहिले देउवाका लागि भोट मागिरहेका छन् । कांग्रेससँग गठबन्धन भएपछि उनी प्रदेश सभा (१)को उम्मेदवार भएका छन् भने देउवा राजनेता भएको भन्दै भोट मागिरहेका छन् । ‘देउवाज्यूसँग निर्वाचन लडेर तीनपटक पराजित भएको हुँ,’ उनले भने, ‘त्यो समयमा मैले जितेको र शेरबहादुरले हारेको भए देशका लागि दुर्भाग्य हुने थियो । देउवाले जितेर संविधान निर्माण र संविधानको रक्षाका लागि खेलेको असाधारण भूमिकाले म निकै प्रभावित भएको छु ।’ उनी यसपटक देउवाको जितले विश्व रेकर्ड नै कायम गर्ने दाबी गर्छन् । ‘देशभरिमा सबैभन्दा बढी मतान्तरले विजयी भएर देउवाज्यूले यसपटक विश्व रेकर्ड नै कायम गर्नुहुन्छ ।’
एमालेको साथ कसलाई ?
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुरामा बिपी कांग्रेसका कर्ण मल्ललाई दिएको समर्थन कायमै रहेको घोषणा गरे । ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौँ । मैले सुनेँ– त्यहाँ कसैले वक्तव्य निकाल्यो भनेर । तर, त्यस्तो अधिकार अरूलाई छैन । त्यो अधिकार केन्द्रलाई मात्रै छ,’ उनले १८ कात्तिकमा भनेका थिए । तर, एमाले डडेल्धुराले भने बिपी कांग्रेसले सहमति भाँडेको भन्दै प्रतिनिधिसभामा उसका उम्मेदवार मल्ललाई समर्थन गर्न नसकिने निर्णय गरिसकेको छ । ‘प्रतिनिधिसभामा बिपी कांग्रेसका कर्ण मल्ल र प्रदेश सभा १ मा एमालेका पठानसिंह बोहरा र प्रदेश सभा २ मा एमालेकै उमेदवार गजेन्द्र शाहीलाई समर्थन गर्ने गरी एमाले र बिपी कांग्रेसबीच सहमति भएको थियो,’ एमाले डडेलधुराका अध्यक्ष प्रकाशबहादुर साउद र सचिव गजेन्द्र शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, बिपी कांग्रेसले प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेपछि सहमति तोड्न बाध्य भएका छौँ ।’
एमाले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र– २ समन्वय समितिले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता विक्रमबहादुर शाहीलाई समर्थन गर्ने निर्णय नै गरिसकेको छ । त्यसअघि, बिपी कांग्रेससँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष ओलीले डडेल्धुरामा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएका थिए । मल्ल सम्मिलित बिपी कांग्रेसले प्रदेश सभामा एमाले उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेकाले ओलीको निर्देशन कार्यान्वयन गर्न आफूहरू बाध्यकारी नभएको एमाले डडेल्धुराका एक नेताले बताए ।